स्तन नफाली पनि गर्न सकिन्छ स्तन क्यान्सरको उपचार

Copy to clipboard
Copied!

काठमाडौं – स्तन क्यान्सर भएको तर पूरै स्तनमा नफैलिएको अवस्थामा स्तनलाई बचाएर गर्न सकिने शल्यक्रिया सम्बन्धी अन्तरक्रियात्मक तालिम भएको छ ।

ललितपुरको हरिशिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा एडभान्स ब्रेस्ट अनकोप्लास्टिक टेक्निक सम्बन्धी अन्तरक्रियात्मक तालिम भएको हो ।

स्तनमा क्यान्सर पूरै नफैलिएको अवस्थामा त्यसको उपचारका लागि पूरै स्तन नफालिकन शल्याक्रिया गर्न सकिन्छ । तर नेपालमा अहिलेसम्म यस सम्बन्धी व्यवस्थित प्रविधि र अध्धययन भएको छैन ।

नेपाल क्यान्सर अस्पतालको पहलमा शनिबार स्तन क्यान्सरको उपचार गरिरहेका चिकित्सक तथा भर्खरै अध्ययन पूरा गरेका डाक्टरहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको नेपाल क्यान्सर अस्पतालका ब्रेस्ट अनकोप्लाष्टिक सर्जन डा. प्रफुल्ल शाक्यले जानकारी दिए ।

बेलायतको लण्डनमा रहेको सेन्ट जर्ज विश्वविद्यालयका डा. दिव्यश बेनर्जीले नेपाली चिकित्सकलाई ब्रेस्ट अनकोप्लाष्टिक प्रविधिबारे जानकारी दिएका छन् । डा. बेनर्जी बे्रस्ट अनकोप्लाष्टिक सर्जरी (स्तनको अनकोप्लाष्टिक शल्यक्रिया) का विशेषज्ञ हुन् ।

स्तनलाई नोक्सानी नपुग्ने अर्थात स्तन जोगाएर पनि क्यान्सरको शल्यक्रिया गर्न सकिने भएकाले तालिमको आयोजना गरिएको डा. शाक्यले बताए ।

स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने गरी चिकित्सा विज्ञानमा विकास भएका नयाँ प्रविधिबारे यो क्षेत्रमा सक्रिय तथा नयाँ चिकित्सकहरुलाई तालिम दिइएको हो ।

स्तन क्यान्सरको उपचारमा विभिन्न विकल्प रहेको र त्यसबारे बिरामीलाई जानकारी गराउनु पर्ने र त्यो गर्दा कुन उपचार पद्धतिको कस्तो फाइदा छ भन्ने कुरा पनि खुलाउनु पर्ने डा. शाक्यले बताए ।

ब्रेष्ट अनकोप्लाष्टिक सर्जरी स्तन जोगाएर पनि उपचार गर्ने प्रविधि भएकाले यसको बिस्तारको खाँचो रहेको तर त्यसका लागि पहिले यो क्षेत्रमा रहेका चिकित्सक नै जानकार हुनु पर्ने र बिरामीलाई पनि छनौटको अधिकार दिनु पर्नेमा कार्यक्रमका सहभागी प्रशिक्षक चिकित्सकले बताएका थिए ।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

स्तनमा गाँठा गुठी आएमा

स्तनबाट पानी र रगत आएमा

स्तन नजिक या स्तनको छालामा परिवर्तन आएमा

रोगथाम

स्तनमा गाँठा गुठी आएमा, पानी या रगत आउने भएमा तुरुन्त समबन्धित डाक्टरसँग सल्लाह लिनुपर्छ ।

बैशाख २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्