एमालेबाट बुटवल उपमहानरपालिकाको प्रमुखका उम्मेदवार बाबुराम भट्टराईसँगको कुराकानी

बुटवललाई स्याटेलाइट नगर बनाउने छु: भट्टराई

Copy to clipboard
Copied!

काठमाडाैँ- बुटवल उपमहानरपालिकाको प्रमुख पदको लागि नेकपा एमालेबाट बाबुराम भट्टराई उम्मेदवार छन्। स्याङ्जामा जन्मिइ कम्युनिष्ट वातावरणमा हुर्किएका उनी २०३७ सालदेखि केही समय पार्टीको पूर्णकालीन कार्यकर्ता थिए।

०६१ सालमा भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष तथा औषधि व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष पनि भइसकेका छन्। राजनीतिभन्दा बढी व्यवसायमा सक्रिय उनले ३ जना आकांक्षीलाई पछि पार्दै चुनावको टिकट पाएका हुन्। प्रस्तुत छ, उनै भट्टराईसँग देशसञ्चारकर्मी सि.पी. खनालले गरेको कुराकानी:

१‍. चुनाव नजिकिएसँगै घरदैलोमा निकै व्यस्त हुनुहुन्छ, जनताकाे प्रतिक्रिया कस्ताे छ?

बुटवलका जनताका मन जित्ने खालका योजना मसँग रहेका छन्। बुटवललाई एउटा सुन्दर र सुविधायुक्त बुटवल बनाउने योजनाहरू मसँग रहेका छन्। मेरो स्वभाव सरल रहेकोले पनि जनताले मलाई मन पराउनुहुनेछ भन्नेमा म ढुक्क छु। मजस्तो अवस्थामा बुटवल उपमहानगरको प्रमुखको रूपमा प्रवेश गर्नेछु त्यहीं रूपमा नै बाहिरिने छु। मलाई पैसा कमाउनको लागि आफ्नो व्यवसाय छँदैछ। मलाई यहाँबाट लगेर केही गर्नुपर्ने छैन। मलाई केही कुराको लोभलाभ छैन। यी कुराहरू जनतामाझ राखिरहेको छु। उहाँहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ।

२. तपाईंलाई नै भोट किन? के छन् यसका आधार?

बुटवललाई समृद्ध बनाउनका लागि मलाई भोट दिनुपर्छ। भूमिहीनलाई लालपुर्जा, मजदुर र सडकमानव व्यवस्थापन, स्याटेलाइट नगर, सहज स्वास्थ्य सेवा, सडक र यातायातसँगै खानेपानीको समस्या समाधान नै मेरो मुख्य योजना हो। मैले मेरा योजनाहरू र प्रतिबद्धताको बारेमा दैनिक रूपमा घरदैलोमा पुगेर सुनाएको छु। खासगरी बुटवलमा सडकमानवमुक्तको व्यवस्थापनलाई ध्यान दिने छु। यसमा केही बालबालिकाहरू सडकमा देखिएको कुरा छ।

यस्तै, मोतीपुर औद्योगिक क्षेत्रमा र सार्वजनिक जमिनमा अव्यवस्थित बसोबास हुनसक्ने सम्भावना रहेको छ। हामीले यसको व्यवस्थापनका लागि औद्योगिकभित्र नै बहुतले संरचनाहरू निर्माण गर्नका लागि पहल गर्नेछौँ। मजदुरको आवासको व्यवस्था भए मोतिपुर क्षेत्रमा सम्भावित अव्यवस्थित बसोबासको समस्यालाई रोक्न सकिन्छ। यसैगरी, बुटवलका सडकमा गाईवस्तुको व्यवस्थापन निकै गम्भीर चुनौती बन्दै गइरहेको छ। उसको व्यवस्थापनका लागि पनि ठोस योजना ल्याउने छु। हामी निर्वाचित भएको केही समयमा नै सडकमा गाईवस्तु नदेखिने गरी काम गर्नेछौँ। मोतीपुर सेमलार क्षेत्रलाई स्याटेलाइट नगरका लागि अध्ययन भइरहेको छ। यो कुरा पनि म विजयी भएसँगै हुनेछ।

यसका साथै सबैलाई स्वास्थ्य सेवाको अनुभूत गराउन घर-घरमा ब्लड टेस्ट, एन्टिनेटल टेस्ट, सुत्केरी सेवाका लागि घरदैलोमा स्वास्थ्य टोली खटाएर सेवा दिने छौँ। बुटवलमा अब धेरै अस्पताल बनाउनु पर्ने अवस्था छैन। अब गुणस्तरीय सेवा दिने हो। सबैलाई स्वास्थ्य सेवाको अनुभूत गराउन घर-घरमा ब्लड टेस्ट, एन्टिनेटल टेस्ट गरी उपचार सेवा दिने, सुत्केरी हुनेहरूका लागि उनीहरूकै घरदैलोमा टोली खटाएर विशेषज्ञ सेवा, स्वास्थ्य शिविर टोल-टोलमा दिने, अल्ट्रासाउन्डको सुविधा पनि दिने योजना बनाएका छौंँ।

बुटवलको मुख्य सडकमा भइरहेको समस्यालाई व्यवस्थापन गर्नेछु। बुटवलको मुख्य सडक बनाउन केन्द्रलाई नै दबाब दिनेछु। बुटवलको सडक समस्यालाई हामीले नकार्न मिल्दैन। तर, समस्या के भने सडकको काम संघीय बजेट अनुसार भएको हो। एमालेको सरकार भरहेको भए यसको धेरै काम सकिन्थ्यो भन्ने मलाई लाग्छ। सुरुमा अदालतले स्टे अर्डर दिएका कारण काम भइरहेको थिएन। अदालतले बाटो खोलिदिएपछि सडक क्लियर गर्न समय लाग्यो। त्यसपछि ठेकेदारलाई समात्नुपर्‍याे। यसका लागि हामीले पनि दबाब दिएका थियौँ। ठेकेदार भने भागेको भाग्यै गर्दा काम अगाडि बढ्न सकेको थिएन। यही दुर्व्यवस्थालाई देखाएर अहिले विपक्षी पार्टीहरूले भोट पनि मागिरहेका छन्। यदि संघीय सरकारले काम गरेन भने उपमहानगरपालिकाले नै संघीय सरकारसँग अधिकार मागेरै भए पनि बेरुजु नआउने स्थितिमा निर्माण गरेर काम गर्नेछौँ।

सडकका लागि तीन तहकै सरकारबीच समन्वय गर्नुपर्ने जरुरी छ। तर, अहिलेजस्तो धूलो उड्न भने दिने छैनौँ। अल्पकालीन समाधान निकाल्दै सडक निर्माणलाई पूर्णता दिनका लागि हामीले योजना बनाउँछौँ। बुटवलको खानेपानी समस्यालाई सम्बोधन गर्ने विकल्प भनेको झुम्सा खानेपानी हो। यो आयोजना निर्माणका लागि दबाब दिने काम हामीले गर्छौँ। बजेट छुट्टिइसकेको र टेन्डरमा गइसकेकाले निर्माण कार्य अगाडि बढ्छ भन्ने विश्वास पनि छ। ज्योतिनगरमा गएको पहिरोको व्यवस्थापनको काम पनि हामीले गर्नेछौँ। यो क्षेत्र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पर्छ। हाम्रो कार्यक्षेत्रभित्र पर्दैन। तर, पनि प्राविधिक रूपमा बस्ती जोगाउने काम भने हामीले गर्न सकिन्छ। यसमा अध्ययन गर्नेछौँ।

तपाईंले अहिले बताएका योजनाहरूमध्ये सबैजसो योजना यसअघिको चुनावी घोषणापत्रमा थिए, त्यतिबेला पूरा भएनन्। अव्यवस्थित बसोबास र सुकुम्बासीका नाममा भोट मागेर चुनाव जित्ने अनि जितेपछि फर्किएर हेरेनन् भन्छन् नि जनता? सबै काम एकैपटकमा हुँदैनन्। यसको लागि समय लाग्छ। सबै कुरा मिलाउँदै जाने हो। मैले जितेपछिको कार्यकालमा अवश्य पनि यो भएरै छाड्छ। सुकुम्बासीकै नाममा भोट मागेको होइन। हामीले सुकुम्बासी र अव्यवस्थित रूपमा बसिरहेका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर उहाँहरूका समस्या समाधान गर्ने हो। हामीले यो गर्दा उहाँहरूको जीवनशैलीमा सुधार हुने कुरा त राम्रो हो त।

बुटवलको ठूलो समस्या भनेकै भूमिको समस्या हो, जसलाई हामीले सम्बोधन गर्नैपर्छ। भूमि नापीको काम भइसकेको छ। आयोगले लालपूर्जा दिने स्थिति आइपुगेको थियो, तर आयोग नै ढल्यो। मैले जितेपछि गर्ने सबैभन्दा पहिलो काम भनेकै भूमिहीनहरूका लागि निस्सा वितरण गर्ने हो। यो मेरो प्रतिबद्धता पनि छ र मैले जितेपछि यो गर्छु पनि। अहिलेको स्थितिमा हामीले भूमिहीनहरूलाई तपाईंको भूमि अधिकार यो हो र यहाँसम्म तपाईंले भोग गर्न पाउनुहुन्छ भनेर तोकिदिन सक्छौँ। अहिले निस्सा लिएर बसिरहेका भूमिहीनहरूलाई लालपूर्जा दिने हाम्रो पहिलो प्राथमिकता हुनेछ।

३. यसअघि एमालेले बुटवलबाट कुनै पनि अवस्थामा प्रदेशको राजधानी सार्न दिँदैनौँ भन्ने एजेण्डा स्थानीय तहको चुनावमा ल्याएको थियो। तर, राजधानी सार्न एमालेले नै अगुवाइ गर्‍यो। यसपटक चुनावमा राजधानी सारेको विषय पनि उठिरहेको छ, के भन्नुहुन्छ?

राजधानी यहाँबाट गयो, यो सत्य कुरा हो। यसमा हामीले झुट बोल्नुपर्ने कुरा केही छैन। कम्युनिष्ट पार्टी भनेका अनुशासित पार्टी हुन्। त्यतिबेला केन्द्रीय समितिले निर्णय गर्‍याे-दाङ सार्ने। प्रदेशका सांसदज्यूहरूले ह्वीप उल्लंघन गर्न सक्नुभएन।

त्यसअघि दाङबाट चुनाव जितेका सांसदज्यूहरूले राजधानी दाङ बनाउने नारा लगाउनु भयो, रुपन्देहीकाले रुपन्देहीमा र कपिलवस्तुकाले कपिलवस्तुमा बनाउँछौँ भन्नुभएको थियो। सबैले दाबी गरे पनि केन्द्रको निर्णय मानियो। यो कुरामा त हामीले जनतासँग माफी माग्नुपर्ने हुन्छ। राजधानी जाँदैमा एमालेलाई बुटवलबाट हराउँछन् कि भन्ने सोच्नु गलत हो। हामीले बुटवललाई प्रदेश राजधानी बनाउन नसके पनि आर्थिक राजधानी बनाउने छौँ।

४. अन्त्यमा, मतदाताहरूलाई के भन्नुहुन्छ?

मलाई चुनाव जिताउनुहोस्। मैले गरेका प्रतिबद्धताहरू पूरा गर्ने छु। यसअघि हामीले जे भनेका थियौँ- ती अधिकांश काम पूरा भएका छन्। केही काम क्रमिक रूपमा पूरा हुने चरणमा छन्।

हामीबाट उपमहानगर सञ्चालनका क्रममा केही कमीकमजोरी भए होलान्। त्यसलाई सुधार गर्दै म नयाँ योजनाका साथ अघि बढ्न चाहन्छु। म बुटवलबासी आम जनतालाई मलाई जिताउन र बुटवललाई विकासको बाटोमा अघि बढाउनका लागि साथ दिनुस् भन्न चाहन्छु।

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्