परमाणु ऊर्जा केन्द्रबाट युक्रेन हुने विद्युत आपूर्ति बन्द नगर्न रुससँग राष्ट्रसंघको आग्रह

युक्रेनको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस । तस्बिर : इपिए
Copy to clipboard
Copied!

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुससँग परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको विद्युत आपूर्ति ग्रिडबाट नकाट्न आग्रह गरेका छन् ।

उनले शुक्रबार रुसको कब्जामा रहेको जापोरिझाहिया परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको ग्रिडबाट अलग नगर्न अपील गरेका हुन् ।

रुसले ऊर्जा केन्द्रलाई आपूर्ति ग्रिडबाट कटौति गर्ने तयारी गरिरहेको युक्रेनले बताएपछि गुटरेसले त्यसो नगर्न रुससँग माग गरेका हुन् ।

‘जापोरिझाहियाबाट उत्पादित विद्युत युक्रेनको विद्युत हो…यो सिद्धान्तको पूर्ण सम्मान गरिनु पर्नेछ’ गुटरेसले युक्रेनको दक्षिणी क्षेत्र ओडिसा बन्दरगाहको भ्रमणको क्रममा भने ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँबीच सो प्रमाणु ऊर्जा केन्द्रको निरीक्षणका लागि इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) लाई स्वीकृति दिनेबारे सहमति भएको छ ।

नेपाली समय अनुसार शुक्रबार बेलुका दुई नेताबीच भएको टेलिफोन वार्ताको क्रममा पुटिनले पछिल्ला दिनमा युक्रेनले केन्द्रमा गोलाबारी गरेको आरोप लगाएको बिबिसीले जनाएको छ । यसअघि युक्रेनले रुसमाथि सोही आरोप लगाएको थियो ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्