दियालो र टुकी बल्ने खार्पुनाथमा अब सोलारको उज्यालो झिलिमिली

Copy to clipboard
Copied!

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका-२ का सम्पूर्ण घरधुरीमा सोलार प्यानल जडान गरेर बत्ती भिलिमिली भएको छ।

सोलार प्यानल जडानसँगै वर्षौदेखि दियालो बाल्दै आएका गाउँवासीको झन्झट पनि हटेको छ।

यसअघि घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ गाउँपालिका-२ घरमा एक्कै पटक पाँच वटा बत्ती बल्ने सोलार जडान भएका छन्।

सबै बस्तीका घरका प्रत्येक कोठामा बत्ती जडान भएर उज्यालो हुन पाएको छ। सोलार बत्ती बलेपछि अब स्थानीयलाई महिनामा एक पटक दियालो टिप्न जङ्गल जानुपर्ने बाध्यता पनि हटेको छ।

यो समस्या मात्र उक्त गाउँको समाधान नभएर राती अबेरसम्म गर्नुपर्ने काम गर्न पनि सहज भएको छ। घरघरमा सोलार बत्ती बलेपछि रातीको समय सिङ्गो वडा नै झिलिमिली देखिने गरेको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक वटा सय एम्पीयरको ब्याट्री र एक सय वाटका प्यालन जडान गरि बत्ती बाल्ने कार्य सम्पन्न भएको बताए।

उक्त सोलार प्यानल गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जडान कार्य गरिएको हो।

उनले सोलार प्यानल, ब्याट्र खदिर देखि ढुवानी र जडान कार्य पनि सम्पुर्ण रुपमा नि:शुल्क गरिएको बताए। २ नम्बर वडामा आठ भन्द बढी बस्ती रहेका छन्। प्रदेश सरकारको यो कार्यबाट पहिलो पटक ती सबै बस्तीका घरधुरीहरु उज्यालो भएका छन्।

उनले अब २ नम्बर वडा बासीको बत्ती बाल्ने सफना पुरा भएको बताए। यता सोही गाउँपालिका-४ वडाको सिता माध्यामिक विद्यालयमा पनि दश किलो वाटको सोलार प्यानल जडान गरी सञ्चालनमा आएको छ।

सोलार प्यानल जडान पछि विद्यालयको कक्षामा प्रविधिको प्रयोग गरेर पठन पाठन गर्न सहज भएको छ। यसका लागि प्रदेश सरकारले साँढे दुई करोड बजेट खर्च गरेको छ।

हालसम्म बत्ती बाल्न नपाएको उक्त वडाका स्थानीय बासिन्दाहरुले गत कातिकमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गाउँमा पहिरोले क्षती पुर्याएको अवलोकन गर्न आउँदा बत्तीको ब्यवस्था गर्न माग गरेका थिए।

मुख्यमन्त्री शाहीले तत्काल केही ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। त्यसको परिणाम स्वरुप अहिले वडा नै उज्यालो भएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्