काठमाडौँ महानगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार रिङ्कु श्रेष्ठसँगको अन्तर्वार्ता

‘काठमाडौँबासीले चाहेकोजस्तै काठमाडौँ बनाएर देखाउँछौँ’ (भिडियो)

Copy to clipboard
Copied!

काठमाडौँ – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन नजिकिएसँगै यतिबेला जनप्रतिनिधिहरु भोट माग्नमा व्यस्त छन्। कोही पार्टीबाट भोट माग्न व्यस्त छन् त कोही स्वतन्त्र रुपमा भोट मागिरहेका छन्।

स्वतन्त्रतर्फका उम्मेदवारहरु भने विगत ३० वर्षसम्म पार्टीका मान्छेलाई काठमाडौँ बनाउन मौका दिए पनि केही नगरेकाले यसपटक आफूहरुले उम्मेदवारी दिएको बताउने गरेका छन्।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्रतर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएकी रिङ्कु श्रेष्ठको धारणा पनि यस्तै छ। विगत ३० वर्षसम्म पार्टीका व्यक्तिहरुलाई काठमाडौँ महानगरपालिका बनाउने जिम्मा दिए पनि केही नगरेको उनी बताउँछिन्।

‘काठमाडौँ महानगरपालिकालाई केही राम्रो बनाउनुहुन्छ कि भनेर हामीले ३० वर्षसम्म बाटो हेर्‍यौँ तर उहाँहरुले केही गर्नु भएन,’ उनी भन्छिन्, ‘पार्टीबाट उठ्नेहरुले काठमाडौँ महानगरपालिकालाई काठमाडौँबासीले सोचेजस्तै बनाइदिएको भए हामीले उम्मेदवारी दिनुपर्ने थिएन।’

पार्टीबाट जित्ने प्रतिनिधिहरुमा विभिन्न अवरोध हुने भएकाले पनि काम गर्न नसकेको स्थानीयको बुझाइ रहेको उनी बताउँछिन्।

‘पार्टीबाट जित्नेहरुले यो ३० वर्षमा हामीले गरेको कामबाट तपाईंहरु सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भनेर कहिले पनि सोध्नु भएन। समस्याहरु के कस्ता छन् कहिले पनि बुझ्ने प्रयास गर्नु भएन,’ उनी भन्छिन्, ‘समस्या छ भनेर बसेर मात्र हुँदैन नि त। समस्या समाधान पनि त हुन्छ। त्यो पनि त विचार गर्नुपर्‍यो। समस्या छ भनेर चुप बसेर मात्र हुँदैन नि!’

‘दलबाट जित्नेहरुलाई पार्टीको नियममा बस्नुपर्ने हुन्छ। कुनै काम गर्न पनि थुप्रै स्टेपहरु पार गर्नुपर्ने बाध्यता हुन्छ, त्यसैले पनि उहाँहरुले सोचेजति काम गर्न सक्नुहुन्न,’ उनी भन्छिन्, ‘स्वतन्त्रबाट जित्ने जनप्रतिनिधिहरुलाई दलको कुनै अवरोध हुँदैन। पार्टीको नियममा बस्नु पर्दैन, त्यसैले काम गर्न सजिलो हुन्छ। हामीले सोचेजति काम गर्न पनि सक्छौँ। त्यसैले पनि यसपालीको चुनावमा काठमाडौँबासीले स्वतन्त्रतर्फका उम्मेदवारलाई एक पटक मौका दिनुपर्छ भन्न थालिसक्नुभएको छ।’

घरदैलो कार्यक्रमका बेला काठमाडौँबासीले कस्तो प्रतिनिधि र कस्तो काठमाडौँ चाहन्छन् भन्ने कुरा नजिकबाट बुझ्न पाएको उनी बताउँछिन्।

काठमाडौँ महानगरपालिकामा जति पनि उम्मेदवार छन्, प्रायः सबैको प्रतिवद्धता पत्र उस्तै–उस्तै जस्तो देखिन्छ। यस्तोमा नगरवासीले तपाइलाई नै किन रोज्ने? भन्ने प्रश्नमा श्रेष्ठ भन्छिन्, ‘काठमाडौँमा जुन–जुन समस्याहरु छन्, हामीले तिनै समस्याहरुलाई समाधान गर्ने हो। हामीले गर्न नसक्ने कामहरु गर्छौं भनेका छैनौँ र अर्को कुरा हामीले नगरवासीले कस्तो सहर चाहन्छन् भन्ने कुरालाई ध्यानमा राखेर प्रतिवद्धता पत्र तयार गरेका छौँ।’

श्रेष्ठले थप्दै भनिन्, ‘मैलै जितेँ भने काम गरेर देखाउँछु। काठमाडौँबासीले सोचेजस्तै सहर बनाएर देखाउछौँ।’

श्रेष्ठ एक स्वास्थ्यकर्मी हुन्। उनले स्वास्थ्य क्षेत्रमा करिब २५ वर्ष सेवा गरिसकेकी छन्। उनी आफू स्वस्थ्यकर्मी हुँदादेखि नै जेष्ठ नागरिकहरुलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्छ भन्ने कुरामा विशेष जोड दिँदै आएकी छन्। जेष्ठ नागरिकले मात्र नभइ सबैले झन्झटरहित वातावरणमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यता उनी राख्छिन्।

‘स्वास्थ्य सेवा उपलब्ध गराउँदा जेष्ठ नागरिकहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्‍यो। हामी युवाहरु त जसरी ठेलाठेल गरेर भए पनि सेवा लिन सक्छौँ तर जेष्ठ नागरिकहरुले सक्नुहुन्न, त्यो व्यवस्था हामी मिलाउँछौँ,’ श्रेष्ठ भन्छिन्, ‘जेष्ठ नागरिकलाई मात्र होइन, अन्य व्यक्तिहरुले समेत सजिलै रुपमा स्वास्थ्य सेवा लिन पाउने व्यवस्था हामी मिलाउँछौँ। किनकि हामीसँग त्यो अनुभव पनि छ।’

जेष्ठ नागरिकको लागि १०० वेडको निःशुल्क स्वास्थ्य उपचारको लागि अस्पताल खोल्ने उनी बताउँछिन्।

आफू काठमाडौँको स्थानीय बासीन्दा भएकाले पनि काठमाडौँमा परिवर्तन गर्न जरुरी रहेका कुराहरुबारे जानकार रहेको उनी बताउँछिन्। आफूले देखेको काठमाडौँ हिजोभन्दा आज र आजभन्दा भोलि बिग्रदै गएकाले अब अझै नबिग्रियोस् भन्नको लागि पनि आफूले उम्मेदवारी दिएको उनी बताउँछिन्।

आफूहरुले जितेमा काठमाडौँलाई स्वच्छ हावा लिन सकिने, धुँवाधुलोरहित र हरियाली सहर बनाउने उनी बताउँछिन्। ‘काठमाडौँ महानगरपालिकामा एक लाख बोटविरुवा रोप्ने हामीले सोचेका छौँ। तिनीहरुलाई पनि डेकुरेटिभ वेमा होइन, त्यसमा पनि अक्सिजन धेरै दिने किसिमका बोटविरुवा, विभिन्न किसिमका जडिबुटीका बोटविरुवा रोप्ने सोचेका छौँ।’

प्रतिवद्धता पत्रमा समेटिएका कामहरु मात्र नभइ त्योभन्दा धेरै आफ्नो पाँच वर्षे कार्यकालमा गरेर देखाउने उनी बताउँछिन्। उम्मेदवारी दिनको लागि मात्र आफू नउठेको बताउँदै उनी भन्छिन्, ‘यतिकै उम्मेदवारीको नाममा उम्मेदवारी दिनको लागि चाहिँ हामी लागेको होइनौँ।’

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्