संगीतकार रञ्जित गजमेरसँग अन्तरंग

‘संगीतकारहरु आफैँले गीत गाउँछु भन्नु अर्को दिनबाट उसको भविष्य सकिनु हो’ ( भिडियो )

Copy to clipboard
Copied!

काठमाडौँ- नेपाली संगीत क्षेत्रका एक पर्याय हुनु रञ्जित गजमेर। बाल्यकालदेखि नै संगीत क्षेत्रमा रुचि राख्ने उनले दार्जेलिङ, काठमाडौं हुँदै बम्बईसम्म नै सांगीतिक क्षेत्रमा राज गरिसकेका छन्।

बाल्यकालदेखि नै उनी सांगीतिक क्षेत्रमा रुचे राख्थे। उनका भिनाजुहरुले तवेला बजाएको हेरेर उनी घण्टौंसम्म बसिरहन्थ्ये।

उनी भन्छन्, ‘मेरो भिनाजु तबेला खुब राम्रो बजाउनु हुन्थ्यो। भिनाजुसँग मेरो साँइला दाजु पनि सिक्थे। उनीहरुले बजाएको म हेरिरहन्थे । म त सानै थिए। उनीहरु गइसकेपछि फेरि म पनि निकालेर बजाउँथे। पछि भिनाजुले देख्नुभएछ। यसले त यति सानैमा यस्तो राम्रो बजाउने भएछ भनेर भिनाजुले मलाई पनि तबेला सिकाउन थाल्नुभयो। तबेला बजाउँदा बजाउँदै अन्य बाजाहरुप्रति पनि मोह बढ्दै गयो, सिक्दै गए।’

भिनाजुले तबेला बजाएको सुनेर नै उनीप्रति सांगीतिक क्षेत्रप्रतिको मोह बढेको उनी बताउँछन्। उनी चर्चित संगीतकर्मीहरु गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा, शेखर दीक्षित लगायतको समकालीन पनि हुन्।

‘हामी दार्जिलिङ हुँदा अम्बर गुरुङ दाइको आर्ट एकेडेमी थियो। त्यसमा हामी सबैजना थियौं। म, अरुणा लामा, जितेन बर्देवा, सरण प्रधान, गोपाल योञ्जन, कर्म योञ्जन, रुद्र गुरुङ, गगन गुरुङ, शेखर दीक्षित, उहाँको ‘वाइफ’ रहर कुमारीजी हुनुहुन्थ्यो। हामी सँगसँगै हुर्किएको। सँगसँगै हुँदा कतिओटा प्रोग्राममा गइन्थ्यो,’ उनी भन्छन्, ‘अमर दाइको थुप्रो प्रोग्राम हुन्थ्यो त्यत्तिबेला। हामी त्यहाँ गएर बजाउँथ्यौँ। त्यसमा कुनै प्रोग्राममा पैसा पाइन्थ्यो, कुनैमा पाइँदैन थियो।’

व्यवसायिक रुपमा सांगीतिक क्षेत्रमा अघि बढेको भने दार्जेलिङबाट काठमाडौं आएपछि भन्न उनी रुचाउँछन्। दार्जेलिङबाट काठमाडौं आएपछि एउटा स्कुलमा काम पाएको उनी सुनाउँछन्।

सांगीतिक क्षेत्रको व्यवसायिक यात्राको कुरा गर्दै उनी भन्छन्, ‘रोयल एकेडेमीमा पनि मलाई काम गर्ने मौका दिनुभयो। त्यस्तै रेडियो नेपालमा पनि अलिअलि काम गरेर अलिअलि पैसा हुन्थ्यो। त्यही नै हो त्यसपछि व्यवसायिक रुपमा भनेको बम्बईमा गएर नै भयो। त्यसपछि त प्रोफेसन नै भयो।’

दार्जेलिङ, काठमाडौँ हुँदै बम्बईसम्मको सांगीतिक यात्राका क्रममा आफूहरुले थुप्रै चुनौती सामना गर्नु परेको उनी सुनाउँछन्।

उनी भन्छन्, ‘समस्या त धुमधाम थियो। दार्जेलिङबाट यहाँ आउँदा थोरै समस्या भयो त्यसपछि फेरि यहाँबाट बम्बई जाँदा केही समस्या भयो। एक त हामी दार्जेलिङको मान्छे एकैचोटि काठमाडौँ आएर बम्बई जाँदा त्यहाँ सबै कुरा नयाँ थियो। रहनसहन पनि फरक, भाषा फरक, कसैले नेपाली बोल्दैनन् थिए। ती सबै कराहरु अनुकरण गर्नु पर्‍यो।’

दार्जेलिङ, काठमाडौँ हुँदै बम्बईसम्म सांगीतिक क्षेत्रमा प्रभुत्व जमाएका उनको सांगीतिक क्षेत्रको अनुभव पनि फरक छ। यद्यपि उनी संसारका जुनै स्थानमा पुगे पनि संगीत एउटै हुने भएकाले त्यसमा रमाउन सक्नुपर्ने बताउँछन्।

‘संसारको जुनै स्थानमा पुगे पनि संगीत उही हो। तर मान्छेहरुसँग डिलिङ गर्दा आफूलाई देखाएर काम माग्दा त्यसमा अलिकति उहाँहरु सबैजना ठुलाठुला मान्छे हुन्थे। उनीहरुलाई प्रतिभा देखाएर काम लिन निकै समस्या थियो,’ उनी भन्छन्, ‘मलाई सबभन्दा धेरै सहायता गर्ने भनेको चाहिँ मादल हो। मादल चाहिँ बम्बईमा कसैले देखेकै थिएन, जानेकै थिएन। पहिला पहिला लगेर जब आरडी बर्मनको गानातिर बजाउन थाले तब त्यो एकदमै युनिक भयो।’

उनलाई बम्बईमा स्थापित गराउनमा मादल सहयोगी बनेको उनी बताउँछन्। मादलकै कारण थुप्रै कामहरु पाएको उनी सुनाउँछन्। नेपाली लोक बाजा मादललाई विश्वसामु चिनाउने श्रेय उनलाई नै जान्छ।

‘मादल लगेर आरडी बर्मनहरुलाई बजाएर देखाउँदा उहाँहरुले एकदमै मन पराउनुभयो। मलाई होइन मादललाई, मादलको त्यो टोनलाई,’ उनी भन्छन्, ‘त्यसपछि उहाँका हरेक गीतहरुमा मादललाई यसरी बजा भनेर भन्न थाल्नुभयो। त्यसले गरेर धेरै पपुलर भएँ। सबैले मन पराउनुभयो।’

आरडी बर्मनको गीतहरु सुन्दा अहिले पनि मादलको आवाज प्रस्टसँग छुट्याउन सकिन्छ। मादलकै कारण आफूले यति धेरै मान सम्मान इज्जत र काम पाएको उनी बताउँछन्।

संगीत क्षेत्रमा बम्बईमा रहेर काम गर्दाको थुप्रै रमाइला र चुनौतीहरु समेत रहेको उनी सुनाउँछन्।

संगीत क्षेत्रको एक घट्ना सम्झिँदै उनले भने, ‘मैले प्राय आरडी बर्मनसँग नै काम गरेँ, एकदिन उहाँको प्रोड्युसर शक्ति सामन्त आएर आरडी बर्मनलाई जसरी पनि एउटा गीत चाहियो त्यो पनि रोमान्टिक भनेर भन्नु भयो। त्यो बेला बम्बइईमा फिल्म ‘इन्डस्ट्रीको’ जति ‘म्युजिसियन एसोशियसन’ छन् त्यसले ‘स्ट्राइक’ गरेको थियो। रेकर्ड गर्नै नपाउने,’ उनी भन्छन्, ‘तर हामी चाहिँ ‘सिटिङ’ मेम्बर थियौं। हाम्रो साथीहरु पनि थिए। त्यसपछि शक्ति सामन्तले सिङ्गरको त ‘स्ट्राइक’ छैन जसरी पनि गर्दे न भनेर भन्नुभयो। उहाँले मलाई भन्नुभयो मैले मादलको तालमा एउटा गित गाएर सुनाएँ। त्यसपछि मादल मात्रै बजाएर भएपनि गीत रेकर्ड गर्ने निर्णय गर्‍यौँ।’

‘हाम दोनो दो प्रेमी…. ‘ त्यो गीत तपाईँले अहिले पनि सुन्नुभयो भने त्यसमा मादल, बाँसुरी र गिटार मात्र छ,’ उनी भन्छन्, ‘त्यो गीतलाई ट्रेनमा सुटिङ गरेको जस्तो बनाउने भनेको थियो। हामीले त्यसका लागि त्यो साइन पेपर हुन्छ नि, भित्तामा साइन गर्ने, हो त्यो पेपरलाई पसलबाट ल्याएर त्यसलाई च्यातेर घिसार्‍यौँ भने त्यसबाट एउटा आवाज आउँछ। हामीले त्यो गीत त्यसरी रेकर्ड गरेका थियौं। त्यो एउटा बिर्सिनै नसक्ने पल पनि हो।’

आफूले काम गरेका हरेक संगीतहरु मन पर्ने भए पनि पहिलोपटक नेपाली गीतमा संगीत भर्दाको त्यो पल र त्यो गीत भने अहिलेसम्म पनि मन पर्ने उनी सुनाउँछन्।

‘पहिलोपटक नेपाली संगीतमा काम गर्दा आफुलाई खुसीको सबैभन्दा माथिल्लो तहमा पाएकोथिए । त्यो गीत, तपाईँले बाँसुरी फिल्मका गीतहरु सुन्नुभएको छ? आशा भोसलेले गाएको ‘झझल्को लिएर मिर्मिरे साँझ।’ त्यो पहिलो चोटि हामीले आशाजीलाई नेपाली गाना गाउन लगाएको अनि आशाजीसँग उदित नारायणलाई माइकमा उभ्याएर हामीले त्यो गीत गरेको हो,’ उनी भन्छन्, ‘त्यतिबेला सबैजना जति पनि मेरा साथीहरु र चिनजानका थिए सबैले मन पराएका थिए। त्यो गीतभन्दा पनि त्यो गीतको छन्द चाहिँ म कहिले पनि बिर्सिन सक्दिन।’

आफूले काम सुरु गर्दाको समयमा धेरै फिल्महरु बन्ने भएकाले काम गर्ने मौका पनि धेरै पाएको उनी बताउँछन्। तर अहिले पहिलेजस्तो धेरै फिल्महरु नबन्ने बताउदै संगीत क्षेत्रमा पाएको परिवर्तन यति मात्र रहेको उनी बताउँछन्।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका उनीसँगै काम सुरु गरेका उनका सहयात्रीहरु भने विभिन्न कारणले यो पेशाबाट पलायन भइसकेका छन्। तर उनले भने हालसम्म पनि यही पेशालाई निरन्तरता दिइरहेका छन्। जुन संगीत क्षेत्रमा भर्खरै उदाउँदै गरेका हरेकका लागि हैसलाको विषय पनि हो। उनी आफ्नो पेशाबाट कहिले पनि पछि हट्नुपर्ने प्रश्न नै नउठेको बताउँछन्।

उनी भन्छन्, ‘कोरोनाकै समयमा पनि फिल्महरु नचले पनि गीतहरु त चलिरहेको थियो। गीतहरु भए पनि चलिरहेको छ भन्ने हुँदा कतिपयले एउटा गीत गरिदिनुस् न भनेर आग्रह गर्छन्। उनीहरुलाई यो उमेरमा नाई किन भन्ने भनेर पनि मैले कामलाई निरन्तरता दिइ नै राखेँ।’

अहिलेको संगीतहरु पहिले जस्तो सदाबहार हुँदैनन् भन्ने धेरैको आरोप छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘संगीत भनेको कसले कसरी सुन्छ र कसरी बुझ्छ अर्थात उनले कस्तो गीत मन पराउँछ भन्ने कुरामा भर पर्ने हो। त्यसैले संगीत क्षेत्र पहिले जस्तो छैन भन्न मिल्दैन।’

बाहिर काम गरिरहँदाको अनुभव सुनाउँदै उनी नेपाली संगीत क्षेत्र विदेशको भन्दा केही फरक रहेको बताउँछन्।

‘बाहिरतिर संगीत क्षेत्रमा काम हुँदा त्यहाँ सबैजना जानेका हुन्छन्, संगीतलाई राम्रोसँग बुझेका हुन्छन्, उनीहरुसँग काम गर्न पनि गाह्रो छ तर नेपालमा चाहिँ त्यस्तो छैन। चलेको सिङ्गर छ भन्दैमा सबैखाले गीत दिइन्छ त्यो गर्न गलत हो जस्तो लाग्छ मलाई,’ उनी भन्छन्, ‘मैले बम्बईमै काम गरिरहँदा पनि त्यो कुन गीत कसले गाउन सक्छ? कुन कुन गीत कसले गाउँदा स्वरसँग म्याच हुन्छ जस्ता सबै कुरा सुरुमा नै ध्यान दिएर गीत गाउन दिइन्छ तर नेपालमा त्यो हुँदैन।’

अहिलेका संगीतकारहरुले आफूले संगीत भरेको गीत प्राय: आफैले गाउने प्रचलन पनि नेपाली बजारमा छ। तर यो प्रवृत्ति पनि गलत भएको उनी सुनाउँछन्।

‘अहिलेका संगीतकारहरुलाई लाग्छ होला मैले अरुभन्दा राम्रो गाउँछु तर कतिको राम्रो हुन्छ कतिको नराम्रो हुन्छ त्यो त भन्न सकिदैन। नराम्रो त हुँदैन तर सुन्न लायक हुन्छ हुँदैन भन्ने हो,’ उनी भन्छन, ‘तर अहिलेका संगीतकारहरुले मेरो म्युजिकको म नै गाउँछु भन्ने सोच जुन दिनबाट आउँछ उसको ‘डाउन फल’ अर्को दिनबाट सुरु हुन्छ। म नै सबै जान्ने भन्ने भावना आउनु हुँदैन।’

प्रविधिमा आएको परिवर्तनसँगै संगीत क्षेत्रमा पनि थुप्रै परिवर्तनहरु आएको उनी बताउँछन्। विगतमा जस्तो गीत सुन्नकै लागि भनेर टेप, क्यासेड वा सिडीहरुको प्रयोग गर्नुपर्ने बाध्यता अहिलेको अवस्थामा छैन। मानिसहरुले प्रविधिको प्रयोग गरेर सजिलै युट्युबबाट गीत सुन्न सक्छन्। जसका कारण सिङ्गरहरुको आर्थिक आय आर्जनको अवस्थामा समेत कहिलेकाहिँ प्रश्न उठ्ने गर्छ।

अहिलेको सिङ्गरहरुको आर्थिक आयआर्जनको पाटो के त भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘त्यो चाहिँ सुन्नेहरुमा भर पर्छ। अहिले युट्युबबाट सुन्ने बानी छ प्रायको तर सँगसँगै सिङ्गरलाई एकपटक भए पनि प्रत्यक्ष देख्ने र प्रत्यक्ष उनीहरुको गीत सुन्ने सोच हुन्छ। जस्ले गर्दा पनि सिङ्गरहरुको आय आर्जनको पाटो चाहिँ कहिले पनि रोकिदैन। कलाकारले आफ्नो प्रतिभा चाहिँ देखाउन सक्नुपर्‍यो।’

यद्यपि कलाकारहरुलाई विदेशमा वा स्वदेशमै पनि कन्सर्ट ट वा अन्य कार्यक्रमहरुमा नबोलाउँदा पनि उनीहरु भोकै भने नरहेको उनी बताउँछन्।

संगीत क्षेत्रको ट्रेन्ड पनि बदलिँदो रहेको उनी बताउँछन्। अहिलेको संगीत क्षेत्रमा काम गर्नेहरु २, ४ महिना काम गर्ने त्यसपछि आफूले चर्चा कमाउन साथ छोड्ने गरेकोप्रति उनी आपत्ति जनाउँछन्।

‘अहिलेका भाइबहिनीहरु एकदुई महिनामा २,४ वटा गीतमा काम गर्‍यो, त्यसबाट चर्चा बटुल्यो अनि त्यपछि काम गर्ने छोड्यो,’ उनी भन्छन्, ‘त्यसरी काम गरेकाहरु फेरि फुलिएर बोलाइ नसक्नुका हुन्छन्। त्यो चाहिँ इगो हो। त्यो धेरैदिन टिक्दैन र त्यो इगो छोड्ने हो भने हाम्रा संगीतकारहरु धेरै माथि पुग्न सक्छन्।’

संगीतमा भविष्य, वर्तमान, भुतकाल भन्ने केही नहुने उनी बताउछन्। संगीतको भविष्य कस्तो हुन्छ भन्ने कुरा सुन्नेमा र त्यमा काम गर्नेहरुमा भर पर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘संगीत सधै संगीत नै हो यसका वर्तमान, भविष्य,भुतकाल भन्ने केही पनि हुँदैन।’

संगीत क्षेत्रमा परिवर्तन आउनु भनेको मानिसको स्वभाव परिवर्तन हुँदै जानु रहेको उनी बताउँछन्। नेपालि संगीत क्षेत्र सुधारका लागि भने अन्य देशको संगीत कस्तो छ? कसरी काम हुन्छ? जस्ता कुराहरु बुझ्न जरुरी रहेको उनी बताउँछन्।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्