मोरङको सुनवर्षीबाट पेस्तोलसहित दुई जना पक्राउ

Copy to clipboard
Copied!

काठमाडौँ – मोरङको सुनवर्षी नगरपालिकाबाट हतियारसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले आइतबार बेलुका नगरपालिकाबाट २८ वर्षीय आरिफ मिया र उर्लबारी नगरपालिकाका २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरेको जानकारी दिए।

सशस्त्र प्रहरी प्रमुख लामिछानेका अनुसार उनीहरूका साथबाट प्रहरीले दुई वटा पेस्तोल, म्याग्जिन, गोली बरामद भएको हो। को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतिर आउँदै गर्दा आलमलाई बेलुका ५ बजेतिर सुनवर्षीको खरेबारीबाट पक्राउ गरिएको हो।

शङ्का लागेर चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, म्यागजिन र एक राउन्ड गोली तथा एउटा सिक्सर पेस्तोल बरामद भएको थियो।

पक्राउ परेका आलमले प्रहरीसामु पेस्तोल धिमालले मगाएको बताएका थिए। त्यससँगै, सशस्त्र प्रहरीले राति ८ बजेतिर रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट धिमाललाई पक्राउ गरेको थियो। को २२ प ६७०७ नम्बरको मोटरसाइकल र ४७ हजार ७ सय ७० रूपैयाँ फेला परेको उल्लेख गरेको छ।

पक्राउ परेका दुवै जनालाई सशस्त्रले कारबाहीका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ। पक्राउ परुका दुव‌ैजनाविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रारम्भिक अनुसन्धानबाट दुवै जना हतियारका कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्