गठबन्धनले राप्रपालाई घाटा लाग्यो, आउँदो चुनावमा पहिलो पार्टी हुन्छौँ : राजेन्द्र लिङ्देन (भिडियो)

फाइल तस्बिर
Copy to clipboard
Copied!

स्थानीय तहको चुनावले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ उत्साह छाएको छ। वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा संख्यामा हिसाबले धेरै स्थानीय तहमा प्रमुख, उपप्रमुन नजिते पनि देशभर खडा गरेको उम्मेदवारको पक्षमा जनताले दिएको मतले राप्रपामा नयाँ तरंग ल्याएको छ।

मत गणना लभग सकिन लाग्दा राप्रपाले चार पालिकाको प्रमुख, चारवटै उपप्रमुख, ६५ वडा वडाअध्यक्ष र ३६७ वडा सदस्य जितेको छ। यसअघि राप्रपाको सांकेतिक मात्रै उपस्थिति रहेका कति स्थानीय तहमा कडा प्रतिस्पर्धीका रुपमा राप्रपा उदाएको छ। काठमाडौँमै शंखरापुर नगरपालिका जितेर राप्रपाले धेरैलाई आश्चर्यमा पारेको छ।

स्थानीय तहको चुनाव सकिँदा नसकिँदै अब राप्रपाको ध्यान प्रदेशसभा र प्रतिनिधिसभा तर्फ सोझिएको छ।

छाटो अवधि तयारी गरेर स्थानीय तहको चुनावमा जाँदा सोचेअनुसार सफलता नपाए पनि आशा पलाएको बताउँने अध्यक्ष लिङ्देन धुम्बाराईस्थित पार्टी कार्यालयमा कार्यकर्तासँग संघीय संसद र प्रदेशसभाको चुनावी तयारीको छलफलमा व्यस्त भइसकेका छन्।

उनको यस्तै व्यस्तताकाबीच देश सञ्चारका प्रकाश ढकालले उनीसँग भर्खरै सम्पन्न स्थानीय तहको चुनाव, आउँदो संघ एवं प्रदेशसभाको चुनाव र राप्रपाको अबको राजनीतिक कार्य योजनाबारे कुराकानी गरेका छन्।

१‍ स्थानीय तहको चुनावमा राप्रपाले पाएको मतलाई कसरी मूल्यांकन गर्नुभएको छ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन समयमा तयारी गर्यो, त्यो तयारी हेर्दा अलिबेसी मत पाउनुपर्ने हो। तर हामीले अहिले जे जति मत पाएका छौँ, त्यसबाट राप्रपा कमजोर भयो भन्नुपर्ने छैन। निरास बन्नुपर्ने अवस्था छैन। हामी उत्साहित नै छौँ।

२ सफलता हासिल गरौँ भन्नु खोज्नुभएको हो?

सफल भन्नु भन्दा पनि राप्रपा नयाँ शक्तिका रुपमा उदय र विकास भइरहेको छ। यसको देश व्यापी प्रभाव बढ्दै गएको छ भन्ने सन्देश दिन सफल भएका छौँ।

३ के कारणले गर्दा तपाईंहरुले सोचेको सफलता हासिल भएन?

अरु दलहरुको गठबन्धनका कारण पनि हामीले हारेको देखिन्छ। सोझै सोझै निर्वाचनमा गएको भए हामीले यो भन्दा धेरै जित्न सक्ने रहेछौँ भन्ने दुईवटा महत्वपूर्ण ठाउँको परिणामले देखाएको छ। हेटौँडा, नेपालगञ्ज, केचनकवल जस्ता ठाउँमा हामीले जित्ने अवस्था हुँदाहुँदै पनि गठबन्धनका कारण हार्नुपरेको छ। यस्ता धेरै ठाउँ छन् जहाँ हामीले जित निकाल्न सकेनौँ।

४ गठबन्धनले घाटा भयो निरहँदा तपाईंहरु पनि गठबन्धमै त हुनुहुन्थ्यो होइन र?

हामीले स्थानीय तहमा दमक र चितवनको भरतपुर मात्रै गठबन्धन गरेका हौँ। त्यो पनि स्थानीय साथीहरुले गर्नुभएको हो, तलबाट सोधेपछि हुन्छ भनेको हो। दमकमा हामीलाई प्रमुखमा कांग्रेसले स्वीकार गर्यो, भरतपुरमा उपप्रमुख लिँदा हुन्छ भन्ने भएपछि त्यहीअनुसार गरेका हाँै। यसले राष्ट्रिय प्रजतान्त्र पार्टीलाई अछुतको व्यवाहार गर्नेहरुलाई, यो पार्टी पनि चाहिने रहेछ भन्ने सन्देश दिएको छ।
गठबन्धले घाटा भयो भनिरहँदा त्यहाँभित्रको असन्तुष्टि चाहिँ हलोमा पोखियो भन्ने रिपोर्टहरु पनि आइरहेका छन्। कम्युनिष्टलाई कांग्रेसका

५ मतदताले अस्वीकार गर्दा तपाईंहरुको जनमत बढेको देखिएको भन्ने रिपोर्ट पनि आइरहेका छन् नि?

त्यस किसिमको लाभ राप्रपाले लिएन। लिन सकिन्छ कि भन्ने सोच थियो, तर परिणाममा त्यस्तो भएन। अपेक्षाकृत सिट ल्याउनु नसक्नुमा गठबन्धन मात्रै होइन, हाम्रो तयारी पनि कम भएकै हो। राप्रपामा नयाँ नेतृत्व आएपछि पार्टीलाई नविन ढंगले अघि लगौँ। एक हिसाबले राप्रपा त सकिएको अवस्थामा रहेछ। नयाँ संगठन निर्माण गर्नुपर्ने, नयाँ नयाँ उम्मेदवार खोज्नुपर्ने सबै कामहरुले छोटो समयमा गर्न सकेनौँ। तयारीअनुसार हामीले प्राप्त गरेको सफलतामा असन्तुष्टि जनाउने ठाउँ छैन।

६ राप्रपाप्रति जनताले देखाएको आशा तपाईंहरुले बोक्नुभएको विचारप्रतिको आकर्षण हो कि ठूला दलप्रतिको वितृष्णाको फाइदा उठाउनुभएको?

हामीले प्राप्त गरेको मतको मुल आधार भनेको, पार्टीले बोकेको विचार हो। राजासहितको प्रजातन्त्र, सर्वधर्म सवभाव, हिन्दूराष्ट्रको एजेण्डा, प्रदेशको खारेजी र सुशासनको पक्षमा हामीले उठाएको आवाजको परिणाम हो। भ्रष्टाचार मुक्त नेपालको पक्षमा हामीले आवाज उठाइरहेका छौँ। आम मानिसले पत्याउने र विश्वास गर्ने ढंगले हामीले हाम्रा आवाजहरुलाई उठाइरहेका छौँ।

त्यो नै पार्टीप्रतिको आकर्षणको आधार हो।

वैचारिक हिसाबले विगतको निरन्तरतासहितको परिवर्तन मुखी पार्टी हो राप्रपा। जसलाई हामीले संवद्र्धनवाद भन्दै आएका छौँ। विगतका राम्रा कुरालाई संरक्षण गर्दै अघि बढ्ने हो। पार्टीमा रहेका सिनियहरुको आर्शिवाद, सक्रिय सहयोग लिएर अघि बढ्ने हो।

७ युवाहरुको आकर्षण बढ्नुको कारण चाहिँ के हो?

हामीले पछिल्लो दिनमा कार्यशैलमा, सोचाइमा परिवर्तन ल्यायो। युवा पुस्तालाई मात्रै होइन, समाजको समग्र पक्षले आकर्षित गर्दैछ। यसले राप्रपा पूर्वपञ्चहरुको मात्रै पार्टी होइन भन्ने स्थापित गरेको छ। राप्रपा अब यो देशको परिवर्तन पक्षधर पार्टी हो। अब देशमा कसैले परिवर्तन ल्याउन सक्ने भने त्यो राप्रपाले मात्रै ल्याउन सक्छ। परिवर्तनको पक्षधरहरु, यथास्थिति नचाहनेहरु राप्रपामा जोडिने क्रम बढेको छ। अब राप्रपालाई मद्दत गर्नुपर्छ, जीवनकालमा परिवर्तन र विकास हेर्नका लागि।

८ तपाईंले भन्न खोजेको परिवर्तन कस्तो हो? व्यवस्थाका कि जनताको दैनिकीमा बद्लाव?

हामीले भनेको परिवर्तन दुवै हो। हाम्रो देशमा पटक पटक व्यवस्थामा परिवर्तन भयो, तर जनताको अवस्थामा परिवर्तन भएन। जनताको अवस्थामा परिवर्तन नहुनुका पछाडि जसरी तीन तहको सरकार व्यवहोरि रहेका छौँ, यति सानो देशमा केन्द्र र प्रदेशमा सरकार, आठ सयभन्दा बढी सांसद, ३५ हजार भन्दा बढी जनप्रतिनिधि यो सबैलाई हामीले जबसम्म बोकी रहन्छौँ,

तबसम्म देशको अर्थतन्त्रले यसलाई धान्न सक्दैन। यो कुरा प्रमाणित भइसक्यो। संघीयता कार्यान्वयन भएको चार पाँच वर्षमा सुविधामा मात्रै चार खर्ब भन्दा बढी खर्च भएको छ। यो प्रणालीगत त्रुटी छ। त्यसकारण प्रणाली र नेतृत्व पनि फेर्नुपर्नेछ। उनीहरुले देशलाई बन्दक बनाएका छन्, उनीहरुलाई फेर्नुपर्नेछ। हाम्रो प्रमुख उद्देश्य चाहिँ जनताको दैनिकीमा सुधार ल्याउनु हो।

९ अब संघ र प्रदेशको चुनावका बारेमा कुरा गरौँ। ती चुनावमा राप्रपा कसरी अघि बढ्छ? तपाईंहरुको योजना के हुन्छ?

संघ र प्रदेशको चुनावमा हामी अरुका लागि अप्रत्यासित परिणाम निकाल्छौँ। त्यसमा असफल हुने, हामी यत्तिमै चित्त बुझाउँछौँ भन्ने छुट छैन। देशले विकल्प खोजेको छ, हामीले विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी हो भन्ने प्रमाणित गछौँ। विकल्पको खोजीमा रहेका जनताहरुले राप्रपाको पक्षमा मतदान गर्ने वातावरण बताउँछौँ। अब लगत्तै अर्को चुनावको तयारीमा लाग्छौँ।

१० के हुन्छ तपाईंहरुको चुनावको तयारी तरिकाहरु?

पहिलो त हामी संगठनहरुलाई मजबुत बनाउँछौँ। संगठनहरुलाई विघटन गर्नुपर्ने, पुनःगठनमा ध्यान दिन्छौँ। बेलैमा उम्मेदवारहरु तय गर्छौ, हामी जनताको माझमा शसक्त ढंगले अघि बढ्छौँ। आफ्नो कार्ययजना बनाएर आक्रामक रुपमा अघि बढ्छौँ।

११ स्थानीय तहको चुनावमै तालमेल गरेको राप्रपाले अब संघ र प्रदेशको चुनावमा के गर्छ? गठबन्धनमा सहभागी भएर अघि बढ्नु हुन्छ?

सैद्धान्तिक हिसाबले हाम्रो पार्टी कसैसँग चुनावी गठबन्धन गर्ने पक्षमा छैन। तर अघिल्लो चुनावदेखि नै नेपालको राजनीतिमा गठबन्धनको संस्कृति विकास भएर आएको छ। अब पनि यदि अरु दललाई हाम्रो आवश्यकता र हामीलाई पनि अरुको आवश्यकता भयो भन्ने महसुस भयो भने असंभव हुँदैन। गठबन्धन हुन सक्छ। तर अहिले नै हाम्रो प्राथामिकता त्यो छैन, हामी १६५ र ३३० वटै क्षेत्रमा उम्मेदवार उठाएर प्रतिस्पर्धामा जान्छौँ। हामी छिट्टै प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहने पार्टीभित्र र बाहिरका व्यक्तिहरुलाई नाम दिन आह्वान गर्छौ।

राप्रपाबाट उम्मेदवार बन्न चाहन्छु भन्ने बाहिर रहेका इमान्दार, क्षमतावान मान्छेलाई हामी अवसर दिन्छौँ। त्यसले पार्टी र देशलाई पनि राम्रो गर्छ। भर्खरै सम्पन्न भएको चुनावमा पनि म उम्मेदवार बन्न चाहन्थे खबर गर्नुभएन भन्ने धेरै सुन्न पायाँै, यसले हामीलाई आश्चर्य बनाएको छ। अब अर्को चुनावमा हामी सार्वजनिक रुपमै उम्मेदवार आह्वान गरेर अघि बढ्छौँ।

१२ अबको संघ र प्रदेशको चुनावमा दुई वटा गठबन्धन बन्ने देखिन्छ, तपाईहरु कत लाग्नु हुन्छ पाँच दलीय सत्ता गठबन्धन की एमाले?

यो आवश्यकताका आधारमा हुने हो। जुन खालको गठबन्धन भएको, त्यो सैद्धान्तिक छैन। सत्तामुखी मात्रै परिणाम, अझ भनौँ तत्कालिक योजनाका आधारित पनि छैन। हाम्रो कृषि, पर्यटन, परराष्ट्र नीति यस्तो हुनेछ भन्ने तत्कालीक योजना केही छैन। जित्नु र सत्ता प्राप्ति गर्नुसँग मात्रै सरोकार राखेर गठबन्धन भएको छ। निश्चित सिट जित्न तालमेल हुने हो। हामी जित्ने पक्षसँग तालमेलमा जान्छौँ। दुवै पक्षसँग ढोका खुलै छ।

१३ आउँदो चुनावमा संघ र प्रदेशमा कति कति सिट जित्नु हुन्छ? तपार्इंहरुको आँकलन योजना के छ?

कतिपय मान्छेलाई मेरो कुरा सुन्दा अच्चम लाग्न सक्छ। आउँदो चुनावमै संसदको पहिलो पार्टी बनाउने महत्वकांक्षासहित काम गरिरहेका छौँ।

१४ व्यवाहारत त्यो कति संभाव होला? संख्याको हिसाबले कित जित्नुहुन्छ? 

त्यो संभव हुन्छ। आउँदो संसदीय चुनामै पहिलो पार्टी बनाउछौँ।

१५ गत मंसिरमा भएको महाधिवेशनबाट तपाईं नेतृत्वमा आएपछि केही नेताले पार्टी छाड्नुभयो। त्यसपछि पार्टी सफलता उन्मुख छ, उहाँहरुलाई के भन्नुहुन्छ?

उहाँहरुप्रति मेरो कुनै टिप्पणी नै छैन।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्