धेरै डाक्टरहरु बेरोजगार छन् तर दुर्गममा जान मान्दैनन्ः स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्यमन्त्री भवानी खापुङ। फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यक नभएको बताएका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौँमा गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन्।

उनले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताए। मन्त्री खापुङले स्वास्थ्य बीमाबापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरुका कमिकमजोरी देखिएको बताए।

उनले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुले समेत बीमा गरेकै छु भनि आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो गरे। मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्यअनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताए।

उनले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्‍याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए।

उनले भने,‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयार छ। स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नै हुँदैन कि भन्ने चिन्ता छ। त्यो विषयमा चिन्ता लिनु पर्ने आवश्यकता छैन। स्वास्थ्य बीमा राज्यको एउटा कार्यक्रम हो। हाम्रोमा धेरै कमिकमजोरीहरु पनि छन्। निजी अस्पतालहरुले बीमा रकम दाबी गर्ने कुरामा कमजोरी आएका छन्।’

मन्त्री खापुङले थपे, ‘स्वास्थ्य बीमा गर्नेहरुले पनि बीमा गरेकै छु भन्ने हिसाबले पनि आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेको देखिन्छ। स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्यअनुसार सत्य र तथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। सरकारले स्वास्थ्य बीमालाई कसरी व्यवस्थित गरी सबै जनतामा पुर्‍याउन सकिन्छ? अहिले ३ हजार ५०० तिरेर एक लाखको बीमा गर्ने गरिएको छ। त्यसलाई कसरी वृद्धि गर्ने, सबै कुराहरुलाई व्यवस्थित गर्ने गरी विस्तृत रुपमा अध्ययन गरेर सुझाव प्रस्तुत गर्न स्वास्थ्य राज्यमन्त्रीको नेतृत्वमा कार्यदल गठन गरेका छौँ।’

मन्त्री खापुङले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताए। अस्पतालहरुमा डाक्टरहरुको अभाव रहे पनि धेरै डाक्टरहरु बेरोजगार पनि रहेको उनको भनाइ छ। तर, दुर्गममा जान कोही तयार नहुने उनको गुनासो छ।

उनले भने, ‘अस्पतालहरुका डाक्टरहरुको अभाव रहेको छ। अर्कोतर्फ धेरै डाक्टरहरु बेरोजगार भइरहेको पाएको छु। धेरै डाक्टरहरु मन्त्रालयमा आएर मैले एमबीबीएस, डेण्टलमा विशिष्टता हासिल गरेको छु भन्दै बेरोजगार डाक्टरहरु मन्त्रालयमा आउनुहुन्छ। तर उहाँहरुलाई देशको कुनै पनि स्थानमा गएर सेवा गर्न तयार हुनुहुन्छ? राम्रो पारिश्रमिक पाउनुहुन्छ भन्दा केही पनि तयार हुनुहुन्न। उहाँहरु सबैलाई काठमाडौँ मात्रै चाहिन्छ। काठमाडौँमा डाक्टहरुको सख्या अत्याधिक धेरै छ। जहाँ डाक्टरहरुको केही कामै छैन।’

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्