जिसस अर्घाखाँचीमा एमालेको प्यानलै निर्विरोध निर्वाचित

Copy to clipboard
Copied!

अर्घाखाँची – जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन्।

५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन भएका छन्। पाणिनी–५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन्।

यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन्। छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन्।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी-७ का कमल घिमिरे , भुमिकास्थान-८ का झुपलाल खनाल र सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन्।

महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा-१०,सीता आचार्य, मालारानी-१ चयन भएका छन् । दलितरअल्पसंख्यक सदस्य पदमा मिना बि।सी। परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो।

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ,नेपाली कांग्रेसको दुई , राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ।

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ।

निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ।

 

जेठ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्