विपन्न उपभोक्तालाई निःशुल्क खानेपानीको धारा

Copy to clipboard
Copied!

दाङ – लमही नगरपालिका–५ को आर्थिक सहयोगमा अति विपन्न घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गरिएको छ।
चालु वर्ष विनियोजन भएको रकमबाट ३१ घरपरिवारमा निःशुल्क धारा जडान गरिएको हो। लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सँगको सहकार्यमा वडा कार्यालयले खानेपानीको धारा निःशुल्क जडान गरेको वडाध्यक्ष ओमप्रसाद सुवेदीले जानकारी दिए।

धारा जडान शुल्क वडा कार्यालयले खानेपानी संस्थामा जम्मा गरेको छ। एउटा धारा जडान गर्न २२ हजार ७ सय ३५ रुपैयाँ लाग्छ। जसमध्ये मिटर र केही उपकरणको रकम खानेपानी आफैँले व्यहोर्ने सर्तमा निःशुल्क धारा जडान गरिएको खानेपानी संस्थाका सचिव वसन्त आचार्यले बताए।

वडा कार्यालयले ७ लाख रुपैयाँको बजेटमार्फत निःशुल्क धारा जडान गरिएको हो। ‘खानेपानीको धारा जडान गर्न नसक्ने घर परिवारको पहिचान गरेर धारा जडान गरिएको छ’, वडाध्यक्ष सुवेदीले भने, ‘नागरिकलाई शुद्ध र सफा पानी खुवाउने प्रतिबद्धताअनुसार काम अघि बढेको छ।’

लमही नगरपालिका–५ मिलनटोल निवासी डोङ्गलु चौधरीको घरमा पानीको धारा जडान गरिएको छ। लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले निःशुल्क जडान गरिएको धाराको उद्घाटन गर्दै सुरुवाती चरणमा गरिब विपन्न परिवारलाई निःशुल्क पानी उपलब्ध गराउने अभियान रहने बताए।

‘पानी हाम्रो जीवन हो। पानीका लागि हामीले अझै काम गर्न बाँकी छ’, उनले भने, ‘खानेपानी सबैमाझ पु¥याउने र त्यसलाई निःशुल्क बनाउने अभियानमा छौं।’

धारा जडान कार्यक्रममा खानेपानी संस्थाका अध्यक्ष जंगबहादुर चौधरीलगायत पदाधिकारी एवं उपभोक्ता सहभागी थिए।

असार २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्