फलामका चिउरा चपाएर खोलेको अटिजम स्कुल (भिडियो)

Copy to clipboard
Copied!

काठमाडौँ – विभिन्न जिल्लाहरुमा फिल्ड भिजिट जाने शिलशिलामा एक दिन सविता उप्रेतीका आँखा रसाए। भक्तपुरको सुकुम्बासी एरियामा आठ वर्षदेखि एक बालकलाई साङ्लोले बाँधेर राखेको नाजुक अवस्था देखिन्। ती बालकलाई किन त्यसरी बाँधेर राखेको होला भनेर उनलाई त्यस रातभर निन्द्रा लागेन। बालकका अभिभावकसँग बुझ्दा थाहा पाइन्– बालकलाई अटिजम रहेछ।

सवितालाई त्यतिबेलासम्म अटिजम भनेको के हो, थाहै थिएन। उनले अटिजम भएका बालबालिकाका अभिभावकसँग अन्तर्क्रिया गर्दै गइन्। कुरा गर्दै जाँदा थाहा पाइन्– त्यस्ता बालबालिकाका लागि नेपालमा विशेष स्कुल नभएको र अरु विद्यालयले भर्ना नलिने, जसका कारण बच्चा भागेर टाढा नपुगोस् भनेर अभिभावकहरु बाँधेर/थुनेर राख्न बाध्य थिए।

अटिजम भएका बालबालिकाका लागि आफूले के गर्न सकिन्छ? र, राज्यले के गर्न सक्छ भनेर उनी खोज्न थालिन्। तर, यतिबेला अहिलेजस्तो त्यस्ता बालबालिकाका लागि काम गर्ने संघ संस्था पनि खुलिसकेका थिएनन्। राज्यले पनि पहिचान गरिनसकेको अवस्था देखेपछि उनलाई त्यही क्षेत्रमा काम गर्ने इच्छा भयो।

‘त्यतिबेला संस्था नै खोलेर काम गर्नको लागि म २१–२२ वर्षकी अविवाहित महिलालाई फलामको चिउरा चपाएजस्तै थियो,’ उनी भन्छिन्, ‘अभिभावकलाई यो बच्चालाई छोड्दिनू हामी हेर्छौँ के गर्दो रैछ भन्यौँ।’

धेरै आग्रह गरेपछि एक दिन बालकलाई अभिभावकले छोडिदिए। छोड्नबित्तिकै बालक कुदेर नजिकै रहेको फोहोरको थुप्रोमा गयो र एक टकले फोहोरको थुप्रोमा अरुले फालेको पेपरहरु नियाल्न थाल्यो।

उनलाई यस दृश्यले भावुक बनायो। सोच्न थालिन्– शिक्षा पाउनु उसको मौलिक अधिकार हो। उसको पढ्ने इच्छा त रहेछ। तर, उसले व्यक्त गर्न नसकेको रहेछ। उसमा चेतनाको अभाव छ। तर, यस्तो बच्चाको लागि सक्नेले बाटो देखाइदिन जरुरी छ।

अन्ततः तिनै बालक उनका लागि यस क्षेत्रमा काम गर्नका लागि प्रेरणा बने। सविता थप्छिन्, ‘सक्नेले त काम गर्न सक्नुहुन्छ, मागेर पनि खान सक्नुहुन्छ, भारी बोकेर खान पनि सक्नुहुन्छ। तर, यस्तो अवस्थाको बच्चा, जसले मागेर पनि खान सक्नुहुन्न, जीवन नै कोठाभित्र व्यतित भएको छ।’

सविताले यस्ता अवस्थाका ८–१० जना बालबालिकालाई भए पनि एउटा स्कुल र थेरापी सेन्टर स्थापना गरेर सेवा सुरु गर्ने निधो गरिन्। तर, संस्था झट्ट सुरु गरिहाल्नलाई उनीसँग पनि धेरै कुराको अभाव थियो। अनुभव पनि थिएन।

संस्था चलाउनको लागि अनुभवका साथसाथै आर्थिकलगायत विविध कुराहरु महत्वपूर्ण थिए। तर, उनीसँग यी केही कुरा पनि थिएनन्। केबल एउटा भावना मात्र थियो।

०००

त्यसअघि उनी समाज कल्याण परिषद्को मातहतमा रहेको राष्ट्रिय अपांग कोषको शारीरिक पुनर्स्थापना केन्द्रमा केन्द्र व्यवस्थापन अधिकृतको रुपमा काम गर्थिन्। त्यहाँ उनले शारीरिक रुपले अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयर, कृतिम हातखुट्टाहरु वितरण गर्ने, थेरापीहरु सिकाउनेलगायतका काम गर्नुका साथै विभिन्न जिल्लाहरुमा शिविर गराउँथिन्।

अन्ततः उनले कामबाट राजीनामा दिइन्। अटिजम भएका बालबालिकालाई सम्हाल्न केही हदसम्म भए पनि सजिलो हुन्छ भनेर इन्डिया गएर एउटा तालिम लिइन्। उनले ६ महिना तालिम लिइन्, सन् २००९ मा। संस्था सुरु गरिन् २०१० मा।

अटिजम भएका बच्चाहरुलाई कसरी सिकाउने, उनीहरुको उपचार के हुँदो रैछ? उनीहरुको पाठ्यक्रम कसरी निर्माण गर्ने भनेर उनले विविध कुराहरु तालिममा थाहा पाइन्।

इन्डियाबाट फर्केर आएपछि संस्था सुरु गर्ने भनेर परिकल्पना गरेर एउटा डिजाइन तयार पारिन्। तर, घरमा भने के भनेर बुझाउने भन्ने कुरामा उनलाई चिन्ता थियो।

उनी भन्छिन्, ‘बुवाआमाले गाउँबाट काठमाडौँ पुगेकी छोरी, एक हिसाबले सफल भइ भन्ने सोचेर अब बिहे गर्दिएमा आफ्नो जिम्मेवारी पनि पूरा हुन्छ भनेर योजना बनाइराख्नु भएको रैछ।’

सविताले भने बिहे पछि गर्ने भनेर आफ्ना योजना सुनाइन्, घरमा सबैका सामु। आफ्नो इच्छा व्यक्त गर्दा केही समय त कठीन भयो परिवारलाई कनभिन्स गर्न। अन्ततः अभिभावकलाई पनि मनाइन्।

उनी थप्छिन्, ‘सुरुमा त गाह्रै भयो। तर, पछि छोरीको इच्छा यही छ भने बिहेको लागि प्रेसर नगरुम्, छोरी यसमै खुशी हुन्छ भने यो नै सबैभन्दा ठूलो सेवा हो भनेर ममी अगाडि उभिसकेपछि सजिलो भयो।’

उता, अलिअलि भएको ‘पकेट मनी’ भने ट्रेनिङमा सक्किसकेको थियो। त्यसैले उनले एउटा जुक्ति निकालिन्।

‘बुवा ममीले बिहे गरिदिने कुरा गर्नुभएको छ। केही न केही त खर्च गर्नु हुन्छ, उपहारहरु दिनुहुन्छ। बरु भोलि मैले बिहे गरेँ भने मलाई केही गर्नु पर्दैन। अहिले भने म एउटा संस्था जन्माउँदै छु, त्यो भनेको मैले जन्माउने बच्चा हो, त्यसमा तपाईंहरुको साथको खाँचो छ, तपाईंहरुले बिहे गर्दा कति खर्च गर्नु हुन्थ्यो, त्यो पैसा अहिले मलाई दिनुस् भन्ने प्रस्ताव राखेँ,’ सविताले विगतको त्यो क्षण सम्झिइन्।

अन्ततः आफन्त तथा परिवारसँग मागेर उनले ५ लाख रुपैँया जम्मा पारिन्। वि.सं. २०६७ सालमा दुई जना बच्चाबाट सुरु गरिन् संस्था। एक जना ओखलढुङ्गामा मन्दिरमा फालिएकी बालिका र एक जना तिनै आठ वर्ष साङ्लोले बाँधेर राखिएका बालक। यिनै दुई बच्चाबाट उनले पेप्सीकोलामा संस्था सुरु गरिन्– विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र ‘एसएसडीआरसी’।

विगतको तुलनामा अहिले अटिजम भएका बालबालिकाको लागि धेरै नै गर्न सकेको जस्तो लाग्छ उनलाई। अहिले अभिभावकबाट पनि राम्रो प्रतिक्रिया पाएकी छन्। भन्छिन्, ‘यहाँ राखेपछि हामी ढुक्क भयौँ, हामीले आफ्नो काम गर्न पाएका छौँ भन्नुहुन्छ अभिभावकले। अभिभावकले जुन विश्वास र साथ हामीलाई दिनुभएको छ, सायद त्यही हौसलाले गर्दा पनि हामीले काम गर्न सकेका छौँ।’

यस कामप्रति मोह जाग्नुमा आफूभित्र कुनै स्वार्थ नभएको सविता बताउँछिन्। उनलाई लाग्छ, ‘आफूले त एक जीवन पाएँ र यहाँसम्म आइपुग्दा आफूले सोचेको सबै गर्न पाएँ, गाउँबाट काठमाडौँ आएँ, शिक्षित भएँ, जागिर खाएँ। तर, अर्को एउटा हाम्रैजस्तो जीवन छ, जसले कोठाभित्र संसार देख्नुपरेको छ भने यो जीवनको लागि अबको जीवन समर्पित हुन सकोस्।’

सविताका अनुसार अटिजम भएका बालबालिकाका अभिभावकलाई डायग्नोसिस भएपछि एसेप्ट गर्नै गाह्रो हुन्छ। किनभने अटिजमको चुनौती भनेको देख्दाखेरि शारीरिक रुपमा कुनै अशक्तता नदेखिनु हो।

कुनै पनि अटिजम भएका बच्चाहरुलाई सुधार गर्न कति समय लाग्छ र कति सुधार हुन्छ भनेर भन्न नसकिने सविता बताउँछिन्। बच्चाको लेभलअनुसार कसैको चाँडो सुरुवात हुने र केहीको ढिलो हुने उनको भनाइ छ।

‘एसएसडीआरसी’को बारेमा


विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र ‘एसएसडीआरसी’ विगत १२ वर्षदेखि अटिजम भएका बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र पुनर्स्थापनामा काम गरिरहेको एक गैरसरकारी सामाजिक संस्था हो।

यस संस्थामार्फत उप्रेतीले अटिजम भएका बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन्। सँगसँगै यस्ता बालबालिकाको हकहितको लागि पैरवी गर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘देशव्यापी रुपमा अटिजमका बारेमा जनचेतनाको काम गछौँ।’

अहिले यस संस्थामा ५२ जना बालबालिकाहरुले सेवा लिइराखेका छन्। ‘हालसम्म संस्थाले ३०० भन्दा बढी बालबालिबालाई सेवा दिइसकेको छ। त्यसमध्ये ६० जनाभन्दा बढी बालबालिकाहरुलाई त उनीहरुको जीवनमा सकारात्मक परिवर्तन गरेर पठाइएको छ, कतिपयले मूलधारको विद्यालयमा समेत पढिराखेका छन्,’ सविताले भनिन्।

एसएसडीआरसी केही समयअघिसम्म  पेप्सीकोलामा थियो। त्यहाँका घरबेटीले सर्नुपर्ने उर्दी जारी गरेपछि नयाँ घर खोज्न निकै भौतारिनु परेको उनको गुनासो छ।

अटिजम भएका बच्चालाई राख्ने भनेपछि घर बिर्गाछन्, हल्ला हुन्छ भनेर सबैले घर भाडामा दिन इन्कार गरे। झन्डै ५०–६० वटा घर हेरेपछि बल्ल एउटा घर पाएको उनको भनाइ छ।

घर पाए पनि ‘अटिजम फ्रेण्ड्ली’ पाउन निकै नै मुस्किल भएको उनको अनुभव छ। उनी भन्छिन्, ‘अटिजम सबैले बुझ्नुपर्ने कुरा भएता पनि समाजले स्वीकारिनसकेको अवस्था छ। मान्छेहरुले यतिसम्म पनि अपशब्द बोल्नु भएको छ कि अटिजमजस्तो बच्चाहरु राखेर हाम्रो समाज दुर्घन्धित हुन्छ भनेर।’

अहिले भने उनीहरु कोटेश्वर नरेफाँटमा छन्। अहिले यस संस्थाका तीनवटा शाखा विस्तार हुने क्रममा छ। आफ्नै भवन भने भक्तपुरमा बनिरहेको छ।

यहाँ काम गर्नको लागि तालिमप्राप्त जनशक्ति भने पाइँदैन। यस्ता तालिम सेन्टरहरु छैनन् नेपालमा। त्यसो हुनाले संस्थाले नै अहिले तालिम दिन्छ। यहाँ पढाउने शिक्षकलाई तीन महिना यहीँ तालिम दिएर राखिन्छ।

नेपालमा मात्र हैन संस्थाले अन्तर्राष्ट्रिय स्तरमा पनि तालिम दिएको छ। केही समयअघि भुटानका केही शिक्षकहरुलाई नेपालमै ल्याएर ट्रेनिङ दिइएको थियो। उनीहरुले यहाँ ट्रेनिङ लिइसकेपछि भुटान फर्किएर स्कुल पनि खोलेको सविताले जानकारी दिइन्।

अहिलेसम्म १६ वटा देशमा आफ्नो संस्थाको प्रतिनिधित्व भइसकेको उनी बताउँछिन्। त्यहाँ विभिन्न कन्फरेन्समा रिसोर्स पर्सनका रुपमा संस्थाले प्रतिनिधित्व गरेको छ।

त्यति मात्र हैन, अटिजम भएका दुई जना बच्चा अलिशा न्यौपाने र आदेशराज काफ्ले २०१६ मा अस्ट्रेलियामा गएर इन्टरनेशनल फोरममा अटिजमबारे ‘प्रिजेन्टेसन’ नै दिएका थिए।

अहिले आदेश कक्षा १० मा सामान्य स्कुलमा पढ्दै छन् भने अलिशा संस्थामै छिन्।अलिशालाई संस्थाले ७ वर्ष सेवा दियो, अहिले भने उनी विगत २ वर्षदेखि यहीँ अटिजम भएका बच्चाहरुलाई हेर्दैछिन्।

दुबईमा सन् २०१९ मा १९५ देशको स्पेशल ओलम्पिक भएको थियो, जसमा नेपालको अटिजममा पहिलो सहभागिता भएको थियो। त्यहाँ गएर दुई जनाले रजत पदक र कास्य पदक जितेर लिएर देशको नाम राखेको सविताले बताइन्।

संस्थाको सहभागिता अष्ट्रेलिया, अमेरिका, क्यानाडा, कोरिया, इजरायल, फिलिपिन्स, बंगलादेश, इन्डिया, भुटान, युएई, फ्रान्स, बेलजियम, न्यूजिल्याण्ड, डेनमार्क, जर्मनी, होल्याण्डलगायतका देशहरुमा भइसकेको छ।

संस्थाले बालिग भएकाहरुलाई सीपमूलक तालिमहरु पनि दिन्छ। अहिले संस्थामा छोरीहरुलाई कसरी क्रिसटलको गहनाहरु बनाउने, ढाकाको सामानहरु उत्पादन गर्ने भनेर ट्रेनिङ दिइन्छ।

अटिजमका बच्चाहरुलाई उनीहरुको अवस्थाअनुसारको कक्षा हुन्छ। डे केयर सेवाहरु र सँगसँगै बच्चाहरुको लेभल कति छ, त्यो लेभलअनुसार कक्षाहरु डिजाइन गरेर राखिने सविता बताउँछिन्।

साथसाथै उनीहरुको लेभलअनुसारको पाठ्यक्रम, जसलाई ‘इन्डिभिजुअल एजुकेशन प्लान’ भनिन्छ, त्यसअनुसार सिकाइन्छ।

सँगसँगै थेरापीको महत्वपूर्ण भूमिका हुन्छ। एउटै थेरापी गर्दा वा एउटै सिकाउँदा मात्र बच्चाको जीवनमा सकारात्मक परिवर्तन हुन्छ भन्ने हुँदैन। तर, टिचरले क्लासमा गर्ने, थेरापिस्टले गर्ने र अभिभावकले तालिम लिएर घरमा गर्ने क्रियाकलापको संयुक्त प्रयासमा बच्चाहरुको जीवनमा सकारात्मक परिवर्तन हुने सविताको भनाइ छ।

उनीहरुलाई दिने पहिलो तालिम भनेको आफ्नो स्याहार आफै गर्न सक्ने तालिम हो। अटिजम भएका बालबालिकालाई लुगा लगाउन पनि गाह्रो हुन्छ। आफै खानेकुरा खान पनि गाह्रो हुन्छ।

शारिरिक रुपले एकदमै हृष्टपुष्ट देखिए पनि शरीरका अंगहरु कसरी चलाउने, जिब्रो कसरी चलाउने, कसरी दाँतहरुले चपाउने भन्ने पनि थाहा हुँदैन।

सविताका अनुसार अटिजम भएका बालबालिकामा व्यवहारगत सुधार पनि गर्नुपर्ने हुन्छ। सामान्य कुराहरु पनि कसरी गर्ने भनेर गाह्रो हुन्छ उनीहरुलाई। त्यसैले आफै कसरी जुत्ता लगाउने, ट्वाइलेट कसरी गर्ने, आफ्नो स्याहार आफै कसरी गर्ने, त्यो कुरामा पनि विभिन्न ट्रेनिङ दिइन्छ।

उनका अनुसार बिहान अफिसमा जाने अभिभावकले भने आफै अलि चाँडो संस्थामा ल्याइदिन्छन् भने अलि टाढाका बच्चा, जसलाई अभिभावकलाई ल्याउन गाह्रो हुन्छ, उनीहरुलाई भने संस्थाको भ्यानले घर–घरबाट पिकअप गर्छ।

उनी भन्छिन्, ‘यहाँ बच्चाहरुले गाडीबाट ओर्लिएदेखि नै सिक्न पाउँछन्। गाडीमा चढ्दादेखि नै हात मिलाउने, नमस्ते गर्न सिकाउने, गाडीमा आउँदै जाँदै गर्दा साथीहरुको नाम, साथीहरुलाई ग्रिटिङ गर्न सिकाउने। अनि यहाँ झरिसकेपछि पनि टिचरहरुलाई नमस्ते गर्न सिकाउने, जुत्ता लगाउन–खोल्न सिकाउनेजस्ता कुराहरु हुन्छन्।’

यस्तै कक्षामा जाने, आफ्नो ब्याग राख्ने, त्यसपछि ट्वाइलेट जाने, त्यसपछि पानी खाने, त्यसपछि एसेम्बलीमा बस्ने, व्यायाम गर्ने, योगाहरु गर्ने, आ–आफ्नो क्लास–क्लासमा जाने गर्छन्।

प्रत्येक टिचरहरुको ४० मिनेटको क्लास हुन्छ। त्यसमा फरक फरक सेड्युल हुन्छ। कोहीले बच्चाहरुको मेमोरी बढाउने काम सिकाउँछन् त कोहीले आर्ट।

यस्तै, बच्चाहरु पढ्ने खालका छन् भने एकेडेमिक जस्तै, गणित, विज्ञानजस्ता किताबहरु पढाइन्छ। यहाँ कम्प्युटर क्लास, म्युजिक क्लास, डान्स थेरापीहरु पनि हुन्छ।

बेलुका सबै बच्चाहरुलाई योग ध्यान गरेर, अलिकिति रिफ्रेस भएर अनि खुशीसँग आफ्नो ब्याग आफैले मिलाउने अनि कक्षा कोठाहरु आफैले सफा गर्ने, आफ्नो सामानहरु मिलाउने, एजुकेुन मटेरियलहरु ठाउँ ठाउँमा राख्ने, अनि जुत्ता लगाएर बेलुका आ–आफ्नो गाडी चढेर घर जाने गरी सिकाइएको छ।

संस्थामा तीन वर्षदेखि आठ वर्षसम्मको बच्चाका लागि भर्ना लिइन्छ। ८ वर्षसम्म भर्ना लिइसकेपछि स्कुल सेटअपमा १३ वर्षसम्म संस्थाले राख्छ। किनकि त्यतिबेलासम्म बच्चामा केही न केही सुधार भएको हुन्छ। १३ व भित्र समावेशी शिक्षा, मुलधारमा जान बच्चाहरुले सकेमा मुलधारकै विद्यालयमा पठाइन्छ।

सविताको अनुभवमा यहाँका बच्चाहरु कोही पाँच महिनामै पनि मुलधारको विद्यालयमा गएका छन् भने कोही बच्चा १० वर्षदेखि पनि सामान्य आफै खान, आफै ट्वाइलेटसम्म जान पनि कठिन भएको अवस्था छ।

उनी भन्छिन्, ‘अटिजम भएका बच्चाहरुलाई स्याहार गर्नु भनेको एकदमै च्यालेन्जिङ छ। किनकि उनीहरुको बिहेभियर नै त्यस्तै हुन्छ। एउटा बल किन्यो एकछिनमा फुटाइदिन्छन्, सामानहरु पनि धेरै नै चाहिन्छ। फर्निचर पनि एकैछिनमा फुटाइदिन्छन्, एउटा क्लासमा ४–५ जना बच्चा भन्दा राख्न मिल्दैन, एउटा बच्चालाई एउटै टिचरजस्तो चाहिन्छ।’

मुख्य कुरा त अटिजम भएका बच्चाहरुलाई हेर्नका लागि धैर्यता चाहिने उनको अनुभव छ। उनी थप्छिन्,‘हामीले ट्रेन मेनपावरहरु पाउँदैनौँ, टिचरहरुलाई मोटिभेसन गरेर तालिम दिएर राख्नुपर्ने हुन्छ। थेरापिस्टहरु पनि पाइँदैन।’

सामाजिक संस्था भएका कारण धेरै तलब दिन पनि कठिनाइ हुने उनी बताउँछिन्। राज्यले आर्थिक पाटोमा सहयोग नगरेको उनको गुनासो छ।

आफूहरुले सुरु गर्दा अटिजम पहिचान नै नभएको तर, सन् २०१७ मा अटिजम पहिचान भएको र केही पोलिसीहरु निर्माण भएको उनले बताइन्।

उनी आफैले शिक्षामन्त्रीलाई १० बुँदे ज्ञापनपत्र दिएर अटिजमबारे ऐनमा व्यवस्था गर्न सफल भएकी हुन्, जुन पहिला ऐनमा थिएन। नीति नियममा सम्बोधन भएता पनि सहयोगको पाटोमा राज्यले अझै पनि प्राथमिकतामा राखेर केही नगरेको उनको गुनासो छ।

नेपालमा अटिजम भएका बालबालिका कति छन् भने ठ्याक्कै डाटा छैन। तर, डब्लुएचओले विश्वमा १ प्रतिशत बालबालिका अटिजमबाट प्रभावित भनेको छ। त्यसको आधारमा नेपालमा पनि तीन लाख व्यक्तिहरु अटिजमबाट प्रभावित हुनसक्ने बताइन्छ।

तर, अहिले अटिजमका बच्चाहरु जन्मिने क्रम बढेको विभिन्न तथ्यांकहरुले देखाएका छन्। अमेरिकाको सीडिसीको डाटाअनुसार ४४ जना बच्चामा एउटा बच्चा अटिजम भएको जन्मिन्छ।

सविताका अनुसार संस्थाको अबको योजना भनेको सेवालाई अझ विस्तार गर्ने र बच्चाहरुको सेवा अझ बढाउने हो। यस्तै, थेरापीहरु बढाउने, जनचेतनाको स्तर जनमानसमा बढाउने, संस्थाले जसरी काम गरिरहेको छ, त्यसरी नै सशक्त भएर निरन्तरता दिने नै हो।

अटिजम के हो?


अटिजम बच्चाहरुमा जन्मजात हुने एक किसिमको समस्या हो। नसा र तन्तुको विकास क्रममा हुने एक किसिमको असमानताको कारण बच्चाहरुलाई सामाजिक रुपले घुलमिल हुन कठिनाइ हुने, सञ्चार, सीप विकास हुन कठिनाइ हुने, एउटै क्रियाकलाप दोहोर्‍याइ राख्ने, कुनै बच्चा एकदमै सक्रिय हुने त कुनै बच्चा एकदमै निस्क्रिय हुने गर्दछन्।

अटिजमका हरेक बच्चाहरु फरक–फरक हुन्छन्। त्यसो हुनाले अटिजमलाई स्पेक्टम डिसअर्डर पनि भनिन्छ। यो कुनै रोग होइन, बौद्धिक अपाङ्गता पनि होइन, मस्तिष्कको एउटा अवस्था हो अटिजम। र, अटिजम निको पनि हुँदैन।

तर, पनि अटिजम भएका बालबालिका समयमै पहिचान गरेर, समयमै उपचार गरेर, सानो उमेरमा नै विभिन्न किसिमका थेरापीहरु लिएर त्यही अनुसारको घरमा पनि तालिम दियो भने उनीहरुको जीवनमा धेरै नै परिवर्तन आउन सक्छ।

विशेष बच्चाहरुको क्षमताअनुसार, उनीहरुमा पनि केही न केही क्षमता हुन्छ, त्यो क्षमताअनुसार र उनीहरुमा अरु क्षमता के छ, त्यो पहिचान गरेर उनीहरुको अनुकूलको शिक्षा, पाठ्यक्रम निर्माण गरेर दियो भने उनीहरुको जीवनमा धेरै नै सकारात्मक परिवर्तन हुन्छ।

अलि ठूलो उमेरमा गर्‍यो भने धेरै प्रगति तथा सुधारहरु हुन सक्तैन। त्यसैले जुन उमेरमा उनीहरुको व्यवहारमा समस्या आउँछ, त्यो सानो मै हस्तक्षप गर्‍यो भने धेरै सुधार गर्न सकिन्छ। अटिजम भएका कति व्यक्तिहरुमा बौद्धिक क्षमता एकदमै धेरै पनि हुन्छ, अटिजमका प्रत्येक बच्चा फरक फरक हुने हुँदा तुलना नमिल्ने सविता बताउँछिन्।

कुनै बच्चाले अलि छिटो सिक्न सक्छन्। कुनैमा न्यून अटिजम हुन्छ, कुनैमा मध्यम अटिजम हुन्छ र कुनैमा अति अशक्त पनि हुन सक्छ। न्यून अटिजम छ भने उनीहरुलाई केही बानी, कम्युनिकेसनको पाटोमा काम गरेर मूलधारको विद्यालयमा पनि पठनपाठनको लागि पठाउन सकिन्छ।

अटिजम जन्मजात नै हो। यसको लक्षण १८ महिनादेखि ३ वर्षभित्रमा देखा पर्छ। गर्भवती हुँदा अस्पतालमा जचाउँदा पनि अटिजमको लक्षण देखाउँदैन।

सविताका अनुसार अहिलेसम्म अटिजमको कारण पत्ता लागेको छैन। जेनेटिक म्युटेसनमा कुन फ्याक्टरले असर गर्‍यो भने अटिजम हुन्छ भनेर पत्ता लागेको छैन।

तनावका कारण, खाद्यवस्तुमा विषादी, प्रदूषण, मोबाइलहरुको रेडियसन पनि यसको कारण हुन सक्छ। त्यसो हुनाले गर्भवती भएको समयमा यस्ता चिजहरुमा अलिकति सचेत हुनुपर्ने सविता उप्रेती बताउँछिन्।

भदौ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्