आङ खस्‍ने (पाठेघर) समस्‍याबाट कसरी बच्‍ने?

Copy to clipboard
Copied!

काठमाडौँ-नेपालका अधिकांश महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि समस्याहरुमा प्रमुख समस्‍या पाठेघर खस्‍ने हो।पाठेघरलाई समातेर बलियो गरी राख्‍ने मांसपेशी र नशाहरु कमजोर हुनाले यो अवस्था आउने गरेको चिकित्सकहरुले बताएका छन्।

जनस्वास्थ्य एवं पोषणविद डा.अरुणा उप्रेतिका अनुसार यस्तो हुनुको प्रमुख कारण कतिपय महिलालाई यसको लक्षणहरुबारे थाहा नहुनु नै हो। यस्तै अर्को भने कतिलाई थाहा भएमा पनि घरपरिवारमा भन्‍न असजिलो मान्‍नु, डाक्टरसँग सल्लाह सुभाव लिन लाज डर मान्‍नु रहेको उनको भनाई छ।

उनी भन्छिन्, ‘खास गरी ग्रामीण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले पाठेघर खस्नुलाई सामान्य रुपमा लिन्छन्।प्राय महिलाहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ।’

हाम्रो परिवार अनि समुदायमा पाठेघर खसेको बारे निकै कम मात्रामा छलफल गरिन्छ।यस्ता कुरा परिवारको ठूला साना सदस्यसँग गर्दा लाज मान्‍ने चलन अझै पनि रहेपनि रहेको छ। कतिपय माहिला यस्तो कुरा गर्दा इज्जत जाने सम्झिने गर्छन्।यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा त छदै छ श्रीमानबाट समेत पीडित हुन बाध्य छन्।

पाठेघर झर्नु या खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई पनि हुन सक्छ। यसलाई गाँउ ठाँउ अनुसार पाठेघर झर्ने खस्ने वा आङ खस्नु पनि भनिन्छ।पछिल्लो समयमा महिलाहरुमा फिस्टुलाको समस्या पनि बढ्दो रुपमा देखिन्छ।

पाठेघर खस्नुका कारण
डा.उप्रतीका अनुसार महिलाको पाठेघर झर्नु को मुख्य कारण गर्भाशयलाई बाँधेर राख्‍ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु विस्तारै तल खस्नाले हुन्छ। पाठेघर खस्‍नुका मूख्‍य कारणहरु

कम उमेरमा विवाह गर्नाले
कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी वर्षेनि बच्चा जन्माउनाले
बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्ने
सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौँ कामहरु गर्नाले
गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले
सुत्केरी अवस्थामा धेरै हिड्ने,गरुङ्गो भारी उचाल्ने बोक्ने गर्नाले
चुरोट खाएर बारम्बार खोकी रहनाले पनि पाठेघर खस्नुका कारण हो।

पाठेघर खस्दा देखिने लक्षणहरु
यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ।खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्‍न सकिन्छ।

यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ।

पुरै ठाउँ छोडी केही भाग योनी बाहिर पनि निस्कन सक्दछ । खोक्दा, हास्दा अलिअलि पिसाब चुहिने पनि हुन सक्छ ।बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने, हिंड्न गाहृो हुने, ढाड दुख्ने हुनसक्छ।

पाठेघर झरेपछि पर्ने समस्या
हाम्रो समाजमा धेरै महिला तथा परिवारले महिलाको पाठेघर खस्ने समस्यालाई समस्याको रुपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण शारीरिक समस्या हो भनी लिने गरेको पाईन्छ। जसले गर्दा महिलामा शारीरिक तथा मानसिक समस्या हुने गर्छ।

ढाड र कम्मर दुख्‍ने
हिड्दा, बस्दा, खोक्दा अप्ठ्यारो लाग्ने
तल्लो पेट दुख्‍ने
यौन सम्पर्क गर्दा असजिलो महसुस हुने
सेतो पानी बग्ने
टुक्रुक्क बसेर काम गर्दा अप्ठ्यारो हुने

यसबाट बच्‍ने उपायहरु
० किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ।
० महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने।
० २० वर्षको उमेर पुगेपछि मात्र गर्भवती हुने।
० गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने ।
० स्वास्थ्य संस्थामा गई दक्ष प्रसुति कर्मीबाट प्रसुति गराउने ।
० गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।
० गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ।
० सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।
० गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।
० दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा २ वर्ष पर्खिने ।

असार १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्