प्रेस स्वतन्त्रताको आडमा पत्रकारले आफ्नो जिम्मेवारी बिर्सिन मिल्दैन: देउवा

Copy to clipboard
Copied!

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार देश र जनताका लागि अझै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

शुक्रबारदेखि मकवानपुरको हेटौँडामा सुरु भएको नेपाली कांग्रेसको सुभेच्द्धछुक संस्था प्रेस युनियनको महाधिवेशन उद्घाटनको क्रममा देउवाले यस्तो बताएका हुन्।

हेटौँडाको रोयल पार्टी प्यालेसमा भएको महाधिवेशन उद्घाटन समारोहलाई देउवाले जम्मा जम्मी ५ मिनेट मात्रै सम्बोधन गरेका हुन्।

हेलिकोप्टरबाट अन्य नेताहरुसहित हेटौँडा पुगेका उनले सम्बोधनका क्रममा कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई जिम्मेवार र उत्तरदायी हुन सुझाव दिए।

उनले भने,‘पत्रकारिता क्षेत्र अझ जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ,प्रेस स्वतन्त्रताको आडमा पत्रकारहरुले आफ्नो जिम्मेवारी र उत्तरदायित्व बिर्सिन मिल्दैन।’

कांग्रेस सभापतिसमेत रहेका देउवाले पत्रकार जगतका कारण लोकतन्त्र पनि मजबुत हुने कुरा पनि राखे।
उनले पत्रकारिता क्षेत्र अहिलेको समयअनुसार परिष्कृत हुँदै जानुपर्ने पनि बताएका छन्।

‘पत्रकारिता लोकतन्त्रका लागि महत्वपूर्ण हो। अब यो क्षेत्र नयाँ प्रविधिअनुसार चल्न सक्नुपर्छ’, उनले भने, ’पत्रकारिता क्षेत्रले जिम्मेवार हुँदै विकसित प्रविधिको सहयोग लिएर आफूलाई परिष्कृत गर्दै लैजानु आवश्यक छ।’

उद्घाटन कार्याक्रममा कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि सम्बोधन गरेका थिए। सम्बोधनपछि देउवा तत्कालै हेलिकोप्टरबाट संघीय राजधानी काठमाडौं फर्किएका छन्।

युनियनको महाधिवेशनका लागि सबै प्रतिनिधि पुग्ने क्रम जारी छ। आवासका लागि हेटौँडा, मकवानपुरगढी, अमलेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको छ।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागी हुँदैछन्।
महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ।

 

साउन ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्