को बन्ला राष्ट्रिय अनुसन्धान विभागको नयाँ प्रमुख?

Copy to clipboard
Copied!

काठमाडौँ- सरकारले केही दिनअघि  राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेका कुलदेव थापाले साउन ४ गते अवकाश पाउँदैछन्। उनी ६ दिनका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बनेका छन्।

मन्त्रिपरिषद् बैठकले शुक्रबार थापालाई विभागको दोस्रो वरियताको पदमा बढुवा गरेको हो। यो पद तीन महिनादेखि खालि थियो। थापा हाल विभागको गण्डकी प्रदेश प्रमुख थिए।

अहिले विभागमा प्रमुख रहेका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते अवकाश पाउनेछन्।

एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदका लागि अनुसन्धान निर्देशक हुतराज थापा, हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाल पनि प्रतिष्पर्धामा थिए। उनीहरु १४ भदौ २०७४ मा अनुसन्धान निर्देशक पदमा बढुवा भएका थिए ।

अब साउन ४ गते उनले उमेर हदका कारण अवकाश पाएपछि अतिरिक्त मुख्य अनुसन्धान अधिकृतमा नियुक्त हुने अधिकारी नै मुख्य अनुसन्धान निर्देशक बन्नेछन्। अबको दौड मुख्य अनुसन्धान अधिकृतका लागि भएकाले अहिले प्रदेशमा कार्यरत सबै अनुसन्धान निर्देशक आफ्नो लबिइङका लागि काठमाडौँ आएका छन्।

स्रोतका अनुसार अतिरिक्त मुख्य अनुसन्धान अधिकृत बनेको केही सातामै मुख्य अनुसन्धान अधिकृतमा बढुवा हुने भएकाले अहिले सबैको नजर यसतर्फ परेको छ।

यसअघि विभाग प्रमुख बनेका गणेश अधिकारी र खरेल दुवै २०४६ का एउटै ब्याची हुन् भने अब पनि सम्भवत: सोही ब्याचका अधिकारी नै विभाग प्रमुख बन्ने एक उच्च अधिकारीले जानकारी दिए।

साउन १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्