हुम्लामा भेटियो चुनढुङ्गा खानी

Copy to clipboard
Copied!

सिमकोट – खार्पुनाथ गाउँपालिका- १ को सुनाखाँडा र लालीबगरबीच क्षेत्रमा चुनढुङ्गाको खानी भेटिएको छ।

कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा चट्टान बिष्फोट गर्ने क्रममा पुरै चट्टानमा सो खानी भएको पाइएको हो।

नेपाली सेनाको कर्णाली करिडोर विकास निर्माण कार्यदलका सेनानी इन्जिनीयर प्रेम खत्रीले उक्त क्षेत्रमा ठुलो मात्रामा चुनढुङ्गाको खानी भेटिएको जानकारी दिए।

सडक निर्माण गर्ने क्रममा चट्टान बिष्फोट गर्दा चुनढुङ्गाको खानी भेटिएको हो। पहिला सो क्षेत्रमा घोडेटो बाटो हुँदा चट्टानमा थोरै सो ढुङ्गा देखिने गरेको थियो।

सडक निर्माण गर्दा चट्टान नै बिष्फोट गर्नुपर्ने भएपछि अहिले करिब तीस मिटर अग्लो र पचाँस मिटर लम्बाई चट्टानमा खानी नै भेटिएको हो। सडक निर्माण गर्दा बिष्फोट भएर निस्केको चुनढुङ्गा सडकभन्दा तल फालिएको छ।

सो क्षेत्रमा आठदेखि दश मिटर चौढा सडक निर्माण गरिएको छ। त्यसको कुनै प्रयोग भने गरिएको छैन्। उक्त वडाका वडा अध्यक्ष जयबहादुर शाहीले ठुलो परिणाममा चुनढुङ्गा देखिएकोले यसको अध्ययन हुनुपर्ने बताए।

खानी विभागले अध्ययन गरेर चुनढुङ्गा भएको आधिकारिक पुष्टि गर्न समेत आग्रह गरे। खानी नै भएको पुष्टि भए यसबाट राज्यले फाइँदा लिन सक्ने भएको कारण यसलाई सदुपयोग गर्न सकिने छ। खानी देखिएको क्षेत्रभन्दा बीस मिटर तल कर्णाली नदी रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गत खानी विभागका सूचना अधिकारी नारायण बास्कोटाले यसको अध्ययन गर्न सकिने बताए।

उनले यसलाई सरकार वा निजी क्षेत्रले पनि अध्ययय गर्न सक्ने बताए। विभाग अध्ययन गर्न सक्ने भएपनि उनले तत्काल त्यो संभावना नभएको तर कार्ययोजना बनाएर बजेटको ब्यवस्था गर्न सके आगामी फागुन महिनासम्म गर्न सकिने बताए।

खानीको अध्ययन पछि त्यसको प्रवद्धन र विकास गर्न सकिने ब्यवस्था छ। उनले प्रदेश सरकारले पनि यसको अध्ययनका लागि सघाउ पुर्याउन सक्ने बताउँदै कुनै नीजि क्षेत्रले पनि विभागको अनुमति लिएर अन्वेषण गरेर खानी स्थापना गर्न सकिने बताए।

खानी स्थापना गर्न भने सडकभन्दा पचाँस मिटर टाढा रहेको हुनुपर्ने कानुनी ब्यवस्था रहेको छ।

असार २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्