कर्णाली तर्न तुइनको भर

Copy to clipboard
Copied!

सिमकोट – हुम्लाका दक्षिणी क्षेत्रका बासिन्दाले अझै पनि तुइनको भरमा कर्णाली नदी पार गर्नुपर्ने बाध्यता रहेको छ। आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा स्थानीयले ज्यान जोखिममा पारेर तुइन प्रयोग गर्ने गरेका छन्।

अदानचुली गाउँपालिका–१ का अंग महताराले ज्यान जोखिममा राखेर कर्णाली नदी तरिरहेको बताए। वर्षौँदेखि झोलुुङ्गे पुलको माग गर्दा पनि योजना नपर्दा हुम्ला र मुगुका स्थानीय दुई जिल्लाको सीमाना दोमुखमा तुइन निर्माण गरेर वारपार गर्ने गरेका छन्। सो स्थानमा हुम्ला र मुगु कर्णाली मिसिन्छ।

कर्णाली नदीमा बर्खाको उर्लेको भेलमा पानी छुने गरी तुइन तर्नुपर्दा डर लाग्ने स्थानीय बताउँछन्। तुइन पनि धागोको जाली बनुर बनाइएको छ। जालीमा मानिस बस्नु पर्ने र त्यसपछि कर्णाली नदी पार गर्दा निक्कै जोखिम हुने गरेको छ।

तुइनबाट यात्रुसँगै सामान पनि ढुवानी गरिन्छ। विगत पाँच वर्षदेखि स्थानीयले तुइन तर्दै आएका छन्।

अदानचुलीकै अर्का स्थानीय परबहादुर बुढाले दोमुख पुल निर्माणका लागि गाउँपालिकादेखि सबै निकायमा माग गरिएको भए पनि कतैबाट सुनुवाइ नभएको गुनासो गरे। तीन महिनाअघि सो तुइनबाट सामान ढुवानी गर्ने क्रममा जाली चुटिएर सामान नदीमा खसेको बताउँदै उनले कुनै बेला यात्रुहरु पनि त्यसरी पर्ने डर उत्तिकै रहेको बताए।

तुइनमा दैनिक ३० देखि ४० जना यात्रुले प्रयोग गर्ने गरेका छन्। अदानचुली गाउँपालिकाले आफ्नो बजेटबाट पुल बनाउन श्रोतको अभाव रहेको जनाएको छ। दोमुखमा मात्र नभइ कर्णाली नदीका ६ भन्दा बढी स्थानमा यसरी नै तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ।

असार २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्