बाघको भाले-पोथी अनुपात र यसको अर्थ

काठमाडौँ – लक्ष्यभन्दा धेरै तर अनुमानअनुसार नै बाघको संख्या पहिचान भएसँगै भावी रणनीति र सम्भावित चुनौतीहरूको व्यवस्थापनका उपायलाई लिएर चर्चा हुँदै आएको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३ सय ५५ रहेको अनुमान गरिएको छ, जुन सन् २०२२ भित्र दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धताभन्दा धेरै हो।
बाघ पाइने राष्ट्रिय निकुञ्ज, त्यस वरपरका वन तथा सामुदायिक वन क्षेत्रमा क्यामरा ट्र्यापको सहायताले गरिएको गणनामा सबै क्षेत्रमा संख्या ‘उत्साहपूर्ण’ रूपमा बढेको पाइएको छ।
तथ्यांक हेर्दा संख्या आउँदा वर्षमा अझै बढ्दै जाने आँकलन गर्न सकिने विज्ञ बताउँछन्। यसको कारण हो- भाले-पोथी बाघको अनुपात।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर गत जुलाई २९ (साउन १३ गते) सार्वजनिक गरिएको बाघ गणना प्रतिवेदनअनुसार सबै राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा भालेको तुलनामा पोथी बाघको संख्या बढी पाइएका हुन्।
‘तथ्यांकमा पोथीको संख्या बढी देखिनु संख्या वृद्धिको सम्भावना थप रहेको संकेतका रूपमा लिनु पर्छ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले भने, ‘त्यसकै आधारमा संख्या बढेर यो अवधिमा यति पुग्छ भन्न सकिँदैन। तर सम्भावित वृद्धिलाई मध्यनजर गरेर व्यवस्थापन तथा बढ्न सक्ने आन्तरिक (बाघ-बाघ वा बाघ-मानव) द्वन्द्व समाधानका उपायहरूको खोजीका लागि अहिलेदेखि नै काम गर्नु पर्ने सन्देशका रूपमा लिन सकिन्छ।’
२०१८ मा भएको गणनामा पोथीको संख्या कम देखिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा समेत योपटक पोथीको संख्या बढी भएको अभिलेख पाइएको छ। यसले बाघ पाइने सबै क्षेत्रमा वृद्धिको मार्ग सकारात्मक रहेको र भविष्यमा पनि त्यही क्रम जारी रहन सक्नेतर्फ संकेत गर्ने गणनामा खटिएका प्राविधिक तथा विज्ञहरूले बताएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख संरक्षण अधिकृत डा. बाबुराम लामिछानेले केही समयअघि एक लेखमार्फत् हालको संख्या वैज्ञानिक तरिकाले तथ्यांक राख्न थालिएयता हाल बाघको संख्या उच्च बनेको उल्लेख गरेका थिए।
उनले लेखेका छन्, ‘बाघ संरक्षण प्रयाससँगै विगतमा हुने गरेका बाघ तथा आहारा प्रजातिको चोरीशिकारमा नियन्त्रण भएको तथा समुदायले प्रतिशोधमा विष हालेर, पासो थापेर बाघ मार्ने काम कम हुँदै जाँदा संख्या बढेको हो। बाघको अप्राकृतिक मृत्यु रोकिएको र वासस्थान सुरक्षित गरिएको मात्र हो। बाघको संख्या बढाउन कुनै कृत्रिम तरिका अपनाइएको होइन।’
गणनामा समेत खटिएका डा. लामिछानेले उठान गरेजस्तै हाल बाघको संख्या वृद्धि प्राकृतिक रूपमा भइरहेको हो। प्रजननमा प्रमुख भूमिका निर्वाह गर्ने पोथीको संख्या बढी हुँदा प्राकृतिक रूपमा संख्या बढ्ने सम्भावना प्रवल रहेको विश्लेषण गरिएको छ।
कहाँ कस्तो छ अनुपात?
विश्वभर निकै कम संख्यामा रहेका पाटे बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता नेपालले २०१० मा भएको विश्व बाघ सम्मेलनमा गरेको थियो। सोअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुर्याउनुपर्ने थियो।
यद्यपि, हाल नेपालमा बाघको संख्या ३५५ रहेको अनुमान पछिल्लो गणनाबाट गरिएको छ। पहिले नै अनुमान गरिएको संख्यामध्ये गणनाको क्रममा सबै राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा ८० देखि ९० प्रतिशत बाघ क्यामराम ट्र्यापमा परेको गणनामा संलग्न बाघविज्ञ डा. कञ्चन थापाले जानकारी दिए।
२००९ मा १८ रहेको बाघको संख्या बर्दियामा हाल १२५ पुगेको छ। बाँकेमा २०१० मा राष्ट्रिय निकुञ्ज स्थापित भएपछि सन् २०१३ मा चारवटा बाघ गणना भएको हाल २५ पुगेको छ। यस्तै, पर्सा राष्ट्रिय निकुञ्जमा सन् २००९ मा चार थिए, अहिले ४१ पुगेको छन्। चितवनमा सन् २००९ मा ९१, हाल १२८ तथा शुक्लाफाँटामा २००९ मा ८ बाट हाल ३६ बाघ पुगेका छन्।
भाले र पोथीको अनुपात तुलना गर्दा यसअघि भालेको संख्या बढी देखिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा पनि हाल पोथीको संख्या बढी पाइएको छ।
पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र, बाँके राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा सन् २०१८ कै गणनामा पनि पोथीको संख्या तुलनात्मक रूपमा बढी थियो। हाल त्यसमा थप वृद्धि भएको छ।
पाँच वर्षको अवधिमा बढेका भालेको संख्या (क्यामरा ट्र्यापमा परेर पहिचान गर्न सकिएका) ४५ र पोथीको संख्या ६० थप भएको छ। २०१८ मा क्यामरा ट्र्यापमा परेका २०९ मध्ये ७८ भाले र ११८ पोथी बाघ थिए, १३ वयश्क बाघको लिंग पहिचान हुन सकेको थिएन। अहिले सो अनुपात वृद्धि भएको छ। क्यामरा ट्र्यापमा परेर पहिचान गर्न सकिएका ३१६ बाघमध्ये भालेको संख्या १२३ र पोथीको संख्या १७८ पुगेको हो। लिंग पहिचान गर्न नसकिएका वयश्क बाघको संख्या हाल १५ रहेको गणना प्रतिवेदनमा उल्लेख छ।
यसअघि ९ भाले र ६ पोथी पहिचान भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसपटक पोथीको संख्या बढेर १६ पुग्दा १२ भाले पहिचान भएका छन्। लिंगको अनुपातमा वृद्धिदरमा बर्दिया राष्ट्रिय निकुञ्ज अघि देखिएको छ। त्यहाँ हाल ४० भाले र ७४ पोथी बाघ पहिचान भएका छन्।
यस्तै, चितवनमा भाले-पोथीको अनुपात ४८-५७ हुँदा पर्सामा १४-१९ र बाँकेमा ९-१२ पुगेको छ। गणनाको क्रममा माउका साथमा रहेका डमरुहरू पर्याप्त मात्रामा देखिएको गणनामा प्रत्यक्ष रूपमा खटिएका विज्ञले जानकारी दिए। तर, ती डमरु आधिकारिक गणनामा समावेश गरिँदैन।
‘सबै डमरु बाँच्छन् भन्ने हुँदैन, त्यसले भावी संख्या स्पष्ट रूपमा भन्न सकिने अवस्था पनि हुँदैन’, डा. थापाले भने, ‘तर, देखिएका डमरुहरूका आधारमा प्रजनन् राम्रोसँग भइरहेको छ भन्ने देखिन्छ।’
चिवतन र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतले भने, ‘आशावादी हुने गरी माउसँग हिँड्दै गरेका बच्चाहरू देखिएका छन्। तर, त्यसले नै भावी संख्यालाई भने निर्देशित गर्दैन।’
यो वर्षको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा १७ सहित कुल ३५ डमरु देखिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०१८ को गणनामा क्यामरा ट्र्यापमा परेका डमरुको संख्या २८ थियो।
पोथीको अनुपात बढी हुनुको अर्थ के?

‘बढ्दो जनसंख्याका लागि तुलनात्मक रूपमा पोथीको संख्या बढी हुनु स्वस्थकर मान्ने गरिन्छ’, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालमा कार्यरत विशेषज्ञ डा. कञ्चन थापाले भने, ‘तर यो हाम्रो नियन्त्रणमा छैन। समय-समयमा यौन अनुपात परिवर्तन भइरहन्छ।’
डब्लुडब्लुएफ नेपालमा वन्यजन्तु कार्यक्रमको प्रमुखका रूपमा कार्यरत डा. थापाले बाघमा विद्यावारिधि गरेका हुन्। उनी २०२२ को बाघ गणनामा प्राविधिक समितिमा रहेर पनि काम गरेका थिए।
अहिलेको तथ्यांकअनुसार एउटा भालेसँग तीनवटा पोथी रहेको देखिने उनले बताए।
‘अहिले सबै बासस्थान क्षेत्रमा पोथी बढी देखिएका छन्। अर्थात् प्रजनन् संख्या छ, यसको अर्थ बढ्दो क्रमका लागि राम्रो हो भन्न सकिन्छ’, डा. थापाले भने, ‘बढ्नका लागि भाले पनि चाहिन्छ र अहिले त्यो अनुपात छ।’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका भाले-पोथीको अनुपातले भावी संख्यालाई निर्देशित गर्छ।
‘जहिले पनि भालेभन्दा पोथीको संख्या बढी हुनु सन्तुलित संख्या अर्थात बढ्दो क्रमको संकेत हो’, गणनामा स्थलगत संयोजकका रूपमा खटिएका आचार्यले भने, ‘असन्तुलित अवस्थामा भाले बढी हुन्छन्। एउटा भालेले दुई-तीन पोथी ओगट्ने प्रवृत्ति हुन्छ। भालेको संख्या बढी हुँदा पोथी वा सहवास र आफ्नो क्षेत्रका लागि पनि भीडन्त हुन सक्छ। त्यसले तनाव निम्त्याउन सक्छ।’
पोथीको संख्या बढी हुँदा सहवासका लागि प्रतिस्पर्धा कम हुने र बच्चा उत्पादन गर्ने पोथी भएकाले बढ्दो क्रमका लागि पोथीको संख्या बढी हुनु राम्रो रहेको उनको भनाइ छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वर्ष पहिलेको गणनामा तुलनात्मक रूपमा भालेको संख्या बढी पाउँदा संरक्षणकर्मी तथा विज्ञहरू संख्या वृद्धिमा असर पर्ने हो कि भन्ने डरमा थिए।
‘शुक्लाफाँटामा त्यो बेला संख्या तनावपूर्ण अवस्था थियो अर्थात् भालेको तुलनामा पोथीको संख्या कम थियो’, लगातार बाघसम्बन्धी अध्ययनमा खटिँदै आएका डा. थापाले भने, ‘हामीलाई संख्या बढ्न गाह्रो हुने हो कि भन्ने लागेको थियो। तर, अहिले यौन अनुपात राम्रो भएको छ, संख्या पनि बढेको छ।’
यौन अनुपातको परिवर्तन र त्यसको प्रभाव थाहा पाउनका लागि नियमित अनुगमनको खाँचो रहेको थापाले बताए। उनले भने, ‘हामीले अहिले पाँच-पाँच वर्षमा हेरिरहेका छौँ। तर, बर्सेनि हेर्न पायो भने थप यकिनका साथ ठम्याउन सकिन्छ।’
भावी चुनौती र व्यवस्थापनका उपाय
निर्धारित लक्ष्यभन्दा बढी संख्यामा बाघ हुनु र भाले-पोथीको अनुपात पनि सकारात्मक भएको अवस्थामा उत्साहसँगै व्यवस्थापनको चुनौती थपिने देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएकाे छ।
विभागका महानिर्देशक डा. महेश्वर ढकालका अनुसार हाल रहेका बाघलाई कायम राख्नु र पोथीको संख्या बढी हुँदा थपिने बाघका लागि आवश्यक आहारा तथा बासस्थानको उचित व्यवस्थापन गर्नु अबको मुख्य चुनौती हो।
‘त्यससँगै ठूलो समस्याका रूपमा रहेको मानव-बाघ द्वन्द्व न्यूनीकरण र भोलि संख्या बढ्दै जाँदा थपिने सो जोखिम कम गर्नका लागि अहिलेदेखि नै काम गर्नुपर्ने स्पष्ट सन्देश हालको तथ्यांकले दिएको छ’, महानिर्देशक ढकालले भने।
हाल ‘बाघभूमि’ का रूपमा परिचित भएको बर्दियामा २००९ मा १८ रहेको बाघको संख्या बर्दियामा हाल १२५ पुगेको छ।
‘स्थानीय समुदायसँगै हामी सबैमा उत्साह बढेको छ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णप्रसाद श्रेष्ठले भने, ‘सँगै मानव-बाघ द्वन्द्व समाधान चुनौतीपूर्ण पनि बनेको छ।’
कुल संख्या र पोथीको संख्या पनि सबैभन्दा बढी वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जले मानव-बाघ द्वन्द्व न्यूनीकरणलाई नै केन्द्रमा राखेर पाँच वर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको बाघ गणनामा स्थलगत संयोजकका रूपमा समेत भूमिका निर्वाह गरेका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए।
हालसम्म बाघले मानिसलाई गरेका आक्रमणहरू अधिकांश रूपमा जंगलमा नै र निउरिएको अवस्थामा भएको कुरालाई विश्लेषण गरेर रणनीतिक योजनामा सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिइएको र आउँदा दिनमा थप प्रयास गरिने उनले बताए।
‘द्वन्द्व समाधानको उपाय स्वरूप हामीले मानवीय व्यवहार परिवर्तनका लागि जंगल जाँदा के गर्ने भनेर बुझाउने काम गरिरहेका छौँ’, श्रेष्ठले भने, ‘जनावरको व्यवहार परिवर्तन गर्न सकिँदैन, मानिसको त सकिन्छ। त्यससँगै हामीले वनमाथिको निर्भरता सक्दो कम गर्नका लागि जीविकोपार्जनका वैकल्पिक उपायको खोजी र त्यसमा लगानीलाई पनि प्राथमिकता दिएका छौँ।’
पछिल्ला वर्षमा मानव-बाघ द्वन्द्वको केन्द्रका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र रहँदै आएको छ। तर, त्यसमा सुधार आउने क्रममा रहेको तथ्यांकले देखाउने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले दाबी गरे।
‘आर्थिक वर्ष २०७८-०७९ मा बाघको आक्रमणबाट चारजनाको मृत्यु भयो, जबकि आर्थिक वर्ष २०७७-७८ मा १३ जनाको ज्यान गएको थियो’, श्रेष्ठले भने, ‘हामी मानिसको ज्यानै जाने अवस्था नआसोस् भन्नेतर्फ सजगताका साथ काम गरिरहेका छौँ, अब त झन् संख्या बढेको र भविष्यमा पनि थपिने संकेत रहँदा प्रमुख चुनौतीका रूपमा द्वन्द्व समाधान नै छ।’

साढे तीन महिनाजति गर्भ अवधि हुने र माउले डेढ वर्षदेखि तीन वर्षसम्म डमरु (बच्चा) साथमा राख्ने गर्छ। पोथीको संख्या बढी हुँदा सहवासका लागि एउटै पोथीलाई पर्खिनुपर्ने अवस्था भालेलाई नहुने र अर्को पोथी गर्भिणी हुने सम्भावना रहन्छ। यसले संख्या लगातार बढ्ने र बासस्थान तथा आहारा प्रजातिमा चाप थपिन जान्छ। यो सम्भावित अवस्थालाई सम्बोधन गर्नका लागि आहारा प्रजातिको घनत्व तथा बासस्थानको पनि उचित व्यवस्थापन गर्ने चुनौती रहेको विभागका महानिर्देशक डा. ढकालले बताए।
अब बढ्ने संख्यालाई राष्ट्रिय निकुञ्जको भित्री क्षेत्रमा बासस्थान पुर्याउन चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए।
‘घाँसे मैदान र पानीको व्यवस्था गरेर उसका आहार प्रजाति मृगसहितको घनत्व बढाउनु पर्ने चुनौती छ’, उनले भने, ‘ विस्तृत अध्ययन गरी सो अनुसार योजना बनाएर काम गर्न स्रोत र जनशक्ति चाहिन्छ।’
चितवनमा आहारा प्रजातिको घनत्वअनुसार हाल बाघको संख्या बहन क्षमताअनुसार नै पाइएको छ। सन् २०१९ मा पर्सा-चितवन क्षेत्रमा बाघको बहान क्षमतासम्बन्धी अध्ययन भएको थियो।
हाल बाँके-बर्दियामा बहन क्षमतासम्बन्धी अध्ययन जारी छ।
‘तथ्यांक संकलन भएर त्यसको विश्लेषण र लेखनको काम भइरहेको छ’, विज्ञ डा. थापाले भने, ‘ शिकार प्रजातिमा आधारित भएर गरिएको सो अध्ययनले बाँके-बर्दियाले कति बाघ थेग्न सक्छ भन्ने मोटामोटी रूपमा बताउने छ।’
बाघको संख्या बढ्दै जाँदा बाघबीचमै पनि द्वन्द्वको अवस्था सिर्जना सक्ने भएकाले अबका दिनमा संख्यालाई राम्रोसँग हेर्नुपर्ने डा. थापाले बताए।
‘बाघको बढ्दो संख्या आफ्नो बासस्थान र प्रणालीमा कसरी समायोजन भइरहेको छ भन्ने हेर्न जरुरी छ’, उनले भने, ‘संख्यालाई नजिकबाट अनुगमन गरिरहनु पर्छ।’
अनुगमनले सम्भावित समस्याग्रस्त बाघको पहिचान दुर्घटना पहिले नै गर्न सकिने र त्यसका आधारमा पूर्वसूचना जारी गर्ने, सम्भावित समस्याग्रस्त बाघलाई समात्ने वा जोखिम क्षेत्रमा जान नदिनेसहितका उपाय अपनाउन सकिने विज्ञहरूले बताएका छन्।
‘यदि हामीले सम्भावित द्वन्द्व समाधानका लागि तत्काल नै काम सुरु गरेनौँ र समुदाय आक्रोशित हुने अवस्था आयो भने संरक्षणप्रति नै नकारात्मक भावना सिर्जना हुन सक्छ। त्यो हाम्रो चाहना होइन। त्यो अवस्था आयो भने लामो प्रयासबाट गरेको संरक्षण वा अहिलेको खुशी क्षणभरको हुन सक्छ वा क्षणमै विलय हुन सक्छ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक ढकालले बताए।