आफू हारे पनि बालेनले जित्दा खुसी छु: सुमन सायमि (भिडियो)

Copy to clipboard
Copied!

काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमिले महानगरपालिकाको प्रमुखमा आफ्नै प्रतिस्पर्धी बालेन शाहले जित्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

आँखी झ्याल चुनाव चिह्न लिएर काठमाडौँको मेयर पदमा स्वतन्त्र उठेका सायमि आफूले हारेकोमा दुःख लाग्नुभन्दा पनि आफूजस्तै स्वतन्त्र उम्मेदवार शाहले जित्न लागेकोमा खुसी लागेको देश सञ्चारसँग प्रतिक्रिया दिएका छन्।

काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार बालेनले ५६ हजार हाराहारी भोट ल्याउँदा सायमिले १२ हजारभन्दा बढी पाएका छन्।

मेयर बन्न नपाए पनि अन्याय र भ्रष्टाचारविरुद्ध लडिरहने तथा उपत्यकाको सम्पदा संरक्षणमा निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाए।

राजनीतिमा दलीय प्रतिनिधि, नीति र प्रवृत्ति देखेर वाक्क भएका उनी बालेनले भने आफ्ना एजेन्डामा केन्द्रित भएर काम गरिदिनेमा विश्वस्त छन्।

जनमतले मागेको अवस्थामा दल दर्ता गर्ने सोचमा रहेका सायमिले आगामी संसदीय चुनावमा पनि लड्ने तयारी गरेका छन्।

उपत्यकाको विकास, सम्पदा संरक्षण, संविधानले सुनिश्चित गरेको हक अधिकार कार्यान्वयनलगायत विकास र परिवर्तनको मुद्दालाई केन्द्रमा राखेर हिँडेका सायमिसँग ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः–

० काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा आइपुग्दा तपाईंले पाउनुभएको मतमा चित्त बुझेको छ?

– मलाई प्राप्त भएको मतसँग सन्तुष्ट छु। राजनीतिक परिवर्तनका लागि हिँडेको थिएँ, काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्दै हुनुुहन्छ। उहाँ पनि राजनीतिक परिवर्तनकै लागि हिँड्दै गरेको भएर उहाँले जित्नु पनि खुसीको कुरा हो।

मैले कर्म गरेअनुसार मत पाएको छु खुसी लागेको छ। १५ देखि २० हजार मत ल्याउने अपेक्षा थियो। त्यही हाराहारी मत आउँछ होला पूरै मतपरिणाम आउँदासम्म। म आफैँ काठमाडौँको मेयर हुनुपर्छ भन्दा पनि स्वतन्त्र व्यक्ति आउनुपर्छ भन्ने मेरो चाहना थियो। सोहीअनुसार बालेन काठमाडौँको मेयर बन्दै हुनुहुन्छ। स्वतन्त्र उम्मेदवार मेयर बन्दा हाम्रो जग बलियो बन्दै जानेमा विश्वस्त छु।

० दलीय राजनीति र उम्मेदवार देखेर निरास हुनुहुन्थ्यो, बालेनले जित्दै गर्दा कस्तो अनुभूति हुँदै छ?

– दलीय राजनीतिक संस्कार र प्रवृत्तिदेखि वाक्क भइरहेका बेला स्वतन्त्र उम्मेदवारले जित्दा खुसी लागेको छ। दलीय प्रतिनिधिले शासन गरेको अवस्थामा संविधानले सुनिश्चित गरेको आवासको हक, सम्पत्तिको हकलगायतबाट समेत वञ्चित हुनुपरेको थियो। त्यसले दलीय पद्धतिमै वितृष्णा जागेको थियो। यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारले जित्दै गर्दा आशा बढेको छ।

दलीय शासनको प्रवृत्ति र नीति ठीक भएन भनेर मैले आन्दोलन पनि गर्दै आएको छु।

० बालेन तपाईंको प्रतिस्पर्धी, उनले जित्दा यति धेरै खुसी हुनुपर्ने कारण के छ ?

– म बालेनलाई प्रतिस्पर्धी मान्दिनँ। लोकतन्त्रमा सबैलाई चुनाव लड्ने अधिकार हुन्छ। म कर्ममा विश्वास गर्छु। जति कर्म गर्यो उति धेरै उपलब्धि हुन्छ भन्नेमा म विश्वास गर्छु। मैले योभन्दा धेरै कर्म गरेको भए, धेरै अघिदेखि चुनावको प्रचार प्रसार र तयारी गरेको भए बालेनभन्दा पनि अगाडि हुन सक्थेँ होला। तर मेरो तयारी थिएन।

० स्थानीय तह निर्वाचनका लागि बालेनसँग पनि सहकार्य गर्न जानुभएको थियो, उनीसँग कुन एजेन्डामा सहमति नभएर तपाईं पनि मेयरमा उठ्नुभयो?

– चुनाव प्रचारका लागि म थोरै समय बाँकी छँदा मात्रै मैदानमा आएको हुँ। मलाई मेरा साथीहरूले स्वतन्त्र उम्मेदवार बालेन शाहसँग एजेन्डा मिल्ने भए सहकार्य गर्न सुझाव दिएका थिए। सोहीअनुसार म बालेनसँग भेट्न गएको थिएँ। जुन परिवर्तनका लागि दौडिएका छौँ, हाम्रो एजेन्डा एउटै छ, उद्देश्य एउटै छ भने किन एक नहुने भन्ने पनि लागेको थियो तर दुवै जना आ–आफ्नो अस्तित्वको कारण एक हुन सकेनौँ। म पनि मेरो समूहबाट अनुमोदित भएर आएको व्यक्ति। पीडितको आवाजमा अनुमोदन भएर निस्किएको छु। मैले आफ्नो अस्तित्वलाई समाप्त पार्ने अवस्था थिएन। बालेनसँग उद्देश्य र विचार मिल्यो भने अन्य निर्वाचनमा सहकार्य गरौँला भन्ने सोचेर अहिले म एक्लै चुनाव लडेँ।

० तपाईंको रोजाइको चुनाव चिह्न आँखी झ्यालले सम्पदा संरक्षणको अर्थ राख्छ, बालेनको प्रमुख एजेन्डा पनि यही हो? सहकार्य गर्न कुन कुराले रोक्यो?

– काठमाडौँ महानगरपालिमा भौगोलिक राजनीतिक हिसाबले हेर्ने हो भने चार वटा एजेन्डा नउठाई हुँदैन। ती हुन्– मौलिकता, सहअस्तित्व सम्मान, वातावरण सन्तुलन र आत्मनिर्भर। काठमाडौँ कला, साहित्य र सम्पदाले भरिएको नेवाः सभ्यताको सहर हो। यसैको माध्यमबाट काठमाडौँ सहर संसार चिनाउन सकिन्छ। काठमाडौँ उपत्यकालाई खुला संग्रहालय पनि भनिन्छ। साना विषय व्यवस्थापन गरे पुग्ने भए पनि ठूला योजना सुनाइन्छ तर काम हुँदैन।

स्वतन्त्र उम्मेदवारले काम गर्छन् भन्ने विश्वास छ। बालेनसँग सहकार्य नगरे पनि उहाँले महानगरवासीका एजेन्डा सम्बोधन गर्नुहुन्छ भन्ने अपेक्षा छ।

० तपाईं काठमाडौँमा नेवार समुदायको व्यक्ति हुँदाहुँदै उपत्यकाबाहिरको पृष्ठभूमि भएका बालेनले नेतृत्व लिँदै छन्। उपत्यकामा तपाईंलाई धेरै अपनत्व महसुस हुन्थ्यो होला, बालेनको जितलाई कुन अर्थमा लिनुभएको छ?

– म काठमाडौँको भएर मात्रै अपनत्व लिनुपर्छ भन्ने छैन। यसको पहिचानलाई जोगाउन हरेक नागरिकको दायित्व हो। जनताले स्वीकार गरेको बालेन शाहलाई मैले पनि राम्रो भन्नुपर्छ।

० तपाईंको कुरा गरौँ, चुनावमा धेरै प्रचार गर्नुभएन, चुनाव चिह्न पाइसकेपछि मात्रै १०÷१५ दिन प्रचार गरेको भरमा १२ हजार हाराहारी भोट आएको छ, कहाँका स्थानीयको मत पाउनुभयो तपाईंले?

– मैले भोट मागेका स्थानबाट भोट आएजस्तो लाग्छ। मैले धेरै प्रचार गरिनँ। सञ्चार माध्यमले पनि मलाई खोजेनन्। तर मैले पाएको भोटसँग सन्तुष्ट छु।

० अन्त्यमा, तपाईंको आगामी योजना के छन् ?

– काठमाडौँ महानगरपालिकाको मेयर बन्न नपाए पनि अन्यायविरुद्ध आवाज उठाइरहन्छु। आगामी संसदीय चुनावको तयारी गर्छु। जनमतले दल दर्ता गर्न भन्यो भने दर्ता गर्छु।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्