नुवाकोटमा विद्युत प्रशारणलाइनमा एक व्यक्ति चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

तस्बिरः सामाजिक सञ्जाल।
Copy to clipboard
Copied!

काठमाडौँ – नुवाकोटको ककनी नगरपालिकामा एक व्यक्तिले अनौठो हरकत गरेका छन्। उनी करिब ३–४ घण्टादेखि विद्युत प्रशारणलाइनमा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँ गरिरहेका छन्।

ककनी नगरपालिका वडा नं. ७ स्थित बिजुलीको पोलमा एक व्यक्ति चढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

उनका अनुसार ती व्यक्ति बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन्। उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको खड्काले बताए।

उनी भन्छन्, ‘हामीले उहाँलाई तल झर्न आग्रह र प्रयास गरिरहेका छौँ। उहाँ मान्नुभएको छैन।’

प्रहरीका अनुसार ती व्यक्तिको परिवार भने सम्पर्कमा आएका छैनन्। बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै बन्द भएको छ।

उनले पोलमा चढेर विद्युत् लाइनहरू चलाउन थालेपछि स्थानीयले प्राधिकरणमा खबर गरेका थिए।

करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ। त्रिशूली थ्री ए आयोजना बन्द हुँदा काठमाडौँको विद्युत् व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

जेठ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्