कम्युनिष्ट घटकबीच ‘एकता’ तयारी, कांग्रेससँगको गठबन्धन भने नभत्कने

फाइल फोटो।
Copy to clipboard
Copied!

काठमाडौँ- प्रदेश र संघीय चुनावमा केन्द्रित रहेर कम्युनिष्ट दलहरुबीच ‘समाजवादी केन्द्र’ बनाउने तयारी भए पनि सत्तारुढ गठबन्धनबिरुद्ध भने नजाने स्पष्टोक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएका छन्।

सिंहदरबारमा कम्युनिष्ट निकट शक्तिका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायतसँग छलफल गरेपछि बाहिर निस्केर अध्यक्ष दाहालले नेकपाको वहुमत पक्ष बैठक बसेर पार्टी एकीकरणलगायतका विषयमा छलफल भएको बताए। उनले कांग्रेससँगको गठबन्धन कायमै रहने उल्लेख गर्दै कम्युनिष्ट घटकबीचको एकता गठबन्धनबिरुद्ध नरहेको पनि स्पष्ट गरे।

उनले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको बैठकमा विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भएको बताए।

सिंहदरबारमा भएको तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भएको बताए ।

उनले भने–हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य एक ठाउँमा छौं । गठबन्धनलाई कायम राखेर जानेमा विमति छैन,कसरी प्रभावकारी बनाउँने भन्ने छलफल पनि चलेको छ । हिजो एउटै पार्टीवाला भयौं,हामी नेकपाको वहुमत हौं त्यसैले विचार मिल्नेहरुबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ । पार्टी एकीकरणको पनि चर्चा गरेका छौं । तर यो हाम्रो एकीकरण वा छलफल गठबन्धनको विरुद्ध चाहिँ होइन ।’

उनले कांग्रेससँगको गठबन्धनको विपक्षमा नजाने समेत प्रष्ट पारे ।

साउन ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्