मन्त्री बोहोराद्वारा खण्डन: बिपी प्रतिष्ठानको सिनेट डाक्नुमा स्वार्थ छैन

Copy to clipboard
Copied!

काठमाडौँ- स्वास्थ्यमन्त्री दीपक बोहोराले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्ने गरी सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

बोहोराले आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सिनेट बैठकको विषयमा प्रकाशन तथा प्रसारण गरिएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। मन्त्री बोहोराका अनुसार उक्त प्रतिष्ठानमा चार स्वास्थ्य भवन निर्माण गर्नुपर्ने थियो।

त्यसका लागि मन्त्री बोहोराले गठन गरेको तीन सदस्यीय समितिले भवन आवश्यक भएको निष्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको थियो। त्यसपछि भवन निर्माणको स्वीकृतिका लागि पुनः प्रतिष्ठानको सिनेट बैठक बोलाउनुपर्ने आवश्यकता देखिएको भन्दै आफूले आगामी शुक्रबार बैठक बसाल्न प्रतिष्ठानलाई आग्रह गरेको उनले बताए। प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. गुरुप्रसाद खनालले मन्त्री बोहोरालाई त्यो दिन बिदामा रहेका प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियार र मातृशोकका कारण पदाधिकारी तथा सञ्चालक परिषदका पदेन सदस्य रजिष्ट्रार तुलबहादुर श्रेष्ठ उपस्थित नहुने भएकाले त्यस दिन बैठक बसाल्न नसक्ने पत्र पठाएका थिए। त्यो विषयलाई लिएर भ्रामक समाचार प्रकाशन तथा प्रसारण भएको मन्त्री बोहोराको भनाइ छ।

यसैबीच गत कात्तिक १ गते स्वास्थ्यमन्त्री बनेका बोहोराले संक्रमणकालीन अवस्थामा पनि आफूले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत तहमा महत्वपूर्ण निर्यण गरेको दाबी गरेका छन्। आफ्नो कार्यकालमा डा.गोविन्द केसीको माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा अध्ययादेश ल्याउने, नयाँ स्वास्थ्य नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गर्ने, सहरी स्वास्थ्य नीति ल्याउने लगायतमा आफूले भूमिका खेलेको उनको दाबी छ। मन्त्री बोहोराले छिट्टै मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीबाट प्यारालाइसिस भएका विपन्नलाई उपचारका क्रममा जिवीकोपार्जनका लागि मासिक प्रति बिरामी पाँच हजार दिने निर्णय गर्ने गर्ने तयारीमा रहेको जानकारी दिए।

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्