देउवा सरकार टालाटुली बटुली कति राम्री पुतली जस्तै होः ओली

Copy to clipboard
Copied!

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार भएको टिप्पणी गरेका छन्।

च्यासलमा आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइलकबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार भएको टिप्पणी गरेका हुन्।

साथै उनले सत्ताको दुरुपयोग गरेर आफूहरुमाथि हमला हुन सक्ने दाबी समेत बैठकमा गरेका छन्।

उनले भने,‘ अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन्। जनविरोधी काम सुरु गर्छन्। हाम्रो पंक्तिमाथि सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौँ।’

एमाले चिचिलो काँक्रो जस्तो अरुले औँला ठडाएर देखाउँदा झरेर जाने चिज नरहेकाे ओलीले बताए।

उनले भने, ‘एमाले जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस्।’

ओलीले आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार गर्न र वर्तमान देउवा सरकारको भण्डाफोर गर्न नेताहरुलाई निर्देशनसमेत दिएका छन्।

आफूले पार्टी एकताका लागि १० बुँदे सहमति स्वीकार गरे पनि नेपालले नमानेको आरोप ओलीले लगाए।

‘हामीले १० बुँदे सहमति स्वीकार गरेका थियौँ। माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गरेका थियौँ तर आएनन्। कोटेश्वर घरै पुगेका कार्यदलका सदस्यहरुलाई अल्पमतको बैठकमा म जान्न भनेर पठाएछन्। भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौँ, पार्टी एकतावद्ध बनाउ भन्दा म विधि निर्णय मान्दिनँ, एक्लै भएपनि मत हाल्छु भनेर हप्काएर पठाएछन्’ ओलीले भने।

बैठकमा ओलीले नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरुलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो।

बैठकले गल्ती स्वीकार गरेर आउनेहरुलाई अन्तिम अवसर दिने निर्णय पनि गरेको छ। साथै बैठकले कार्यदलको १० बुँदे समझदारीलाई अनुमोदन समेत गरेको छ।

अर्को बैठक मंगलबार तीन बजे बस्ने बताइएको छ।

साउन ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्