खोलाले बगाउँदा किशोरीको मृत्यु

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

दाङ – दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। अर्का एक युवक घाइते भएका छन्।

काठमडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ।

त्यस्तै घोराही उपमहागनरपालिका– १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

डिएसपी रिजालका अनुसार उनी दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीहरुसँगै घुम्न भनेर बंगलाचुली गाउँपालिका गएकी थिइन्।

सोमबार दिउँसो दूई वटा मोटरसाइकलमा चार जना जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको मर्फेस क्षेत्र घुम्न जाँदा पानी पर्न थालेपछि उनीहरु बीच बाटोबाटै फर्किएका थिए।

फर्किने क्रममा एउटा मोटरसाइकलले खोला पार गरे पनि एउटा अर्कौ मोटरसाइकल तर्ने क्रममा बंगलाचुली – २ स्थित स्याला खोलामा बाढी तर्ने क्रममा बग्न पुगेको डिएसपी रिजालले बताए।

पछाडिबाट बाइक धकल्दै गरेकी सुनिता बगेपछि सँगै गएका युवाले उद्धारको प्रयास गरे पनि सफल नभएपछि बल्ल पौने चार बजेतिर प्रहरीलाई उनीहरुले सूचना दिएका थिए।

सुनिताको शव घोराही उपमहानगरपालिका–१८ स्थित सिस्ने खोला पुल नजिक फेला परेको प्रहरीले जानकारी दिएको छ।

साउन १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्