योजनाको भुक्तानी लिन अर्को जिल्ला धाउनुपर्ने बाध्यता

Copy to clipboard
Copied!

सिमकोट – हुम्लामा निर्माण कार्य सम्पन्न भएका योजनाको भुक्तानी लिन अर्काे जिल्लामा जानुपर्ने बाध्यता छ।

जिल्लामै योजना निर्माणका लागि सहयोग गर्ने सेवा प्रदायक निकायहरू नहुँदा निर्माण कार्य सम्पन्न भएपछि त्यसकाे भुक्तानी लिन जुम्ला जानुपर्ने बाध्यता भएकाे हाे।

ताँजाकोट गाउँपालिका- ३ का धनबहादुर जैशीले उपभोक्ता समितिबाट निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि तीन दिन लगाएर जुम्ला जानु परेको गुनासाे गर्छन्।

उक्त योजनाका लागि सुरुमा सम्झौता गर्न र पछि भुक्तानी लिन पनि उनी जुम्ला नै जानु परेको परेको थियो।

उनले आउने-जाने दुःख त एकातिरै छदै छ, अर्कोतिर जुम्ला पुगेर कागजात मिलाउन र प्रकृिया अनुसार भुक्तानी लिन पनि समय लाग्ने भएको कारण आर्थिक रूपमा पनि खर्चिलो भएको बताए।

ताँजाकोट गाउँपालिकामा ६३ लाखका पाँच वटा योजनाहरू निर्माण सम्पन्न भएका थिए।

यता चंखेली गाउँपालिका-२ का जुद्ध कामीले दुई पटक समितिबाट दुई जनाले योजनाको काम गर्न जुम्ला पुग्नु परेको जानकारी दिए।

उनले योजनाका लागि काम गर्ने नियम अनुुसार पेश्की रकम नलिएरै काम गरेको कारण थप एक-पटक जुम्ला पुग्नु नपरेको भएपनि समितिलाई दुःख भने बढी हुने गरेको बताए।

योजनाको काम गरेपछि पछि भुक्तानी लिन भने जानै पर्ने बाध्यता हुम्लावासीलाई रहेको छ। उक्त गाउँपालिकामा ४१ लाखका तीन वटा योजनाहरु निर्माण भएका थिए।

भू तथा जलाधार ब्यवस्थापन कार्यलय जुम्लाका प्रमुख शेखर चापाईँले एक जिल्लाबाट बसेर अर्को जिल्लामा काम हेर्नुपर्ने भएपछि उपभोक्तालाई दु:ख छदै छ त्यसमा कर्मचारीलाई पनि समस्या हुने गरेको बताए।

योजनाको निर्माण स्थलमा बारम्बार प्राबिधिक पुग्न नसक्ने भएको कारण कामको गुणस्तरमा पनि कमी आउने गरेको बुझाई कार्यालयको छ।

यसका लागि प्रदेश सरकारले जिल्लामै कार्यालय स्थापना गर्ने ब्यवस्था गर्नु पर्ने उनको सुझाव रहेको छ। सो कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा मात्र जलाधार संरक्षण कार्यक्रम अन्तर्गत ३३ वटा खोला किनार संरक्षण, पहिरो नियन्त्रण र बस्ती संरक्षणको कार्यक्रम सम्पन्न गरिको थियो।

यी सबै योजना गत मंसीर महिनायता सम्झौता भएर निर्माण कार्य भएका हुन्। यसबाट ताँजाकोट, अदानचुली, चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका यस्ता कार्यक्रम सञ्चालन भएका थिए।

यी सवै योजनाको निर्माणका लागि लागत इष्टिमेट अनुसार बजेट चार करोड १९ लाख विनियाेजित भएकोमा अन्तिम मूल्याब्कन अनुसार दुई करोड नब्बे लाख भुक्तानी गरिएको
छ।

प्रति योजना अनुुसार वित्तीय प्रगति भने ६४ देखि छयासी प्रतिशतसम्म भएको छ। हाल यी योजनाहरूको अनुमगन जुम्लाबाट हुँदै आएको थियो।

यता सघन शहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले पाँच वडा योजना हुम्लामा कार्यान्वयन गरेको थियो। आयोजनाले अघिल्लो आर्थिक वर्षबाट सडक निर्माण र सिमकोट बजार आसिसी पीच कार्य भइरहेको जनाएको छ।

यी सबै योजनाका लागि निर्माण ब्यवसायीले जुम्लामा रहेको आयोजनाको कार्यक्रममा गएर भुक्तानी लिनुपरेको थियो। उक्त आयोजनाले पौने तीन करोडका योजनाहरू सञ्चालन गरेको थियो। यी दुवै कार्यालयमा गरी ३८ वटा योजनाको भुक्तानी लिन हुम्लाबाट जुम्ला जानु परेको उनी सुनाउँछन्।

साउन ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्