विपद्‌मा प्रयोग हुने सवारी साधन सशस्त्र प्रहरीलाई हस्तान्तरण

Copy to clipboard
Copied!

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्‌मामा प्रयोग हुने सवारीसाधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन्।

हस्तान्तरण भएका सामग्रीमा आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स रहेका छन्। यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका उपकरण जडान गरिएका छन्। यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउँछन्।

उनका अनुसार यो नेपालका लागि पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्स हो। यी सवारीसाधनमा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सक्नेछन्।

मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सात वटा प्रदेशमा १-१ वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौँ उपत्यकामा रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

गृहमन्त्री खाँणद्वारा हस्तान्तरण गरिएका थप साधनमा आठ वटा नै ‘ए क्लास एम्बुलेन्स’ छन्। यी एम्बुलेन्सहरु समेत सात वटा प्रदेशमा १-१ वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौँ उपत्यकामा रहने प्राधिकरणले बताएको छ।

यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपीएफ अस्पतालसँगको समन्वयमा सञ्चालन रहने बताइएको छ।

त्यसैगरी कार्यक्रममा भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्‌का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ‘सर्च एण्ड रेस्क्यू’ उपकरणहरु पनि हस्तान्तरण गरिएको छ।

सोही अवसरमा प्राधिकरणले राष्ट्रिय अपांग कोषसँगको सहकार्यमा खरिद गरेको अपांगता सहायतासम्बन्धी सामग्रीहरू राष्ट्रिय अपांग कोष र केही लाभग्राहीलाई हस्तान्तरण गरेको छ। ती सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टालगायतका सामग्री रहेका छन्।

असार २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदाममा रहेका अपांगता सहायता सामग्री आगलागीमा जलेर नष्ट भएका थिए। गृहमन्त्री खाँणले उक्त गोदामको साउन १ गते अवलोकन गरी सामग्री शीघ्र उपलब्ध गराइने बताएका थिए। यी साधन तथा उपकरण प्राधिकरणले र विश्व बैंकको सहयोगमा व्यवस्थापन गरेको हो।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले विपद्‌बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन्। प्राधिकरणले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि गरेको काम स्वगतयोग्य रहेको उनले बताए। उनले विपद्‌मा रमाउने बानीका कारण धेरै क्षति हुने गरेको बताए।

खाँणले सरकारी कार्यलयहरु अपांगमैत्री हुनु जरुरी रहेको समेत बताएका छन्। अपांगता भएकाहरु पनि कुनै न कुनै विधामा सक्षम हुने भन्दै कसैले पनि दुर्व्यवहारको दृष्टिकोणले हेर्न नहुने बताएका हुन्।

साउन ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्