गठबन्धनका दललाई कांग्रेस प्रवक्ताको आग्रहः मतदातालाई स्वाभाविक लाग्ने सिट संख्यामा दाबी गरौँ

कांग्रेस प्रवक्ता प्रकाश शरण महत। फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँड टुंगो लगाउने काम कठिन नभएको बताएका छन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्।

निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै ‘वीन वीन’ हुने गरी त्यसको टुंगो लगाउने बताए।

प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्ने गरी सिटमा दाबी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे। त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘कति धेरै ठाउँमा सिट पाउनेभन्दा पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कुरा हाम्रा लागि महत्वपूर्ण हुन्। त्यसो भएको हुनाले आम मतदातालाई स्वभाविक लाग्ने गरी सिट संख्याको दाबी गर्न अन्य दलले पनि उपयुक्त हुन्छ। हामीले धेरै मत परिणाम ल्याउने कुरा ध्यान दिन आवश्यक हुन्छ। जनतालाई स्वभाविक लाग्ने गरी चुनावी तालमेल भएन भने परिणाम राम्रो आउँदैन। सिट बाँडफाँड जटिल विषय भए पनि विन विन हुने गरी त्यसको बाँडफाँड हुन्छ।’

प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताए।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्