आफूमाथि सामूहिक बलात्कार भयो भन्दै युवतीले गरिन् प्रहरीलाई फोन, घर पुर्‍याइदिन्छु भन्दै होटल लगेर बलात्कार

Copy to clipboard
Copied!

काठमाडौँ- आफूमाथि सामूहिक बलात्कार भएकोबारे युवती आफैलेँ आइतबार प्रहरीलाई खबर गरिन्।

युवतीले बिहान करिब साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै आफूमाथि सामुहिक बलात्कार भएको बताएकी हुन्।

युवतीले आफूमाथि भएको सामूहिक बलात्कारबारे १०० मा फोन गरी जानकारी गराएसँगै प्रहरी कन्ट्रोलले तत्काल घट्ना भएको भनिएको स्थान बौद्ध प्रहरी र प्रहरी परिसरमा जानकारी गरायो।

घट्नाबारे अनुसन्धाका लागि तत्काल प्रहरी टोली खटियो। प्रहरी स्रोतका अनुसार महिलाले आफूमाथि बलत्कार भएको भन्दै फोन गरेकी थिइन्।

उनी भन्छन्, ‘युवतीले प्रहरी कन्ट्रोलमा फोन गरेर ‘ममाथि तीन जनाले बलात्कार गरे’ भनेकी थिइन्।’

अनुसन्धानमा खटिएको प्रहरी टोली युवतीले बताएअनुसार बौद्धस्थित लु्ङ्ता गेस्ट हाउसमा पुग्यो। गेष्ट हाउसको तेस्रो तलामा प्रहरी पुग्दा फोन गरी आफूमाथि सामूहिक बलात्कार भयो भन्दै फोन गरी जानकारी गराएकी युवती कोठामा थिइन्। तर बलात्कारीहरु भने कोही पनि त्यहाँ थिएनन्।

प्रहरीले गेष्ट हाउसका सञ्चालक भनिएका झ्याम्पा ढिल्ले शेर्पासँग सोधपुछ गर्‍यो। सोधपुछका क्रममा युवतीले सञ्चालकलाई आफूमाथि बलात्कार भएको बताए पनि एक जनालाई भने भाग्न दिएको खुल्नमा आयो।

प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा सिसी टिभी फुटेज जाँच गर्नथाल्यो। त्यस्तै आफूमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै फोन गरेकी युवतीलाई स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित प्रसुति गृह लगियो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार ४ जना युवकहरुले मदिरा सेवन गरी युवतीमाथि सामूहिक बलात्कार गरेको खुलेको छ। बलात्कार आरोपि ४ जनालाई नै प्रहरीले पक्राउ गरिसकेको छ।

एसपी मैनालीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौँ महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन्।

मैनालीका अनुसार पक्राउ परेका तीन जना युवकहरु भने आइतबार राति अबेरसम्म दरबारमार्गस्थित मधुशाला रेष्ट्रो एण्ड बारमा बसेका थिए। उनीहरु मध्ये दुईजना राति किङ्स लाउन्जमा गएका थिए । किङ्स लाउन्जमा नै युवतीसँग उनीहरुको भेट भयो ।

प्रहरीका अनुसार सुरुमा दुईजना युवतीसँग ती युवकहरुको भेट भएको थियो। युवती एक्लै भएको थाहा पाएपछि पक्राउ परेकामध्ये रिञ्जेन शेर्पाले घर पुर्‍याइदिन्छु भन्दै युवतीलाई फकाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन्।

शेर्पाले राति घरको ढोका पनि नखुल्ने भएकाले बाहिरै कतै बस्न कर गरेका थिए । पीडित युवतीले प्रहरीलाई दिएको बयानका अनुसार, ‘यति राति घरको ढोका पनि खुल्दैन बाहिर कतै बसौँ भनेर मलाई कर गरे। उज्यालो भएपछि जाँदा हुन्छ भनेर धेरै नै भनेपछि म उसले भनेको ठाउँमा गएको थिएँ।’

शेर्पाले भने पीडित युवतीलाई सिधै लुङ्ता गेस्ट हाउसमा लगेका थिए । रातिको समयमा होटलमा पुगेका कारण सुरुमा सञ्चालकले कोठा छैन भन्दै फर्काइदिए पनि पक्राउ परेका तीनजनामध्ये एक जनासँग सञ्चालकको चिनजान भएका कारण कोठा छ भन्दै बस्न दिएका थिए।

शेर्पाले कोठा लिएर बसेसँगै अन्य दुईजना साथीहरु पनि राति नै त्यहाँ पुगेका थिए। मादक पदार्थ सेवन गरेर रमाइलो गर्दै बसेका उनीहरुले युवतीमाथि पालेपालो बलात्कार गरेको खुल्न आएको प्रहरी स्रोतले बताएको छ।

प्रहरीका अनुसार ती तीन जना युवकहरुले सामूहिक बलात्कार गरेसँगै युवतीले सञ्चालकलाई जानकारी गराएकी थिइन्। यद्यपि सञ्चालक आफैँले समेत युवतीमाथि थप करणी गरेका थिए।

त्यसपश्चात युवतीले फोन गरी प्रहरीलाई जानकारी गराएको बयानका क्रममा बताएकी छन्।

घट्नामा संलग्न चार जनालाई नै पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन्।

जेठ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्