स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताको नाम लिएर ठगी, ‘पीडित’ पुगे मन्त्रालय

Copy to clipboard
Copied!

काठमाडौँ – स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको नाम लिएर अपरिचित व्यक्तिले आफूहरुलाई ठगी गरेको भन्दै दुई जना व्यक्ति स्वास्थ्य मन्त्रालय पुगेका छन्।

स्वास्थ्य मन्त्रालयबाट १२ जना व्यक्तिहरु विदेश जान लागेको र उनीहरुको सहायकको रुपमा विदेश पठाउने भन्दै १२ जनालाई मन्त्रालयका सहप्रवक्ताको नाम लिँदै फोन आएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार १२ जनाबाट जनही १ लाख २० हजार रुपैयाँका दरले उठाएको बुझिएको छ। मन्त्रालयमा आएका दुई जनाले आफूहरु जनही १ लाख २० हजार रुपैयाँका दरले ठगीएको बताएका हुन्।

यता मन्त्रालयका सहप्रवक्ता अधिकारी भने उक्त घट्नामा आफ्नो संलग्नता नभएको बताउँछन्।

‘मैले फोन गरेर बोलाएको छु रे भन्दै मानिसहरु मन्त्रालयमा आउनुभएको रहेछ। उहाँहरुले आफूहरुबाट रकमसमेत लिएको भन्नुभएको छ। हामीले बाँकी कुरा बुझ्न प्रहरीसँग सहकार्य गर्न भनेका छौँ,’ उनी भन्छन्, ‘मलाई त केही थाहा नै थिएन। मन्त्रालयले त्यसरी कसैलाई पठाउने भनेको पनि छैन।’

उनका अनुसार ठग्ने व्यक्तिको फोन आज बिहानैबाट लाग्न छाडेपछि ठगिएका व्यक्तिहरु मन्त्रालय पुगेका थिए।

यता प्रहरीलाई भने उक्त घटनाबारे कुनै आधिकारिक जानकारी नभएको प्रहरी स्रोतले जनाएको छ।

जेठ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्