मनोज पाण्डेविरुद्ध दर्ता भए मानव बेचबिखन र बाल यौन दुर्व्यवहारका दुई मुद्दा

Copy to clipboard
Copied!

काठमाडौँ- सौन्दर्य प्रतियोगिताका क्रममा सहभागी युवतीको शोषण र यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ ।

पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा दुईवटा मुद्दा दर्ता गराएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका छन्।

एक सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा आफूमाथि आयोजक पाण्डेले बलात्कार गरेको दाबी गर्दै एक महिलाले केही समय अघि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन्। ती महिलाले आफूमाथि भएको घटनाबारे आठ वर्षपछि मात्रै बोल्ने हिम्मत गरेकी थिइन्।

नेपालको कानुन अनुसार करणी भएको एक बर्षसम्मलाई हदम्याद तोकिएको छ। त्यस्तै नाबालिकाको हकमा भने १८ वर्ष पूरा भएको एक बर्षसम्म उजुरी दिन पाइने व्यवस्था छ।

ती युवतीको हकमा भने यी दुवै हदम्याद नाघिसेकाले न्याय नै नपाउने हुन् कि भन्ने प्रश्न समेत उठेको थियो।

यद्यपि अदालतको विभिन्न नजिरहरुलाई ध्यानमा राख्दै प्रहरीले पाण्डेलाई जेठ ७ गते काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो।

पक्राउ परेका पाण्डेलाई प्रहरीले पटकपटक म्याद थप गर्दै २५ दिन हिरासतमा राखेर अनुसन्धान पूरा गरेको छ। अनुसन्धानका क्रममा पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै अन्य केही महिलाहरुले समेत सामाजिक सञ्जाल मार्फत प्रहरीलाई सम्पर्क गरेका थिए। तीमध्ये एक नाबालिकाले भने प्रहरीमा उपस्थित भएर उजुरीसमेत दिएकी थिइन्।

सरकारी वकिलले भने पाण्डेसँग जोडिएका यी दुई छुट्टाछुट्टै घट्नालाई लिएर दुईवटा मुद्दा दर्ता गराएको पौडेलले बताएका छन्।

उनका अनुसार सौन्दर्य प्रतियोगिताको सक्सेस पार्टीको क्रममा बलत्कार भएको दाबी गरेकी महिलाविरुद्धको घट्नामा मानव बेचबिखन विरुद्धको मुद्दा र प्रहरी सम्पर्कमा आई उजुरी दिएकी नाबालिकाको हकमा बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको हो।

नेपालको कानुनअनुसार मानव बेचबिखन मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय हुने व्यवस्था छ।

सरकारी वकिलले दुईवटा मुद्दा दर्ता गराएसँगै पाण्डेविरुद्ध १५ देखि १८ बर्षसम्म कैद सजाय हुनसक्ने छ।

पाण्डेविरुद्धको मुद्दामा बिहीबार अदालतमा बयान हुने बताइएको छ। बयानपछि पाण्डेको मुद्दामा थुनछेक बहस सुरु हुन्छ ।

असार १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्