झापामा कहाँबाट को उम्मेदवार? 

Copy to clipboard
Copied!

झापा-  स्थानीय तह निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन सोमबार नेपाली कांग्रेस, राप्रपालगायत दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गराएका छन्। झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार सोमबार साँझ अबेसम्म पनि उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका थिए।

आइतबार त्यति धेरै उम्मेदवार नआएकाले सोमबार निवार्चन अधिकृतहरूको कार्यालयमा भीड लागेको थियो।

खासगरि सोमबार नेपाली कांग्रेस लगायत सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूले स्थानीय तह चुनावका लागि प्रतिष्पर्धा गर्न मनोनयन पत्र दर्ता गराएका छन्। यो समाचार तयार पाररुन्जेल पनि कुन दलका कति उम्मेदवारले मनोनयन पत्र दर्ता गराए भन्ने यकिन गर्न अप्ठ्यारो भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए।

उनले भने, ‘पुरा तथ्यांक निकाल्न झण्डै राति १० बज्ला।’

नेपाली कांग्रेसका तर्फबाट झापाको मेचीनगरको प्रमुखमा इन्द्र बुढाथोकीले मनोनयन पत्र दर्ता गराएका छन्। विर्तामोड नगरपालिकाको प्रमुखमा कांग्रेसको तर्फबाट भोजराज सिटौलाले उम्मेद्वारी दिएका छन्। अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की उम्मेद्वार बनेकी छिन्। भद्रपुर नगरपालिकामा गणेश पोखरेलले मेयर पदका लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गराए। कनकाई नगरपालिकामा रुद्रप्रसाद चिमरियाले मनोनयन पत्र दर्ता गराएका छन् भने शिवसताक्षीमा पर्शुराम ढुङ्गानाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्।

गाउँपालिकातर्फ झापाको बुद्धशान्तिमा मनोज प्रसाई, कचकबलमा कालेन्द्रप्रसाद सिंह राजवंशी, हल्दिबारीमा तुलसी ओली, झापा गाउँपालिकामा जयनारायण शाह, बाह्रदशी गाउँपालिकामा खड्गप्रसाद राजवंशी, गौरीगञ्ज गाउँपालिकामा फूलवती राजवंशी, कमल गाउँपालिकामा हुकुमसिंह राईले प्रमुख पदका लागि मनोनयन पत्र दर्ता गराएका छन्।

त्यसैगरि उपप्रमुख तथा उपाध्यक्ष पदका लागि पार्टीले तोकेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका नेपाली कांग्रेसले जनाएको छ। त्यसैगरि आइतबार मनोनयन पत्र दर्ता नगराएका नेकपा एमालेका उम्मेदवारले पनि सोमबार दर्ता गराएका छन्। राप्रपाका उम्मेदवारले पनि सोमबार नै मनोनयन पत्र दर्ता गराएका छन्। तर मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम सूचि मध्यरातसम्ममा मात्र एकीकृत गर्न सकिने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए।

बैशाख १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्