‘युवाहरु अंग्रेजी सिक्न मरिहत्ते गर्छन्, नेपाली भाषामा चासै छैन’

Copy to clipboard
Copied!

काठमाडौँ- कीर्तिपुरमा जन्मिएका सुवास खतिवडा २५ वर्षदेखि काठमाडौँस्थित कुलेश्वरमा बस्दै आएका छन्। उनी युनाइटेड सिमेन्ट उद्योगका बजार प्रमुखसमेत हुन्।

खतिवडाको कला र साहित्यको क्षेत्रमा विशेष रुचि राख्छन्। उनले विगत ६ वर्षदेखि युनाइटेड सिमेन्ट उद्योगका बजार प्रमुखका रुपमा काम गरिरहेका छन्।

आफू साहित्यिक पारिवारिक पृष्ठभूमिमा हुर्किएको हुँदा साहित्यप्रति रुचि बढिरहेको उनी बताउँछन्।

‘मेरो बुवा कविता लेख्नुहुन्छ। मेरो दाइ कथा–कविता लेख्नुहुन्छ। उहाँले लेखेको देखेर मलाई बच्चादेखि नै एक किसिमको छाप पर्‍यो,’ उनी भन्छन्, ‘साहित्य मेरो व्यवसायिक विधा होइन, तर पहिलो कविता लेखेको भनेको कक्षा एकमा पढ्दा नै हो।’

उनी सुरुमा कविता भनेको के हो? भन्नेसम्म पनि थाहा नभएको बताउँछन्। कविताबारे केही थाहा नहुँदा पनि उनले बाल कार्यक्रममा कविता वाचन गरेको सुनाउँछन्।

उनी भन्छन्, ‘कक्षा ४ मा पढ्दा बाल कार्यक्रम आउँथ्यो नेपाल टेलिभिजनबाट, त्यो कार्यक्रममा गएर मैले कविता वाचन गरेको थिएँ। त्यसबाट पनि मलाई साहित्यप्रति रुचि जाग्यो। त्यसपछि भने लामो ग्याप भयो।’

उनले ब्याचलर पढ्न थालेपछि फेरि कविताहरु लेख्न थाले। सुरुसुरुमा आफैले लेखेका कविताहरु पछि आफैलाई चित्त नबुझेको अनुभव उनी सुनाउँछन्।

उनी भन्छन्, ‘लेख्दै जाँदा कस्तो हुँदोरहेछ भने केही समयपछि आफूले लेखेको कविता आफैलाई नै चित्त नबुझ्ने रहेछ। पछि मैले राम्रो कविता लेख्ने २–४ जना गुरुहरुसँग पनि सोधेँ। उहाँहरुले सुझाव पनि दिनुभयो। त्यसपछि मैले फेरि सुधार गरेर लेख्न थालेको हुँ।’

उनले लेखेका कविताहरु सामान्यतः प्रेममा आधारित हुन्छन्। उनले धेरै क्षेत्रहरु समेटेर कविता लेख्ने गरेका छैनन्। ‘धेरै चल्ने र समेट्न सजिलो लाग्ने नै प्रेम हो, मलाई,’ उनी भन्छन्, ‘अर्को भनेको समाज हो। समाजका विकृतिहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्न मन पर्छ।’

उनी आफूले पहिलो पटक पढेको कृति माधवप्रसाद घिमिरेको ‘गौरी’ रहेको बताउँछन्। ‘मलाई राम्रो लाग्ने भनेको महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताहरु पनि हुन्,’ उनी भन्छन्, ‘लेखनाथ पौड्याललाई एकदमै मान्छु। जुन नैतिकताको गहिराइमा पौड्यालका कविताहरु छन्, त्यसलाई मेरो पूर्ण सम्मान छ।’

उनी किताब पढ्न जुनसुकै समय पनि मन पर्ने बताउँछन्। ‘यही नै भन्ने छैन। बिदाको दिनमा दिउँसै पनि पढ्छु। प्रायजसो बेलुकाको समयमा पढ्छु,’ उनी भन्छन्, ‘अहिले पूर्ण रुपमा पढेर सक्काएको कर्णाली ब्लुज हो। प्रेतकल्प, पल्पसा क्याफे, लूजस्ता किताबहरु पढेर सकाएको छु। सबैको नाम लिन सम्भव छैन। अहिले भने रक्तबिज र सद्गुरुको एउटा किताब पढ्दै छु।’

उनी आफैले किनेर भने किताब कमै पढ्ने गरेका छन्। उनको किताबको मुख्य स्रोत भनेको उनका दाजु हुन्। खतिवडाले प्राय: दाजुले किनेर ल्याएका किताब नै पढ्ने गरेका छन्।

‘साँच्चै भन्नुपर्दा मैले ज्यादै कम किताबहरु किनेको छु,’ उनी भन्छन्, ‘मैले पढ्ने किताबहरुको मुख्य स्रोत भनेकै मेरो दाजु हुनुहुन्छ। दाजुले किताब किनेर ल्याइरहनुहुन्छ, म पढ्छु।’

उनलाई उपन्यासको विधामा बुद्धिसागर औधी मन पर्ने बताउँछन्। कवितामा पुराना कविहरू महाकवि देवकोटा र पौडेल मन पर्ने बताउँछन्। त्यस्तै गजलकारमा प्रदीप रोदन, नयाँ कविमा छन्दकवि सुदेश सत्याल र नवराज पराजुली मन पर्ने बताउँछन्। विदेशी लेखक चाहिँ रवीन्द्रनाथ ठाकुर प्रिय रहेको उनी बताउँछन्।

उनको विचारमा साहित्य भनेको नदी हो। त्यसलाई बुझ्न नदीसँगै गहिराइमा पुग्नुपर्छ, डुब्नु पनि पर्छ भन्ने सोच उनी राख्छन्। पछिल्लो समय युवापुस्तामा नेपाली भाषाप्रतिको मोह र प्रेम घट्दै गएको देखिन्छ।

मैले महसुस गरेको कुरा के हो भने, पश्चिमी सभ्यताको सिकाइ नै सर्वोच्च हो भन्ने बुझाइका कारण नेपाली भाषा कमजोर बनेको छ। अर्कोचाहिँ, अङ्ग्रेजीमा कसैले केही लेख्न सक्यो भने त्यो सुपेरियर हुने, नेपाली भाषामा लेख्यो भने चाहिँ पुरानो ढर्राको हुने बुझाइ छ,’ उनी भन्छन्, ‘अहिलेको पुस्तालाई ‘म नेपालीमा कविता लेख्छु’ भन्दा यो त गाउँतिरबाट आएको मान्छे रैछ भन्ने ठान्छन्। म देख्छु, कतिपय नयाँपुस्ताले अङ्ग्रेजीमा लेख्नुहुन्छ। त्यसैलाई ‘नेपालीमा लेख्नुहोस् न !’ भन्दा लेख्न सक्नुहुन्न।’

अहिलेका युवा पुस्ताहरु अङ्ग्रेजी, हिन्दी सिक्न मरिहत्ते गर्ने तर नेपाली भाषा सिक्नमा खासै चासो नदेखाएको उनी बताउँछन्।

‘नेपाली भाषालाई कम महत्व दिएर हो। उदाहरणका लागि उनन्साठी भनेर भन्यौँ भने ‘उनन्साठी भनेको कति हो? मलाई नेपालीमा आउँदैन’ भन्ने जमात ठूलो भइसकेको छ,’ उनी भन्छन्, ‘हामीले जबसम्म अंग्रेजीमा अनुवाद गर्नुपर्ने र नेपालीमा भन्न नजान्ने परिपाटीलाई गम्भीर रुपमा लिँदैनौँ तबसम्म भाषा विकास हुँदैन। अर्को कुरा, हामीले स्कुलदेखि नै भाषालाई गम्भीर भएर सिकाउन छोड्यौँ। स्कुलमा एउटा मात्र नेपाली किताब पढाइ हुन्छ, बाँकी सबै अङ्ग्रेजी। त्यसले गर्दा अंग्रेजीबिना बोल्नै नसक्ने भए बच्चाहरु। हामी पनि त्यही भाषामा रमाउने भयौँ। नेपाली भाषाको विकासका लागि हाम्रो ध्यान छैन। त्यसैले स-साना गल्तीहरु धेरै हुन्छन्, भाषामा।’

भाषाको विकासका लागि स्कुलमा प्राथमिक तहबाटै सिकाउनुपर्ने उनी बताउँछन्। नेपाली भाषा पढ्नका लागि भार होइन, पहिचान हो भनेर सिकाउनुपर्ने उनको भनाइ छ।

साउन ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्