यारी सोलार मिनिग्रिडद्वारा विद्युत उत्पादन सुरु

Copy to clipboard
Copied!

सिमकोट- हालसम्म विद्युत सेवा नभएको उत्तरी नाम्खा गाउँपालिका-५ को यारीमा सोलार मिनिग्रिडबाट विद्युत उत्पादन कार्य सुचारु भएको छ।

मिनिग्रिड स्थापना भएको स्थानमा सोलार प्यानल जडानपछि विद्युत उत्पादन गर्ने कार्य भएको हो।

ग्रामीण जलस्राेत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार वीरेन्द्र थापाका अनुसार उक्त मिनिग्रिडबाट पचास किलोवाट विद्युत उत्पादन भएको छ।

विद्युत उत्पादन भई १७ भन्दा बढी घरधुरीलाई वितरण गर्ने कार्य भइसकेको र बाँकीलाई वितरण गर्ने कार्य भइरहेको छ। यसका लागि बाहिरबाट आवश्यक पर्ने निर्माण सामग्री सबै र जडान गर्ने दक्ष कामदार निर्माणस्थलमा खटिएका थिए।

उक्त मिनिग्रिड निर्माण भएर सञ्चालनमा आएपछि यसअघि सोलार टुकीबाट बत्ती बाल्दै आएका स्थानीयले पहिलोपटक विद्युत उपभोग गर्न पाएका छन्।

पचास किलोवाट विद्युत उत्पादन क्षमता रहेको सो मिनिग्रिडबाट उत्पादन भएको विद्युत यारी गाउँका ६६ घरधुरीले उपभोग गर्नेछन्। यारी तोरीको राम्रो उत्पादन हुने क्षेत्र भएको कारण तेल पेल्ने मेसिन निर्माण गरी सञ्चालनमा ल्याइने बताएकाे छ।

गत भदौमा उक्त मिनिग्रिड निर्माणका लागि निर्माण कम्पनीसंँग सम्झौता भएको र हिमपातको कारण बीच समयमा काम रोकिएको थियो। यसका लागि गाउँपालिकाले २० प्रतिशत, उपभोक्ताबाट दश प्रतिशत र आयोजनाबाट सत्तरी प्रतिशत लागत साझेदारी गरी तीन करोड लागत लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

यता नाँम्खा गाउँपालिका- ५ कै हिल्साको सो मिनिग्रिडका लागि सामग्री लग्ने कार्य भएको छ। साउन महिनाभरि जडान कार्य सम्पन्न गरेर विद्युत उत्पादन हुने परियोजनाले जनाएको छ। हिल्साका लागि एक सय किलोवाट मिनिग्रड निर्माण हुँदैछ।

असार २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्