‘सलाम वालेकुम’ भन्दै उसले फोनमा भन्यो- विमानस्थलमा बम छ

Copy to clipboard
Copied!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले विमानस्थलमा बम छ भनेर फोन गर्नेले शुरुमा ‘सलाम वालेकुम’ भन्दै नेपालीमा कुरा गरेको बताएका छन्। उनले फोन गर्ने व्यक्तिको अहिलेसम्मको परिचय त्यतिमात्रै भएको बताएका हुन्।

बुधबार बिहान ९ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको कल सेन्टरमा अज्ञात व्यक्तिको फोन आएको थियो। उसले विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको बताएपछि विमानस्थलको दैनिक उडान समेत प्रभावित भएको थियो।

‘७ ओटा बम राखेको छु भनेको व्यक्तिले ९ बजेर ५० मिनेट जाँदा फेरि फोन गरेका थिए,’ प्रमुख पूर्ण चुडालले भने, ‘इमरजेन्सी प्लान अनुसार सुरक्षा निकायलाई सक्रिय गराईयो, १० बजेदेखि सर्च अभियान गर्यौ, पहिला कर्मचारी र यात्रुलाई सुरक्षित स्थानमा सार्यौ।’

चुडालका अनुसार सुरक्षा सतर्कता सहितको खोजीपछि केही फेला नपरेपछि वातावरण सामान्यीकरण गरिएको थियो र नियमित आन्तरिक उडान ११ बजेर १० जाँदा सुचारु गरिएको हो।

फोन कसले गर्‍यो भन्ने बारेमा सिआइबीको टोलीले अनुसन्धान गरिरहेको चुडालले बताए।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्