मनसुन सक्रिय, डुबान-कटानकै त्रास

Copy to clipboard
Copied!

दाङ- राजपुर गाउँपालिका वडा नं. ३ कालिपुरुवा निवासी मोहन यादवको घर राप्ती नदीको ढिकैमा छ। १५ वर्षअघि यादवको घर भन्दा धेरै पर राप्ती नदी बगेको थियो।

तर, हरेक वर्ष राप्ती नदीले जग्गा कटान गर्न थालेपछि घरवास नजिक नदी आइपुगेको हो। जनताले बनाएकाे नदी तटबन्ध पनि भत्किन सुरु गरेको छ। जसले गर्दा यादवको परिवार बाढीको त्रासमा छ।

‘हामी आफ्नो घरमा सुत्न डराउनुपर्ने अवस्था छ। तटबन्ध पनि भत्किन थालेको छ। नदीको वहाव दक्षिण चापिएकाले पनि कटान बढ्ने जोखिम छ’, उनले भने, ‘तटबन्ध त भयो। तर, दिगो भएन। दुई वर्षअघि सकिएको तटबन्ध फेरि बनाउनुपर्ने अवस्था आयो।’

यादवको करिब ११ विगाह जग्गा राप्ती नदीले कटान गरिसकेको छ। खेतीयोग्य जग्गा कटान गर्दै नदीले बगरमा परिणत गरेको छ।

कालिपुरुवा बस्तीमा १९ घरधुरीको बसोवास छ। दक्षिणबाट उत्तर बग्ने खहरे खोला र राप्ती नदीका कारण यो बस्ती कटानको जोखिममा छ।

‘हाम्रो खेती हुने जग्गा नदीले नष्ट पारिदियो। थोरै बचेको जग्गामा घरवास छ’, स्थानीय जमुनाप्रसाद यादवले भने, ‘ठूलो बाढी आयो भने भाग्नुपर्दा सुरक्षित स्थान कतै छैन।’

केही दिनदेखि नेपाल भित्रिएको वर्षा पश्चिम क्षेत्रमा आएसँगै नदी तटीय क्षेत्रमा बाढीको डुबान र कटानको त्रासमा नागरिक बस्नु पर्ने अवस्था छ। पूर्वमा भालुबाङ्गदेखि पश्चिममा अमिलियासम्म लामो समयदेखि राप्ती नदीले सयौँ विगाह जमिन कटान गरेको छ। केही स्थानमा तटबन्ध भए पनि धेरै ठाउँमा तटबन्ध गर्न बाँकी नै छ।

दाङ जिल्लामा राप्ती र बबई जलाधार क्षेत्रका अधिकांश क्षेत्र डुबान र कटानको जोखिममा रहेका छन्। लगातार परिरहेको पानीका कारण राप्ती नदी र यससँग जोडिएका अन्य खहरे खोलामा पानीको सतह बढेको छ।

पहाडी क्षेत्रमा लागातार पानी परिरहेकाले राप्ती नदीमा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई सुरक्षित रहन आह्वान गरिएको छ।

‘नदीमा माछा पार्न जाने, काठ छोप्न जाने, नदी तर्न खोज्दा बगाउने जोखिम रहने भएकाले पानी परिरहेको बेला नदी तथा खोला क्षेत्रमा जानु हुँदैन’, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘मनसुन सक्रिय छ। ठूलो पानी पर्ने, बाढी, डुबान, कटानको जोखिम रहेकाले असुरक्षित हुने काम कसैबाट नहोस्।’

जिल्लाको राप्ती र बबई जलाधार क्षेत्रमा ९८ बस्ती नदी तटीय क्षेत्रमा छ। नेपाल रेडक्रस सोसाइटीले तयार पारेको विवरणका आधारमा पूर्वसूचना प्रणालीको अभ्यास गर्ने, विपद् जोखिम व्यवस्थापनाको योजना बनाउने लगायतका कामलाई लक्षित गरेर ती समुदायलक्षित गतिविधि पनि भएका थिए।

तर, अहिले स्थानीय सरकारको सम्पर्कमा ती बस्ती रहेका छन्। राप्ती नदी जलाधार भित्रका नदी तटीय क्षेत्रमा दाङका चारवटा स्थानीय तह छन्। नदीको तटीय क्षेत्रमा ६९ वस्ती रहेका छन्।

सुरक्षा निकाय २४ घण्टा हाइअलर्टमा

दाङ जिल्लामा विगतका वर्षहरूमा बाढीबाट जनधनको क्षति भएका घटनाहरू धेरै छन्। यस पटकको वर्षामा पनि जनधनको क्षति हुनसक्ने जोखिम कायमै रहेकाले सुरक्षा निकाय विपद् प्रतिकार्यका लागी तयारी अवस्थामा बसेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका तालिमप्राप्त जनशक्ति विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बसेको हो। राप्ती नदी, बबई नदी र अन्य बाढी आउन सक्ने जसबाट मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले विपद् प्रतिकार्यको लागि सुरक्षा निकाय हाइअलर्टमा बसेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

जेठ २० गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् प्रतिकार्यका लागि जिम्मेवारी तोकिएको छ। त्यो जिम्मेवारी अनुसार वडा तहसम्मको संयन्त्र परिचालन गरेर विपद् जाेखिम न्यूनीकरणका लागि सक्रिय रहनेछन्।

यस्तै, जिल्ला सुरक्षा समितिको बसेको बैठकले सुरक्षा निकायलाई २४ घण्टा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। बाढी, पहिरो आउनसक्ने जोखिम ठाउँका जनतालाई तत्काललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, नदी तथा खोलामा माछा मार्न जाने, गाईवस्तु चराउन जाने, दाउरा टिप्न जानेजस्ता समस्या बढ्न सक्ने भएकाले यस्ता क्रियाकलाप रोक्न अपिल गरिएको छ।

 

 

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्