हुम्लाका ६ गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न

Copy to clipboard
Copied!

सिमकोट – स्थानीय तह निर्वाचनअन्तर्गत हुम्लाका सातमध्य ६ वटा गाउँपालिकामा कार्यपालिकाको सदस्यहरूका लागि भएको निर्वाचन कार्य सम्पन्न भएको छ।

खार्पुनाथ गाउँपालिकामा औपचारिक घोषणा हुन बाँकी भएपनि अन्य छवटामा भने सम्पन्न भएको हो।

मुख्यनिर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार नाँम्खा, सिमकोट, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा कार्यपालिका सदस्यहरूका लागि निर्वाचन सम्पन्न भएको छ।

चारजना महिला सदस्य र दुईजना दलित तथा अल्पसङ्ख्यक सदस्यहरुका लागि भएको निर्वाचन परिणाम अनुसार नाँम्खा गाउँपालिकामा गठबन्धन दलका तर्फबाट पाँचजना कार्यपालिकाका सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

सो गाउँपालिकामा दलित एकजना सदस्य निर्वाचित भएपनि अल्पसङ्ख्यकबाट भने उम्मेदवारी नै परेन।

त्यसैगरी सिमकोट गाउँपालिकामा गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन तीनजना गरी छ जना सदस्य निर्वाचित भएका छन्।

सिमकोटमा एमालेले तीन पदका लागि उम्मेदवारी दिएको भएपनि पराजित भएको थियो। यता सर्केगार्ड गाउँपालिकामा गठबन्धन दलकातर्फबाट छजना सदस्यहरू निर्वाचित भएका छन्।

उक्त गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन–तीनजना कार्यपालिका सदस्यहरू निर्वाचित भएका हुन्।

त्यसैगरी अदानचुली गाउँपालिकामा गठबन्धन तीन दलहरू माओवादी केन्द्रका तीनजना, नेकपा एकीकृत समाजवादीबाट दुईजना र नेपाली कांग्रेसबाट एकजना सदस्य निर्वाचित भएका छन्।

यता ताँजाकोट गाउँपालिकामा गाउँसभामा स्पष्ट बहुमत सदस्य निर्वाचित भएको माओवादी केन्द्रका छजना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी चङ्खेली गाउँपालिकामा पनि गठबन्धन दलबाट पाँचजना र एमालेबाट एकजना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

खार्पुनाथ गाउँपालिकामा भने छजना सदस्य निर्वाचित हुनु पर्नेमा पाँचजना कांग्रेसबाट र एकजना स्वतन्त्र उम्मेदवारको एकल उम्मेदवारी दर्ता भएको छ।

कार्यपालिका सदस्यको निर्वाचन कार्य तालिका अनुसार जेठ २१ गते यसको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गर्ने जनाएको छ।

सातवटा गाउँपालिकामध्ये सिमकोट र सर्केगार्ड गाउँपालिकामा मात्र निर्वाचन सम्पन्न भएको छ भने अन्य पाँचवटा गाउँपालिकामा कार्यपालिकाका सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

सातवटा गाउँपालिकाबाट ४१ जना कार्यपालिका सदस्यहरू निर्वाचित भएकोमा एमालेले चंखेली गाउँपालिकामा मात्र एकजना सदस्यमा चित्त बुझाउनु परेको छ।

जेठ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्