शेखर समूहलाई महतको आग्रह–टिकट नपाउने डरले बिद्रोही नबन्नुस् (भिडियो)

काठमाडौँ – आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको लागि दलहरुबीच सिट बाँटफाँड असहज देखिएको छ। पाँच दलीय सत्ता गठबन्धन कार्यदल नै बनाएर यसको गृहकार्यमा लागेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आन्तरिक तयारी गरिरहेको छ। एमालेसँग सत्ता बाहिर रहेका साना दलहरुहरुले चुनावी एकताको लागि पहल गरेका छन्।

एमालेले पार्टीभित्र चुनावबारे आन्तरिक छलफल गर्दै अन्य दललाई पनि समाहित गर्ने तयारी गरेको छ। पाँच दलीय सत्ता गठबन्धनमा पनि अन्य साना दलहरु जोडिन खोजेका छन्।

टिकट बाँडफाँडका प्राथमिकता, शीर्ष नेता व्यवस्थापन, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्रको आन्तरिक सकसलगायत विषयमा देश सञ्चारकी ईश्वरी बरालले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतसँग गरेको कुराकानीको सम्पादित अंश।

चुनाव नजिकिदै गर्दा पार्टीमा केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ,चुनावमा खटिने कार्यकर्ता बढ्छन् भनेर हो?

पार्टी सभापतिले पार्टीमा बाँकी केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो। केहि दिन अघि एक तिहाई महिला मध्येकै बाँकी सदस्य मनोनित गरिएको हो। विधानको व्यवस्थालाई कार्यन्वयन गर्नको लागि सभापतिले १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो।

निर्वाचनको लागि सिट बाँडफाँड असहज बनेको छ,गठबन्धनभित्र कांग्रेसले कति सिट पाउने गरी कसरत भइरहेको छ?

अहिले नै यति सिट भन्ने छैन। छलफल चलिरहेको छ, गठबन्धनभित्र हुँदै गरेको गम्भीर छलफलले आधार तय गर्नेछ साथै एउटा तस्बीर पनि बन्छ। कार्यदलमा छलफल भएपछि गठबन्धनले निकालेको निष्कर्षको आधारमा मात्रै कांग्रेसले कति सिट पाउँछ भन्न सकिन्छ।
कांग्रेसले १६५ सिटमध्ये गठबन्धभित्र ९७ सिट पाउने गरी छलफल अगाडी बढको हो ?

अब ठ्याक्कै यतिमा अड्कीएको छ भन्ने हैन। सिटलाई मात्रै प्राथमिकतामा राखियो भने गठबन्धनले जित्ने संभावना हुँदैन। सिट भन्दा सत्ता गठबन्धनको जित मुख्य हो। यसैलाई केन्द्रमा राखेर सिट बाँडफाँड गर्नुपर्छ। सिट सँख्या कति पाउने भन्दा पनि परिणाम कति आउँछ भन्ने कुरा यर्थाथपरक धरातलमा अड्किएको छ।

सिट बाँडफाँडको आधार र शुत्र के के हुन्?शीर्ष नेता व्यवस्थापनमा कस्ता चुनौति छन्?

शीर्ष नेता व्यवस्थापन धेरै चुनौतिपूर्ण छैन। सत्ता गठबन्धनभित्रका शीर्ष नेताहरुको कुनै कुनै स्थानमा निर्वाचन क्षेत्र जुधेको छ। त्यस्तो अवस्थामा नेताहरु व्याक हट्नुपर्ने हुन्छ। उहाँहरु यतिकै नेता बन्नुभएको हैन। तर्सथ उहाँहरुले कहाँ व्याक हट्नुपर्छ बुझ्नुहुन्छ। दलैपिच्छे आ–आफ्नो अडान हुँदा अप्ठेरो पर्छ।

कांग्रेस पार्टीभित्रको प्रतिपक्षी नेता शेखर कोइराला समूहको असन्तुष्टिहरुको सभापतिले किन सम्बोधन नगरिदिनुभएको हो?

हरेक पार्टीको निर्णय सहमतिको आधारमा हुनुपर्छ। पार्टी सभापतिले सकेसम्म सबैको चित्त बुझाउने गरी काम गर्नुभएको छ। सभापति माथि शंका मान्नुपर्ने आवश्यकता छैन। पार्टीले जितोस् , बढिभन्दा बढि पार्टीले जित्नुपर्छ। शेखर समूहले ४० प्रतिशत सिट दाबी गरेको छ भन्ने जहाँसम्म प्रतिशतको कुरा छ, यो प्रतिशत भन्ने नै खराव चिज हो। काम गरेको आधारमा, जनाधार राम्रो भएको आधारमा सिट बितरण हुने हो, समूह हेर्ने हैन। त्यसको हिसाव किताब पछि गर्दै गरौँला।

नेता शेखर समूहले पार्टीभित्र दाबी गरेजति सिट पाउन सकिएन भने प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेर जाने सम्मको आन्तरिक तयारी गरेको छ,जान दिनुहुन्छ?

यो अफवाहा मात्रै हो। बिद्रोहलाई प्रोत्साहित गर्नु आत्मघाती हुन्छ। गठबन्धन हुने भएकाले कांग्रेसले थोरै उम्मेदवारी दिनुपर्ने हुन्छ। उम्मेदवारी दिनु ठूलो कुरा हैन तर दिएका सबै स्थानमा जित्नु ठूलो हो। टिकट नपाउँदैमा बिद्रोही हुनुहुदैन।

चुनावपछि पनि कांग्रेस माओवादी मिलेर सरकार चलाउने सहमति भएको हो? प्रधानमन्त्री पहिले नै तय हुन्छ कि पछि?

अहिले प्रधानमन्त्रीको बिषयमा केहि पनि निर्णय भएको छैन, पहिला गठबन्धनका दलका पक्षमा बढि भन्दा बढि मत आयोस् भन्ने छ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्