एमालेले सरकारलाई भन्याे: निर्वाचन निष्पक्ष र धाँधलीरहित हाेस्

Copy to clipboard
Copied!

काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुनसक्ने भन्दै आशंका व्यक्त गरेका हुन्।

भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकाे भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उपाध्यक्ष पौडेलले ओलीले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमाले कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनी दिएकाेसमेत बताए।

‘लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन हो। गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँदलीरहित निर्वाचन सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन। निकट विगतमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो,’ उनले भने,’आगामी निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने त्यो आशंका गर्ने आधारहरु छन्। त्यसले गर्दा हामीले मुख्य रुपले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित निर्वाचन सम्पन्न हुनुपर्छ।’

एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागि थिए।

भेटवार्ताका क्रममा एमालेले सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

राष्ट्रपतिले संविधानसम्मत रुपले पुनर्विचारका लागि फिर्ता पठाएको भएपनि पुनः प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्