स्वास्थ्य

पिनासबाट कसरी बच्ने ?

Copy to clipboard
Copied!

काठमाडौँ – पिनास नाकको भित्र दाँयाबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । पिनास वातावरणीय प्रदूषण, धुलो, धुवाँको कारणले पनि हुन्छ ।

नेपालका अन्य ठाउँमा भन्दा काठमाडौँ उपत्यकामा पिनासको समस्या जटिल बन्दै गइरहेको चिकित्सकहरु बताउँछन् । वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्रा. डा. ढुण्डीराज पौडेलका अनुसार टाउको र अनुहारका केही हाडमा हावा भरिएका सानासाना कोठा हुन्छन् ।

जसलाई प्यारानेजल साइनस भनिन्छ । यिनको संख्या लगभग ५० वटासम्म हुन्छन् । यी कोठामा श्वासप्रश्वास प्रक्रियामा हामीले लिएको हावालाई तातो र आद्र बनाउने कामका अतिरिक्त इन्फेक्सनबाट बचाउने काम हुन्छ ।

यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन् ।

हामीले श्वास लिँदा यी साइनस खाली हुन्छन् भने श्वास फ्याँक्दा भरिन्छन् । यी साइनसलाई पातलो झिल्लीले ढाकेको हुन्छ, जसले म्युकस उत्पादन गर्दछ । यसैलाई हामी सिँगान भन्ने गरिन्छ । यसरी उत्पन्न भएको म्युकस नेजल क्यामिटी हुँदै बाहिर निस्कन्छ ।

यी साइनसमा समस्या तब हुन्छ जब कुनै पनि कारणले साइनसको सिँगान बन्ने र बाहिर आउने प्रक्रियामा गड्बढ भई सिँगान धेरै आउने वा त्यहीँ उत्पन्न भएको सिँगान राम्ररी बाहिर आउन नसक्ने हुन्छ ।

सिँगान धेरै बग्ने अवस्थालाई हामी सामान्यतया रुघा लागेको भन्ने गछौँ । सिँगान राम्ररी नखुल्ने या बेलाबेलामा धेरै फोहोरसहित खुल्ने अवस्थालाई पिनास भन्छौं । यी अवस्थाहरू विविध कारणले उत्पन्न हुन्छन् ।

जस्तैः वातावरणीय प्रदुषण, धुलो, धुवाँ भएको चिसो ठाउँमा, कुपोषणले ग्रसित र रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति प्रायः पिनासबाट पीडित भएको पाइन्छ ।

त्यस्तै जन्मजात नाकका प्वालहरू सामान्य नभएका व्यक्तिहरूलाई पनि यो समस्या बारम्बार भइरहन्छ । नाकको संक्रमणबाट जीवाणु साइनसमा पुगेर पनि पिनास हुन्छ र पिनास भएपछि इन्फेक्सन हुने संम्भावना हुन्छ ।

दाँतको संक्रमणबाट, नाकको ट्युमर, बाह्य पदार्थको प्रवेश, एलर्जी साइनसमा चोटपटक लाग्नु आदि कारणले पनि पिनास हुन्छ । समान्यतया रूखाखोकी लागेपछि, फोहोरपानीमा पौडी खेलेपछि, दाँतका गिजा पाकेपछि र नाकको एलर्र्जी पछि पिनास भएको पाइन्छ ।

पिनासको लक्षण


ज्वरो आउने

जाडो हुने

दाँत र आँखाको माथि दुख्ने

नाक बन्द हुने वा बेलाबेला बाक्लो सिँगान बग्ने

कहिलेकाहिँ रगत वा पीपसहित सिँगान आउने

नाक सुक्खा हुने

नाकबाट दुर्गन्ध आउने

गन्धज्ञान नहुने

बोली तथा दृष्टि प्रभावित हुने

झट्ट हेर्दा पिनास साधारण रोग जस्तो देखिएता पनि बेलैमा सही उपचार नभएमा यसबाट विभिन्न जटिलताहरू आउँछन् ।

साइनसबाट संक्रमण दिमागमा गई ब्रेन एबसेस, मेनिन्जाइटिस, इन्सेफलाइटिस, म्युकोपोलिसिल, आर्विटल कम्लिकेसन हुन्छन । समयमै उचित उपचार भएमा रोगीलाई यी कम्प्लिकेसन हुन पाउँदैन ।

रोगथामका उपाय


चिसोबाट बच्ने, संक्रमित रोगीबाट टाढा रहने, फोहोर हातले नाक नकोट्याउने, धेरै तातो र आद्र वातावरणमा धेरै समय नबस्ने, एलर्जी हुने तत्व, धूलो, धुवाँ आदिबाट बच्ने, धुम्रपान तथा मद्यपान नगर्ने आदि उपायहरू अपनाउँदा पिनासबाट केही हदसम्म बच्न सकिन्छ ।

कपालभाती, भस्त्रिका, नाडी शोधन आदि प्राणाम दैनिक रूपमा गर्नु पिनासको उपचार र रोकथाम सहयोग पुग्छ ।

पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरूअनेक हुन सक्छन् । परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई एलर्जी हुनसक्छ ।

दुषित वायुमा जस्तै धुवा धुलो धुम्रपान, आद्र वायुबाट जोगिनु पर्छ । भिटामिन र प्रटिनयुक्त खाने खानेकुरा प्रस्सत खाने गर्नुपर्छ ।

यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन् ।

साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन् ।

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्