एमालेसँग एकता गर्न माओवादी र समाजवादीलाई भट्टराईको आग्रह

फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन्।

मंगलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तर्क्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गरे।

उनले तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए। उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताए। विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए।

भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए।

उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए।

उनले भने– ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडी नफर्किउँ कसले के गर्‍यो भन्ने कुरा। जब कसले के गर्‍यो भन्नेमा हामी जान्छौँ हामी एक अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ । अगाडि कसरी जाने त्यो सोचौँ। त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाइ छ नि, स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ । गोजीमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर गर्‍यो भने अन्त गइन्छ । आजकाल जिपिएस किन लगाइन्छ भने जिपिएसले ठिक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरु र समाजवादीले जिपिएस लगाउनुपर्‍यो। अब त्यो जिपिएस जिउमा लगाउनुपर्‍यो र फर्किनुपर्‍यो।’

उनले भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताए।

उनले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामर्थ्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताए।

देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाइ छ। उनले भने– ‘राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिन्छ जसले शिक्षामा पनि ठूलो क्रान्ति गर्नसक्छ । त्यो सामर्थ्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो । कम्युनिष्ट आन्दोलन हो । अरुले सक्नेवाला छैनन् । त्यो शक्तिले नै हाम्रा छिमेकी हुन चाहे हाम्रा टाढाका मित्रहरु हुन् । तिनीहरु सँग आँखा जुधाएर बोल्न सक्छन् । तिमीसँग हामी यति सहयोग लिन्छौँ । यति लिन्नौँ । तिम्रो यो शर्त मान्छौँ । यो शर्त मान्दैनौँ । हामी त्यो भन्न सक्छौँ । यदि त्यो शक्ति भएन भने त्यो भन्न सकिदैन । जब त्यो भन्न सकिँदैन ब्वाँसोले पछाडीबाट भैंसीलाई कन्याउँदै त्यसको भित्र सबै खाएजस्तो साम्राज्यवादीहरुले, आजको दलाल पुँजीले यदी राष्ट्रिय सामथ्र्य भएको शक्ति भएन भने कन्याउँदै कन्याउँदै भित्र सबै खाइदिन्छ । हाम्रो शिक्षा प्रणालीलाई त्यसबाट जोगाउँदै दक्ष शिक्षा प्रणालीतिर लानको निम्ति राष्ट्रिय सामथ्र्य भएको नै चाहिन्छ ।’

उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गरे।

साउन ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्