गायिका दिलमाया सुनारको हत्या भएको भन्दै प्रहरीले बुझायो प्रतिवेदन

Copy to clipboard
Copied!

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ।

गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको शव झण्डिएको अवस्थामा फेला परेको थियो। शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो।

यद्यपि दिलमायाको परिवारले किटानी जाहेरी दिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठतिर नै हत्यामा संलग्न रहेको प्रहरीले प्रमाणहरुका आधारमा पुष्टि गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

प्रहरीले मंगलबार जिल्ला वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर नै हत्यामा संलग्न भएको उल्लेख छ।

प्रहरीसँगको बयानमा उनले झुटो बोलेको स्पष्ट भएको, दिलमायाले स्टाटस लेख्न प्रयोग गरेको मोबाइल अझै नभेटिनु र दिलमायाको सल उनले नै पाँच किलोमिटर टाढा लगेर फ्याँक्नुले उनीमाथि अनुसन्धान सोझिएको प्रहरीले बताएको छ।

साउन ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्