राजनीतिमा सुबुनाको यात्रा

काठमाडौं क्षेत्र नम्बर ४ का मतदातासँग आशिर्वाद लिँदै विवेकशील साँझा पार्टीकी सुबुना बस्‍नेत। तस्बिर: देश सञ्‍चार
Copy to clipboard
Copied!

६ वर्षभित्र ८० जना ऊर्जाशील युवायुवतीको समूह मेची-महाकाली यात्रामा निस्कियो । १४ अञ्चल र ७५ जिल्लामा पुगेर स्थानीयको समस्या र सपना बुझ्यो । १४ अञ्चलका मुख्य १४ नदीका पानी र माटो ल्याएर बुद्ध जयन्तीको अघिल्लो रात लुम्बिनीमा भेला भयो । त्यो रात देशभरबाट जम्मा गरिएका स्थानीयका सपना केलाइए । ‘सपना खास त्यस्तो ठूलो केही पनि भेटेनौं । बृद्धबृद्धा छोराछोरीसँगै बस्‍न चाहन्थे । युवायुवतीहरु स्वदेशमै रोजगार र राम्रो शिक्षा, स्वास्थ्य चाहन्थे । श्रीमतीहरु सधैँ श्रीमानसँगैं बस्न चाहन्थे’, ३५ दिन देश घुमेपछि निस्किएको निचोडबारे त्यस अभियानकी संयोजक सुबुना बस्‍नेत भन्छिन् ।

उनलाई लाग्यो, छोराछोरी आफूबाट टाढा हुँदा बाबुआमा मानसिक रोगी भएका छन् । श्रीमान टाढा रहँदा श्रीमतीहरू मानसिक रोगी भएका छन् । युवायुवतीमा उस्तै समस्या। यो देशलाई कहिलेसम्म यस्तै मानसिक रोगीको थलो बनाइराख्ने ? उनीभित्र यो प्रश्न गहिरोसँग घुमिरह्यो । भोलिपल्ट बुद्ध जयन्तीका दिन लुम्बिनीमा सुजीवन समर्पित गर्ने छौं । खासमा, सुबुनाको दाबीमा वैकल्पिक राजनीतिक शक्तिको त्यो प्रारम्भ थियो ।

उनीहरूले ‘सुन्दर र शान्त नेपाल हाम्रै कालमा’ नारा बनाए । सोही समूह चार वर्षअघि विवेकशील मञ्चका रुपमा विधिवत् दर्ता भयो । २०७० सालको संविधान सभा निर्वाचनमा यही मञ्चका सन्तोष प्रधानले स्वतन्त्र उमेद्वारी दिएका थिए । खासै प्रभाव छाड्न सकेनन् । त्यसबखत सुबुना निर्वाचन अभियानमा डटेर खटिएकी थिइन् । गत स्थानीय निर्वाचनमा विवेकशीलले राजनीतिक दलकै रुपमा प्रतिस्पर्धा गर्‍यो । काठमाडौं महानगरपालिकामा विवेकशीलकी उमेद्वार रञ्जु दर्शनाले २३ हजारभन्दा बढी मत प्राप्त गरिन् । काठमाडौं महानगरपालिका अनि २१ वर्षीया युवतीको उमेद्वारी ? चुनावअघि र पछि पनि दर्शना निकै चर्चामा रहिन् ।

ऊर्जाशील युवायुवतीकोयतिबेला २६ वर्षीया सुबुना चर्चामा छिन् । इलाम स्थायी घर भएकी सुबुना काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य लड्दैछिन् । उनका प्रतिद्वन्द्वी छन्– कांग्रेसका गगनकुमार थापा र बाम गठबन्धनका राजन भट्टराई । ‘मेरो प्रतिस्पर्धी को छ भनेर यहाँ चुनाव लडेकी होइन । म मेरा एजेन्डामा प्रस्ट छु । त्यसैले जो कोही प्रतिस्पर्धी भएपनि मलाई फरक पर्दैन’, एमबीए उत्तीर्ण सुबुनाको दाबी छ । यो उनको पहिलो निर्वाचन प्रतिस्पर्धा हो । लामो समय विद्यार्थी राजनीति गरेका नेताहरुले समेत राष्ट्रिय राजनीतिमा सजिलै टिकट पाउँदैनन् । स्थानीय निर्वाचनमा लडेको र स्थानीय निकायमा काम गरेको अनुभव पनि सुबुनासँग छैन । अर्कोतर्फ उनी आफ्नो जन्मस्थलमा प्रतिस्पर्धा नगरी राजधानी केन्द्रित राजनीति गरिरहेकी छन् ।

‘गगनजी र भट्टराईजीको धार एउटै हो । जनताले के पाए ? कालेकाले मिली खाउँ भालेमात्र । त्यसैले यो निर्वाचन बेइमान र इमानबीचको प्रतिस्पर्धा हो ।’

उनी आफ्नो चुनावी प्रतिस्पर्धासँग जोडिएर आउने हरेक प्रश्नको तर्कसंगत जवाफ दिन्छिन् । ‘म कहाँ जन्मिने भन्ने मेरो हातमा थिएन । कुन जात र धर्ममा जन्मिने भन्ने पनि मेरो हातमा थिएन । ६ कक्षामा पढ्दा परिवारबाट टाढा रहेर सदरमुकाम बस्नु पर्‍यो। अध्ययनकै सिलसिलामा विराटनगर पुगें । त्यसपछि काठमाडौं । खासमा म कहीँको पनि भइनँ । यो मजस्ता १६ देखि ४० वर्षभित्रका ७२ लाख नेपाली युवाको समस्या हो जो संघर्षका दौरानमा चाँडै घर छाडछन् र विभिन्न ठाउँ पुग्छन् ।

त्यसैले मैले इलाम र त्यहाँको स्थानीय समस्यालाई बुझेको छु भनेर त्यहाँ गएर स्थानीय चुनाव वा प्रतिनिधिसभाको चुनाव लड्नु त्यहाँका स्थानीयमाथि मैले गरेको अन्याय हुने थियो । हुन त प्रचण्डजी चितवन गएर चुनाव लड्दै हुनुहुन्छ । मलाई थाहा छैन, उहाँ त्यहाँ कति समय बस्नुभएको छ’, सुबुना भन्छिन्, ‘अर्कोतर्फ म काठमाडौंमा बसेको ७/८ वर्ष भइसक्यो । संसदको चुनाव लड्ने मान्छेले आफ्नो क्षेत्र र राष्ट्रलाई हेर्न सक्नुपर्छ । हामी राष्ट्रिय राजनीतिलाई नै केन्द्रमा राखेर हिँडेकाले मैले चुनाव लड्न तत्काल काठमाडौंको विकल्प नखोजेको हो ।’ विवेकशील पार्टीमा केन्द्रीय सदस्य रहेकी सुबुना पार्टी एकीकरणपछि पनि केन्द्रीय सदस्य छिन् ।

००००

स्थानीय निर्वाचनपछि विवेकशीलले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा दाबी गरिरहेको अर्को पार्टी साझा पार्टीसँग पार्टी एकीकरण गरेको छ । अहिले विवेकशील साझा नेपाली पार्टीले आफूलाई बलियो देखाउन र यस निर्वाचनपछि राष्ट्रिय पार्टी बन्न सोहीअनुसार कसरत गरिरहेको छ । यस अभियानमा पार्टीले विश्वास गरेकी उमेद्वार हुन्, सुबुना । काठमाडौं महानगरपालिकाको मेयर चुनावमा साझा पार्टीका उमेद्वार किशोर थापाले पनि १८ हजारभन्दा बढी मत ल्याएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका चार वटा वडा पर्छन् । एकथरि मतदाता गगनसँग चुनाव लडेर सुबुना र विवेकशील साझा दुवै चर्चामा आउन खोजेको आरोप लगाउँछन् । तर सुबुना त्यस्तो मान्दिनन् । ‘स्थानीय निर्वाचनमा हामीले अहिले म लडिरहेको क्षेत्रभित्र पर्ने महानगरका वडामा राम्रो मत ल्याएका थियौँ । त्यसैले अन्य ठाउँभन्दा यस ठाउँमा हामीले चुनाव लड्नैपर्ने थियो । यहाँका जनताले हामीलाई विश्वास गरेका छन्’, उनको दाबी छ । सुबुना अहिले सामाजिक सञ्जाल र घरदैलो कार्यक्रममार्फत आफ्नो चुनावी कार्यक्रममा व्यस्त छिन् । घरदैलो कार्यक्रममा स्थानीयले उनलाई गाली पनि गर्छन् । स्थानीयको समस्या र सपना बुझेको उनको दाबी छ ।

देशभरका मानिसको सपना र यस क्षेत्रको सपनामा के फरक रहेछ ?

‘विषेषतः समग्र राजनीतिप्रति नै उहाँहरूको वितृष्णा छ । उहाँहरू परिवर्तन खोजिरहनु भएको छ । यसअघि चुनिएर गएका प्रतिनिधिले वेवास्ता गरेकोमा उहाँहरूको आक्रोश छ । बाटोको समस्या विकराल छ । खानेपानी र ढलको समस्या उस्तै छ । बाटोको स्थितिका कारण डोकोमा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था छ । इच्छाशक्ति भए यी समस्या समाधान गर्न समय लाग्ने थिएन । दिनदिनै ट्यांकरका ट्यांकर पानी र जार आइपुग्ने तर वर्षौसम्म सरकारले पानी ल्याउन नसक्ने हुन्छ र ? दुई तीन महिनामा पाँच ६ तलाको घर बन्न नसक्ने तर वर्षौँसम्म केही समय मिटर बाटो बन्न नसक्ने हुन्छ र ? ढल र खानेपानी पाइप बिछ्याउने नाममा कति वर्ष धुलो खाएर खानेपानी पिउन पाउने हो?’ उनको प्रश्न छ ।

स्वास्थ्यमन्त्री समेत भइसकेका गगन, बाम गठबन्धनको उमेद्वार रहेका भट्टराई र सुबुनाबीचको प्रतिस्पर्धालाई तीन धारबीचको लडाइँ भन्ने गरिएको छ । तर, सुबुना यसलाई दुई धारबीचको प्रतिस्पर्धा भन्छिन् । ‘विगतमा उहाँहरू एकै ठाउँ बसेर पनि सरकार चलाउनु भएको हो । तर जनताले के पाए ? कालेकाले मिली खाउँ भाले मात्र भयो । त्यसैले गगनजी र भट्टराईजीको धार एउटै हो । मेरो धार फरक हो । यो प्रतिस्पर्धा भनेको बेइमान र इमानबीचको प्रतिस्पर्धा हो,’ उनको दाबी छ ।

पार्टीमा आबद्ध भएपछि राम्रो मात्र काम आफूले गरेको र नराम्रो काम पार्टीले गरेको भनेर पन्छिने प्रवृत्तिको उनी कडा विरोधी हुन् । नेताको द्वैध चरित्रले गर्दा जनताले दुख पाएको उनको बुझाइ छ । ‘नराम्रो कामचाहिँ अरुले गरेको भनेर पन्छिने प्रवृत्ति छ । अरुले गरेको हो भने किन त्यस्ता प्रवृत्तिको हटाउने साहस निकाल्न सकिन्न ? अरुले गर्दा भएन भनिन्छ तर त्यो अरु चाहिँ को हो भनेर न कहिले देखाइन्छ, न त्यस्तालाई निकाल्ने वा हटाउने प्रयास हुन्छ’, उनी भन्छिन् ।

सुबुना राजनीतिक वातावरणमा हुर्किइन् । २०५४ सालको स्थानीय निर्वाचनमा सुबुनाकी आमा एमालेबाट नगर समिति सदस्यमा महिलातर्फ निर्वाचित भएकी थिइन् । आमासँगै चुनावी कार्यक्रममा पनि जान्थिन् । तर, त्यतिबेलासम्म राजनीतिको कुनै प्रभाव उनलाई थिएन । एसएलसीपछि उनले आफ्ना लागि परिवारसँग पैसा माग्नु परेन । मन्टेश्वरी शिक्षक, रिसेप्सनिस्ट, लाइबेरियनलगायत धेरै काम गरिन् । काठमाडौं आएपछि उनले कालोपुलमा युथ फर ब्लड भन्ने सामाजिक संस्था खोलेकी थिइन् । युवाले नेतृत्व पाउनुपर्छ भन्ने उद्देश्य थियो । युवा उद्यमी कार्यक्रम सञ्चालन गर्दै करिब २५ सय युवायुवतीलाई सीपमूलक परामर्श तालिम दिइन् ।

त्यसैबीचमा उनी संविधान जारी गर्न विवेकशील मञ्चले बानेश्वरस्थित संविधानसभा भवन अगाडि राखेको शान्तिपूर्ण दबाब कार्यक्रममा सहभागी हुन पुगिन् । विवेकशीलले नियमितरूपमा दबाबमूलक कार्यक्रमहरु आयोजना गर्‍यो । त्यसमा सुबुना नियमित जान थालिन् । विवेकशीलले बहसमा ल्याएको वैकल्पिक राजनीतिक शक्तिमा सुबुना सुरुवाती दिनदेखि सहभागी थिइन् ।

‘हामी यसरी जोसका साथ काम गर्‍य कि ५/६ वर्षमै ठूलो राजनीतिक शक्ति बन्छौंजस्तो लाग्थ्यो । सरकारले हामीलाई जतिसुकै थकाउन खोजेपनि हामी कसैगरी थाक्दैनौंजस्तो लाग्थ्यो’, सुबुना भन्छिन् । उनी राजनीतिमा लागेको केही वर्षपछि मात्र इलाममा परिवारले यसबारे थाहा पाएछन् । सुबुना घर कम गइरहने भएकाले परिवारले यसबारे थाहा पाएको रहेनछन् । पारिवारिक पृष्ठभूमि फरक पार्टीको भएकाले केही समय गाह्रो भएको उनी बताउँछिन् । सुबुना पछिल्लो समय राजनीतिबाहेक इलामबाट घ्युलगायत अर्‍ग्यानिक सामान ल्याएर काठमाडौंमा बेच्ने गर्छिन् ।

उनलाई थाहा छ, राजनीतिमा जित र हार स्वभाविक हुन् । तर, उनको यात्रा निकै लामो छ, जसका लागि सुबुना तयार छिन् । ‘मलाई अहिले मतदाताले छोरीजस्तो एसेप्टेन्स दिएका छन् । त्यसैले मेरो आत्मविश्वास बलियो भएको छ । यसको मतलब जितिहाल्छु नि भन्ने होइन । हारेँ भने पनि केही छैन । पार्टीभित्र आन्तरिक सुशासन, पार्टीको आन्तरिक लोकतन्त्र, संगठन विस्तारलगायत काममा निरन्तर रहने छु । अर्को पटक बहुमत ल्याउने गरी काम गर्छौँ । हामीलाई थाहा छ, यो देश बन्न नीतिगत सुधार चाहिन्छ जुन संसदमा पुगेर मात्र सम्भव छ’, सुबुनाले आफ्नो योजना सुनाइन् ।

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्