रारा-कर्णाली पर्यटन बर्ष २०७५

पर्यटक पूर्वाधार नभएको स्वर्गजस्तो कर्णाली!

डोल्पाको शे–फोक्सुण्डो ताल।
Copy to clipboard
Copied!

सुर्खेत– सफा, शान्त र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा। झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का हरियो। शे–फोक्सुण्डो तालको यही सुरम्य विशेषताले पर्यटक लोभ्याउँछ। कर्णाली प्रदेशको डोल्पामा रहेको नेपालकै ठुलो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रहेको शे–फोक्सुण्डो ताल केहि वर्षयता पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

तर अझैं पनि पर्यटकलाई शे–फोक्सुण्डोसम्म पुग्न भने सहज छैन। समुद्रीय सतहबाट तीन हजार ९ सय ९० मिटर उचाईमा रहेको शे-फोक्सुण्डो पुग्न डोल्पा सदरमुकाम दुनै देखि नै दुई दिन लाग्छ। डोल्पामा शे-फोक्सुण्डो बाहेक दर्जन बढी पर्यटकीय आकर्षणका सम्पदाहरु छन्। तर, ती सबै पर्यटकीय स्थलहरु पूर्वाधार निर्माणको पखाईमा छन्। ‘सडक सञ्जाल नभएकाले पैदल, घोडा, खच्चड कै यात्रा गर्नुपर्छ’ ठूलीभेरी नगरपालिका–७ जुफालका जीवन शाही भन्छन्, ‘सरकारको नजर नपर्दा डोल्पामा पर्यटनको प्रयाप्त सम्भावना हुँदा पनि प्रचारप्रसार हुन् सकेको छैन।’

मुगुको रारा ताल।

डोल्पा सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन तीन किलोमिटर बाँकी छ। डोल्पासम्म पुग्न हवाई सेवाकै भर पर्नुपर्ने समस्या नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोर सम्पन्न भएपछि समाधान हुनेछ। डोल्पाबाट उत्तरी मारिन्ला नाका जोडिन २५ किलोमिटर सडक निर्माण गर्नुपर्छ। शाही भन्छन्,‘डोल्पामा हेर्न, घुम्नलायकका थुप्रै ठाउँ छन् । तर, सम्पदा पूर्वाधारको पर्खाइमा छन्। यसतर्फ संघ, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ।’  पर्यटकीय स्थलसम्म सडक सञ्जाल नपुगे पनि बार्षिक रुपमा करिव दश हजार पर्यटकहरु डोल्पा पुग्ने गरेको सरकारी तथ्यांक छ।

जाजरकोट दरवार।

यस्तै कर्णाली प्रदेशकै ऐतिहासिक जाजरकोट दरबार संरक्षण अभावले जीर्ण बनेको छ। नेपाल एकीकरणसँग इतिहास जोडिएको जाजरकोट दरबार वि.सं. १९९० सालमा आएको भूकम्पले भत्किएको थियो । भूकम्पपछि तीन तलामा सिमित भएको दरवारको संरक्षण नहुँदा थप जीर्ण बन्दै गएको हो। ‘दरवारमा राखिएका तीन वटा मुर्तीहरुमध्ये हनुमानको मुर्ती द्वन्द्वकालमा हरायो’ जाजरकोटका पत्रकार जनक केसीले भने,‘दरवारमा हाल दुई वटा मात्रै मुर्ती छन्। भूकम्पपछि दरवार लथालिंग र जीर्ण छ।’ पुरातत्व विभागमा दर्ता भएको उक्त दरवार संरक्षणका लागि जिल्ला प्रशासनले विस्तृत परियोजना प्रतिवेदन ‘डिपीआर’ तयार पारेको छ। शाहकालको इतिहास जोडिएको दरबारको पूनःनिर्माणका लागि २७ करोड लाग्ने अनुमान गरिएको उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा रोकिएको छ।

दैलेखको भुर्तीस्थित रहेका पञ्चदेवल।

डोल्पाको से–फोक्सुण्डो र जाजरकोट दरवारको बाहेक कर्णालीका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पर्यटकीय सम्पदा लगानी, संरक्षण र प्रचारप्रसार पर्खी बसेका छन्। १० जिल्लाहरु समेटेर बनेको कर्णाली प्रदेश धार्मिक, सामाजिक, भाषा, साहित्य, साँस्कृतिक, प्राकृतिक हिसाबले मात्र नभई ऐतिहासिक रुपमा पनि निकै धनी छ। तर, यस क्षेत्रका पर्यटकीय सम्पदामा पूर्वाधार नहुँदा आझेलमा छन्। प्रचार प्रसार नहुँदा सम्पदाबाट  राज्य लाभ लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन्।

सुर्खेतमा काँक्रेविहार, गढी, देउती बज्यै, बुलबुले ताल, चमेरी गुफा, बराहताल र घण्टाघर लगायतका पर्यटकीय स्थल छन्। बाइसे/चौबिसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार, इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ, भूर्तिका पञ्चदेवल, दुल्लुको कीर्ति खम्बा दैलेखका पर्यटकीय सम्पदाहरु हुन्। श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटीला पञ्चतिर्थस्थल पनि दैलेखमै पर्छन्।

कालीदेवीको मन्दिर (माडु), पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा, रुरु बञ्च पाटन, मालिका, पन्ध्र दह, कालिकोटमा छन्। काञ्जिरोवा, पातारासी, वाक्की हिमाल, पञ्च देवल, तातोपानी, पाण्डु गुफा, विराज दरवार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर पर्यटकका लागि प्रमुख गन्तव्य जुम्लामा छन्।

झण्डै दुई सय ५० को हिमताल, उतरी नाम्खा गाउँपालिकाका केही भेगमा पर्यटक लोभ्याउने सुन्दर हिमाल र हिमतालहरु, च्याँ छहरा, बौद्ध धर्मालाम्बीहरुको पवित्र ठुलाठुला गुम्बा नै हुम्लाका पर्यटकीय स्थलहरु हुन्। यस्तै, कुपिण्डे दह, छाँयाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर, खैराबाङ भुवनेश्वरी मन्दिर, बाइसे र चौविसे राज्य भएको बेला निर्माण गरिएको फलाबाङ दरबार सल्यानका पर्यटकीय स्थलहरु हुन्।

यीनै सम्पदाहरुको संरक्षण गर्दै उपयोग गर्न सक्ने हो भने सबैभन्दा धेरै नागरिक गरिब रहेको कर्णाली केही वर्षभित्रै समृद्ध बन्न सक्ने बताउँछन् उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही। उनले यो प्रदेशलाई समृद्ध पार्ने प्रमुख आधार नै पर्यटन भएको बताए। पर्यटक आकर्षित गर्न सक्ने न्युनतम पूर्वाधार नभएसम्म जतिसुकै राम्रा पर्यटकीय गन्तव्य भएपनि त्यसबाट लाभ लिन नसकिने उनको भनाई छ।

सुर्खेतको निर्माणाधिन काँक्रेविहार मन्दिर।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला सडक निर्माण, पूर्वाधार विकास र पर्यटकीय सम्पदाहरुको प्रचार प्रसारका लागि सरकारले प्याकेजमा बजेट विनियोजन गर्ने बताउँछन्। प्रदेशका पर्यटकीय सम्भावनालाई मध्यनजर गरी सरकारले कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेको भन्दै वातावरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले पर्यटकीय क्षेत्रसम्म आवश्यक पुर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा पर्ने बताए।

सल्यानको कुपिण्डे दह।

पर्यटकीय स्थलसम्म सहज रुपमा पुग्न नसकिने भएपनि कर्णााली प्रदेश सरकारले आगामी वर्षलाई पर्यटकीय वर्षका रुपमा मनाउने तयारी गरेको छ। ‘कर्णाली–रारा पर्यटन वर्ष –२०७५’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले गर्दैछन्। कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुसम्म पुग्ने सडक सरकारको प्राथमिकतामा पर्न सकेन भने पर्यटन वर्षबाट प्रदेश सरकारले पाँच लाख पर्यटक भित्राउने भएर राखेको लक्ष्य पुरा हुन कठिन छ।

चैत ३०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्