राजनीतिक सहमतिको आधारमा निर्वाचनको मिति तोकिन्छः मन्त्री मेटमणि चौधरी

Copy to clipboard
Copied!

दाङ- सहरी विकासमन्त्री मेटमणि चौधरीले वर्तमान सरकारको ध्यान संवैधानिक व्यवस्थाअनुसार संघ र प्रदेशको निर्वाचन गराउन केन्द्रित भएको बताएका छन्।

दाङको लमहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री चौधरीले आउँदो मंसिर २१ गते वरिपरिको मितिमा निर्वाचन घोषणा हुने बताए।

उनले भने, ‘आवधिक निर्वाचन गनुपर्छ भन्ने संवैधानिक व्यवस्था नै छ। मंसिर २१ गते निर्वाचन सम्पन्न भएको पाँच वर्ष पुग्दैछ। त्यही वरिपरि निर्वाचन हुन्छ। संवैधानिक व्यस्थाअनुसार कानुन नबाझ्नेगरी चुनावको मिति तोकिन्छ।’

निर्वाचनको मिति मन्त्रीपरिषद् बैठकबाट तोकिने उनले जानकारी दिए। राजनीतिक दलहरूको सहमति कायम गरेर सरकारले निर्वाचनको मिति तोक्ने उनकाे भनाइ छ।

‘सबै दलबीचमा सहमति गर्नुपर्छ। अझैसम्म त्यो सहमति हुन सक्या छैन’मन्त्री चाैधरीले भने, ‘सबै राजनीतिक दल र सरकारमा भएको पाँच दलको बीचमा निर्वाचन कहिले गर्ने भन्ने बारेमा एक प्रकारको सहमति हुन्छ। त्यसपछि निर्वाचनको मिति तोकिन्छ।’

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्दै उनले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताए।

यस्तै, एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेपछि उनले पहिलो जिल्लागत कार्यक्रम गृह जिल्ला दाङबाट थालेका छन्।

शुक्रबार बिहान देउखुरी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले विद्यार्थीलाई श्रममा विश्वास गरेर अघि बढ्न सुझाव समेत दिए।

देउखुरीलाई शैक्षिक हव बनाउनेगरी देउखुरी बहुमुखी क्याम्पसले भूमिका निर्वाह गर्नुपर्ने मन्त्री चाैधरीकाे भनाइ छ।

‘शैक्षिक जनशक्ति तयार पार्ने र स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने दायित्व सरकार हो’, उनले भने, ‘हामीले शैक्षिक बेरोजगार होइन, शैक्षिक रोजगार जनशक्ति तयार पार्नुपर्छ।’

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीले क्याम्पसको भौतिक तथा शैक्षिक विकासको लागी योजनाहरू विनियोजन गर्न आग्रह गरेका छन्।

 

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्