सुन्दरीजलमा फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा बेपत्ता किशोर मृत फेला

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन्।

शनिबार खोलामा खसेर बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार काठमाडौँको कपनका १६ वर्षीय शुभमश्री प्रधानको शव फेला परेको हो। उनी शनिबार साथीहरूसँग सुन्दरीजल घुम्न पुगेका थिए। मृत फेला परेका प्रधानसहित सात जना त्यहाँ घुम्‍न पुगेका थिए।

मृत फेला परेका प्रधान शनिबार अपराह्न सवा चार बजेतिर ढुंगामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा खसेका थिए। ‘चिप्लिएर खसेको ठाउँतिरै ढुंगाहरू बीचमा च्यापिएको अवस्थामा शव फेला परेको हो,’ एसपी मैनालीले भने।

प्रधानलाई खोज्‍न प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली, प्रहरीको सामाखुसीस्थित विपद् व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको थियो।

साउन ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्