ताँजाकोटमा सोलार मिनीग्रिडबाट १२५ किलोवाट विद्युत् उत्पादन

सोलार मिनीग्रिडका लागि जडान गरिएका सोलार प्यानल। तस्बिरः राजन रावत, हुम्ला
Copy to clipboard
Copied!

हुम्ला – हिमाली सोलार मिनीग्रिड कार्यक्रमबाट एउटै गाउँपालिकाका चार वटा बस्तीमा १२५ किलोवाट विद्युत् उत्पादन भएर प्रयोगमा आएको छ।

नेपाल सरकार वैकल्पिक ऊर्जा कार्यक्रम र कर्णाली प्रदेश सरकारको लागत साझेदारीमा उक्त विद्युत् उत्पादन भएर उपभोक्ताले उपभोग गर्न पाएका हुन्।

ताँजाकोट गाउँपालिका–४ को सिरुपाटा गाउँकी धना थापाले गाउँमै निर्माण भएको सोलार मिनीग्रिडबाट उत्पादन भएको विद्युत् उपभोग गर्न पाएको बताइन्। मिनीग्रिडबाट विद्युत् उत्पादन सुुरु भएसँगै उक्त गाउँका स्थानीयलाई दियालो र टुुकीमारबाट उज्यालो गर्नुपर्ने बाध्यता हटेको छ। उक्त गाउँका लागि २० किलोवाट विद्युत् उत्पादन भएर प्रयोगमा आएको छ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीका अनुुसार वडा नम्बर ४ र ५ का चार वटा बस्तीमा गरी १२५ किलोवाट विद्युत् सोलार मिनीग्रिडबाट उत्पादन भई प्रयोगमा आएको छ। ४ नम्बर वडाको सिरुपाटामा २० किलोवाट र गोठेलवाडामा ५० किलोवाट तथा ५ नम्बर वडाको चिहीमा १५ किलोवाट र लोटपाटामा ४० किलोवाट विद्युत् उत्पादन भएको छ।

सोलार मिनीग्रिडबाट विद्युत् उत्पादन भएर प्रयोगमा आएपछि दुुबै वडाका सबै बस्तीमा विद्युतीकरणको पहुुँच पुगेको छ।

यसका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा कार्यक्रमबाट ९० प्रतिशतले हुन आउने आठ करोड र कर्णाली प्रदेश सरकारको कर्णाली उज्यालो कार्यक्रमबाट १० प्रतिशतले हुन आउने ८४ लाख गरी कुुल बजेट आठ करोड ८४ लाखमा सो मिनीग्रिड निर्माण भएको हो।

यसबाट दुबै वडाका पाँच सयभन्दा बढी घरधुुरी लाभान्वित भएका छन्। उक्त योजना निर्माण गर्न एक वर्ष लागेको थियो। उनले मिनीग्रिडबाट उत्पादन भएको विद्युत् उपभोग कम हुने देखिएको बताए।

विद्युत् उत्पादन हुन सुुरु भएसँगै स्थानीय व्यवसायीले ह्याचरी मेसिन स्थापना र काठ उद्योगसमेत सञ्चालनमा ल्याएका छन्।

 

साउन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्