प्रोफाइल

रमा कार्की भन्छिन्ः अपाङ्गतामैत्री कुरामा होइन, काममा हुनुपर्छ (भिडियोसहित)

काठमाडौँ – शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी अभियन्ता हुन्, रमा कार्की। उनले अपाङ्गता भएका बालबालिकाहरुको हकमा सर्वाङ्गिण पुनःस्थापना लागि काम गर्दै आएकी छन्।

दुई दशकदेखि निरन्तर यस क्षेत्रमा काम गरिरहँदा तिता–मिठा दुवै अनुभव रहेको उनी सुनाउँछिन्। नेपालजस्तो विकासोन्मुख देशमा कतिपय कुराहरु लादेर नै गर्नुपर्ने अवस्था अझै पनि रहेको उनको भनाइ छ।

‘हाम्रोजस्तो देशमा कतिपय कुराहरु लादेरै गर्नुपर्ने पनि छ। कतिपय कुराहरु निरन्तर वकालत गरिरहनु पर्नेछ। कतिपय ठाउँहरुमा काम गर्दै जाँदा सहयोगी हातहरु पनि भेटिएका छन्,’ उनी भन्छिन्, ‘यतिका वर्ष निरन्तर यही क्षेत्रमा काम गरिरहँदा तिता–नमिठा दुवै अनुभव त पक्कै पनि हुने नै भए।’

करिब २० वर्षअघि, जब उनले यस क्षेत्रमा लागेर अपाङ्गता भएका बालबालिकाहरुको समस्या र हक अधिकारको विषयमा काम गर्न थालिन्, त्यतिबेला अपाङ्गता भएका बालबालिकाहरुलाई समाजमा हेलाको नजरले हेर्ने गरिन्थ्यो।

‘सकारात्मक परिवर्तनहरु भइरहेका छन्। २० वर्षभन्दा अघि नेपालमा अपाङ्गता भएका बालबालिकाहरुलाई एउटा संवेदनशिल तरिकाले हेर्ने गरिएको थियो। तर, आज आएर त्यो छैन,’ उनी भन्छिन्, ‘सोच परिवर्तन हुनुमा पनि यस क्षेत्रमा लागेर काम गर्ने व्यक्तिहरु तथा मिडियाले पनि ठूलो भूमिका निर्वाह गरेको छ। मिडियाले हामीले गरेको राम्रो कामलाई अन्यसामु पुर्‍याइदिनुभयो, जसले गर्दा पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो।’

नेपालमा ‘अटिजम केयर नेपाल’ स्थापना गर्नमा पनि कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। सरकारसँग लविङ गर्नेदेखि लिएर उक्त संस्थालाई अघि बढाउन कार्कीले हातमा हात मिलाएर काम गर्दै आएकी छन्। अटिजम केयर नेपाल स्थापना भएकै कारण यही वर्ष भएको एसइई परीक्षामा अटिजम भएका एक विद्यार्थी पास भएका छन्।

उनी भन्छिन्, ‘अटिजम भएको बच्चाले पहिलो पटक एसइई पास गरेको छ। यो नेपालको लागि गुड प्राक्टिस हो।’ यी कुराहरु भनिरहँदा रमाको मुहारमा खुसी झल्किरहेको प्रष्टै देख्न सकिन्थो।

‘हामीले अटिजम नेपाल स्थापना गरेपछि त्यो आधिकारिक भयो, त्यसपछि हामीलाई पनि काम गर्न सजिलो भयो,’ उनी भन्छिन्, ‘धेरै गुड प्राक्टिसहरु भएका छन् र केही अझै पनि गर्न बाँकी छन्।’

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुका लागि अझै थुप्रै काम गर्न बाँकी छन्। त्यसमध्ये पनि सबैभन्दा महत्वपूर्ण भनेको भौतिक संरचना अपाङ्गतामैत्री बनाउनु रहेको उनी बताउँछिन्।

‘गर्नुपर्ने कामहरु अझै धेरै छन्। पहिलो त भौतिक संरचनामा परिवर्तन गर्नुपर्‍यो। मोटरसाइकल गुड्ने बाटोमा निर्धक्क भएर अपाङ्गता भएका व्यक्तिहरुको ह्विल चेयरको पाङ्ग्रा पनि गुड्नु पर्‍यो। सरकारी भवन, विद्यालयहरुलगायतमा शौचालयसम्म ह्विल चेयर जाने व्यवस्था हुनुपर्‍यो,’ उनी भन्छिन्, ‘हामीले त यस्तो गर्न बाँकी छ भन्ने हो, काम गर्ने त राज्यले हो। राज्यका मान्छेहरुलाई झक्झकाउने काम चाहिँ सबैबाट भइरहेको छ जस्तो लाग्छ मलाई।’

समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दुई वटा वर्ग रहेको उनको भनाइ छ।

‘एउटा वर्गलाई चाहिँ अझै पनि बुझाउनै आवश्यक छ। सोचमा परिवर्तन गर्न आवश्यक छ। एउटा वर्गलाई चाहिँ ढक्ढक्याउन आवश्यक छ। अब रेडी भइसके है अपाङ्गता भएका बालबालिकाहरु, अब तपाईंले जागिर दिनु पर्‍यो, सम्मान दिनुपर्‍यो भन्न जरुरी छ,’ उनी भन्छन्, ‘अर्को चाहिँ कार्यन्वयन। हामीले गरिरहेका कामहरु अपाङ्गतामैत्री छन् त? भन्ने कुरामा त्यहाँ पनि वकालत गर्न आवश्यक छ।’

एउटा कुरालाई मात्र लिएर अघि बढ्नुभन्दा पनि कहाँ के कुराको आवश्यकता छ भन्ने कुरा बुझेर अघि बढ्न जरुरी रहेको उनी बताउँछिन्।

उनले मस्तिष्क पक्षघात भएका व्यक्तिहरुको हकमा समेत काम गर्दै आएकी छन्। ‘मस्तिष्क पक्षघात भएका बच्चाहरुको पुनर्उत्थान नेपालमै सम्भव छ है भनेर खोज्दै जाँदा एउटा न्यूरो सर्जनको रोल थियो, त्यो पनि अहिले म अन्नपूर्ण फाण्डेसनसँग मिलेर डा. बसन्त सरसँग मिलेर काम गरेर अहिले अब त्यो रोल पनि नेपालमै सम्भव छ हैं भन्ने बनाएका छौँ,’ उनी भन्छिन्, ‘असम्भव भन्ने कुरा केही छैन। काम गर्‍यो भने हरेक कुरा पूरा हुन्छ भन्ने कुरामा म विश्वास राख्छु।’

अपाङ्गता भएका बालबालिकाहरुको हकमा राज्य संवेदनशिल हुन आवश्यक रहेको उनी बताउँछिन्। ‘राज्यभन्दा ठूलो त तपाईं हामी हुँदैनौँ।  त्यसैले सुरुमा त राज्य नै संवेदनशिल हुन जरुरी छ। हामीले त झक्झकाउने हो निरन्तर। यसो नगर, यस्तो आवश्यक छ भन्ने हो, काम गर्ने त राज्यले हो,’ उनी भन्छिन्, ‘राज्यलाई निरन्तर खबरदारी गर्न चाहिँ छोड्नु हुन्न।’

अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्न लागिपरेका मानिसहरुमा पनि अपाङ्गताबारे केही ज्ञान हुन आवश्यक रहेको उनको भनाइ छ।त्यससँगै संसारभर भइरहेका राम्रा अभ्यासका बारेमा पनि बुझ्न आवश्यकता रहेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘अपाङ्गता भएका व्यक्तिहरुलाई बिचरा भन्ने सोच परिवर्तन हुन आवश्यक छ। उनीहरुको कमजोरीलाई लिएर भन्दा पनि उनीहरुको तागतलाई लिएर काम गर्न आवश्यक छ।’

अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा सरकारले थुप्रै कुरा गर्न बाँकी रहे पनि मनदेखि चासो दिएर काम नगरेको उनको गुनासो छ।

उनी थप्छिन्, ‘सरकारले सरकारी संयन्त्रहरुमा, सरकारी भवनहरु निर्माणमा थोरै मात्र सोच परिवर्तन गरिदियो भने त्यो अपाङ्गता भएका व्यक्तिहरुको लागि धेरै महत्वपूर्ण हुन्छ। त्यसले उनीहरुमा पोजेटिक इम्प्याक्ट पार्छ। सरकारी भवनहरु अपाङ्गतामैत्री बनाइदिए मात्रै पनि उनीहरुलाई धेरै राहत हुन्छ। शौचालयहरु अपाङ्गतामैत्री नभएकै कारण उनीहरु शौच गर्न पाउँदैनन्, यो कुराको अन्त्य हुनुपर्छ। हामीले निरन्तर यो कुरा उठाउँदै पनि आएका छौँ तर खोइ त कार्यन्वयन भएको?’

उनी बालबालिकासँग असाध्यै नजिक रहेर काम गर्न रुचाउँछिन्। सोही क्रममा आफूले एक महिलालाई ह्विल चेयर मोडल बनाएको उनी बताउँछिन्।

‘समस्या बालबालिकामा होइन रहेछ। समस्या हामीले बालबालिकालाई हेर्ने दृष्टिकोणमा रहेछ। हामी बिचरा भनेर हेर्छौं तर कहिले पनि उनीहरुको नजिक भएर उनीहरुको कुरा सुनेका छौँ त?,’ उनी भन्छिन्, ‘बालबालिकाहरुसँग नजिक भएर काम गर्दै गर्दा उनीहरुको रुचिलाई नियालियो। सोही क्रममा उनले एक दिन भनिन्– म चाहिँ ह्विल चेयर मोडल बन्छु। हामीले उनको रुचिअनुसार नै फोटोसुट गराउनेदेखि लिएर सबै गरायौँ र अन्त्यमा उनी ह्विल चेयर मोडल बन्न सफल भइन्।’

अपाङ्गता भएका व्यक्तिहरुमा पनि रुचिहरु हुन्छन् भन्ने कुरालाई बिर्सिनु नहुने उनको भनाइ छ। अपाङ्गता भएका व्यक्तिहरुसँगै उनीहरुका परिवारहरु जो दोहोरो मारमा परेका छन्, गरिबीलगायत धेरै कुराले। उनीहरुलाई समेत आफूहरुले सघाउने गरेको कार्की बताउँछिन्।

‘अपाङ्गता भएका व्यक्तिहरुसँग रहेर जसले काम गर्नुहुन्छ, उहाँहरुलाई ट्रेनिङको पनि खाचो छ जस्तो मलाई लाग्छ,’ उनी भन्छिन्, ‘सरकारले अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह गर्नेलाई दिइने पारिश्रमिकमा पनि ध्यान दिन आवश्यक छ। अपाङ्गता भएका बच्चाहरुलाई त खाना यसरी खाइ है भनेर सिकाउन पनि कति दिन लाग्छ तर उनीहरुले पाउने पारिश्रमिक र उनीहरुलाई समाजमा हेर्ने नजर एकदमै न्यून छ।’

‘म अपाङ्गता भएका बालबालिकासँग काम गर्छु’ भनेर निर्धक्कतासाथ भन्न सक्ने वातावरण अझै पनि समाजमा नरहेको उनी बताउँछिन्।

सरकारले अपाङ्गता भएका बालबालिकाहरुको हकमा राम्रो नीति ल्याउन जरुरी रहेको उनको भनाइ छ।  ‘जस्तो, नेपाल सरकारले बालगृहको स्ट्रङ पोलेसी ल्यायो। त्यस्तै गरी अपाङ्गता भएका बालबालिकाहरु लागि राज्यले एउटा राम्रो पोलेसी ल्याउन आवश्यक छ।’

यस क्षेत्रमा काम गर्न चाहने युवाहरुलाई पनि प्रोत्साहन गरेर काम गर्ने वातावरण बनाउनसके अपांगता भएका बालबालिकाका लागि राम्रो हुने उनी बताउँछिन्।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्