नेपालको विद्युत महँगो भए भारत र बंगलादेशले किन्दैनन्ः कुलमान

फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै घिसिङले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए। निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौँ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए।

उनले नेपालको इनर्जीको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए।

घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने उल्लेख गरे। उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो, त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गरे।

बंगलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने उनको भनाइ छ। घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा करिब ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए। उनले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताए।

उनले भने, ‘नेपालको इनर्जीको स्रोत भनेकै जलविद्युत हो। जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्नेकुरा नेपाल सरकारकै गतिविधिले गर्छ। जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ। जलविद्युत सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ। भारतको भन्दा नेपालको जलविद्युत महँगो भयो भने निर्यात हुँदैन। त्यसैले नेपालको जलविद्युत सस्तो बनाउने कि महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ।’

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्