संघीयता अनुकूल सांस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता

Copy to clipboard
Copied!

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाएका छन्।

जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न समयानुकूल सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताए।

भाषिक र सांस्कृतिक विविधता सहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्यापत पुरस्कार २०७८ बाट पाँच जना स्रष्टाहरुलाई पुरस्कृत गरे।

नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत भएका छन्।

चौधौँ शताब्दीका प्रसिद्ध कवि विद्यापतिको नाममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा कोष स्थापना भइ मैथिली भाषाका स्रष्टाहरलाई सम्मान गर्न सुरु गरिएको थियो।

यो कदम नेपालमा दोस्रो सवैभन्दा बढी बोलिने मैथिली भाषाप्रतिको सम्मान भएको मन्त्री श्रेष्ठले
बताए। विद्यापतिद्वारा रचित गीतहरु अहिले पनि मिथिलाबासीको जनजिब्रोमा झुण्डिएको छ भने बंगाल, उडिसा, असम र काठमाडौँका मन्दिरहरुमा भजनका रुपमा गुञ्जिदै आएको छ।

विद्यापतिका गीत र रचनाहरु नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको विषय भएको मन्त्री श्रेष्ठको भनाइ छ।

असार ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्