६६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

साङ्केतिक तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ – बैंकिङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

उनको नामको बैंक खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत चैत २१ गतेको फैसलाले १० दिन कैद र ६६ लाख जरिवानाको आदेश दिएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो।

ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

असार ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्